तोरनल्ह पर्व सुरु

मधुजंग पाण्डे / काठमाडौं

थकाली समुदायको महान पर्व तोरनल्ह सुरु भएको छ । थकाली सेवा समिति–नेपाल क्षेत्रीय समिति काठमाडौंद्वारा बालाजु विनायक बस्तीस्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार पर्व सुरुवात गरिएको हो ।

सोही अवसरमा मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले साँसद प्रेमप्रसाद तुलाचनले पाँचदिने तारा हान्ने खेल (धनुषवाण) उद्घाटने गरे । मृतात्मा एवं पितृले दिएको आशिर्वादबाटै आफू यस स्थान पुग्न सफल भएकोउनले बताए ।

‘थकाली समुदायमा विशेषगरी पितृलाई छोरी ज्वाइँमध्ये रातमा पूजा गरी मिठा परिकार खाएर मनाउने गरिन्छ,’ उनले भने, ‘अब थकाली समुदायको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ मुस्ताङ जिल्लालाई पूर्वाधार, पर्यटन र आर्थिक विकासले सम्बृद्ध बनाउने अभियानमा निरन्तर लागिरहनेउनले बताए ।

थकाली सेवा समिति केन्द्रीय अध्यक्ष कृष्णकुमारी शेरचनले थकाली समुलदायले परापूर्वकालदेखि मान्दै आएको संस्कृति र परम्परा संरक्षण गर्नु सबैको दायित्व भएको बताइन् । तोरनल्ह पर्वले थकाली समुदायलाई प्रगतिको शिखरमा पु¥याउने कामनासमेत उनलेव्यक्त गरिन् ।

तोरनल्हकै अवसरमा थकाली सेवा समिति काठमाडौंले सम्पूर्ण थकाली जातिको प्रतिनिधित्व गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएको भन्दै तुलाचन र पत्नी शान्ति तुलाचनलाई ११ हातको फेटा लगाएर सम्मान गरियो ।

यसैगरी समितिले गत पुसमा सम्पन्न आर्चरी खेलमा मुलुककै उत्कृष्ट खेलाडी मिन गौचनलाई पनि सम्मान गरेको छ ।त्यस्तै, तोरनल्ह पर्वमा भएका विविध खेल उद्घाटनकै क्रममा साँग्रिला डेभलपमेन्ट बैंकले थसेस केन्द्रीय कार्यलय परिसरमा एटीएम काउन्टर सञ्चालनमाल्याएको छ ।

कार्यक्रममा थसेस काठमाडौं क्षेत्र अध्यक्ष खगेन्द्र भट्टचन, थकाली अनुसन्धान केन्द्र अध्यक्ष तेजप्रसाद गौचनलगायतले तोरनल्ह पर्वको महत्वबारे चर्चा गरे । बुधबारदेखि बालाजुमा सुरु तारा हान्ने खेलमा थकाली समुदायबीचकै अन्तरजातीय धनुषवाण प्रतियोगिता हुने छ ।

पर्वमा विशेषगरी थकाली समुदायले पितृ पूजा गर्दछन् । यो पर्वलाई थकाली समुदायले फागु पूर्णिमा अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्टसम्म पितृ सम्झेरपूजा गर्छन् ।तोरनल्हकै अवसरमा थकाली महिला समूह भेला नाकाबोटे (कौडा) खेल्छन् भने पुरुष तारा हान्ने खेल (धनुषबाण) प्रतियोगितामारमाउने गर्दछन् ।

तोरनल्ह सुरु भएकै दिन बिहान कुखुरा बास्नुअघि घर प्रमुख महिलाले स्नान गरी सफासुघर भएर सालको पातमा खिमी (पिण्ड) राखेर पितृ सम्झेर आशिर्वाद माग्दै पुजा गरिन्छ । पुजाका बेला उनीहरू पितृको सम्झनामा पिण्ड दान गर्ने गर्दछन् । यस समुदायमा पितृलाई दान गर्ने कार्यमा सकेसम्म पुरुष सहभागी हुँदैनन् ।

थकाली जातिको उद्गमस्थल मुस्ताङ थाकखोला क्षेत्र हो । थाकखोला र म्याग्दीको दाना, बेनीबजार, दरबाङ र बागलुङका विभिन्न क्षेत्रमा थकाली समुदायको बसोबास रहेको छ ।

आदिवासी जनाजातिभित्र पनि थोरै संख्यामा रहेका थकाली समुदायको २०६८ सालको जनगणनाअनुसार देशभर कुल १५ हजार ५ सय ८१ जनसंख्या छ ।नेपालमा १९ क्षेत्र र विदेशको जापान र युकेमा एक÷एक क्षेत्र रहेको थकाली सेवा समितिलेजनाएको छ ।विशेषगरी, मुस्ताङ दक्षिणी भेगमा रहेको १३ गाउँ क्षेत्र थाकखोला, थासाङ वा थाक सात सय नामले प्रख्यात छ । यो थकाली आदिवासीको पुख्र्यौली थलो हो ।

अहिले यस क्षेत्रमा करिब २ हजारभन्दा बढी थकाली बसोबास गर्छन । थासाङ नामले परिचित यस ठाउँमा बसोबास गर्दै आएका आदिवासी जातिलाईथकाली भनिन्छ ।

थकाली नेपालका अन्य आदिवासी जनजातिको तुलानामा साँस्कृतिक, शैक्षिक र आर्थिक रूपमा सम्पन्न छन् । अहिले थकाली पुख्र्यौली थलो थासाङ १३ गाउँ क्षेत्रबाट बसाइँ सर्दै नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्दछन् ।

थकाली जातीको परम्परागत वा प्रथाजनित संस्थालाई तेह्रमुखिया प्रणाली भनिन्छ । थासाङको १३ गाउँ क्षेत्रमा अवस्थित तेह्रमुखिया प्रथा वा प्रणालीले सिंगो थकाली समुदायलाई न्यायिक, प्रशासनिक, आर्थिक, सामाजिकलगायत हरेक दृष्टिले संगठित गर्ने, उनीहरूको हकहित र गाउँको विकासका लागि आवश्यक नीति, नियम र विधि तयार गर्दछ ।

जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्मकाण्ड मौलिक ढंगको मौलिक प्रणाली, रीतिथितिअनुसार गर्न सम्पूर्ण नीति सोही तेह्रमुखियाले समेट्ने, निर्देशित गर्ने र सञ्चालित गर्ने काम गर्दै आएको पाइन्छ ।

थकाली समुदायबीच बोन र बुद्ध धर्म दुवै धर्म मान्ने छन । थकाली समुदायका चार थर छन् । जसमा छयोकी (गौचन), साल्की (तुलाचन), ढिमचेन (शेरचन) र भुर्की (भट्टचन) रहेका छन् । थकाली जातिको भाषालाई ‘थकाली भाषा’ भनिन्छ ।

थकाली झाँक्रीले मन्त्र उच्चारण थकाली भाषामै गर्छन् । चाडपर्व र विभिन्न अवसरमा गाउने गीत पनि थकाली भाषामै गाउँछन् । यो भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । यो भाषा बोल्नेको संख्या अहिले करिब पाँच हजार रहेको पाइन्छ । यस भाषा नेपालका विभिन्न स्थानमा बोलिन्छ ।

मौलिक भाषा, संस्कृति, रीतिरिवाज तथा इतिहास भएका थकाली पहिले थासाङ क्षेत्रलाई परिचय गराउँदा ‘था’ अर्थात् किनारा वा सीमान्त क्षेत्र भन्ने गर्दथे ।

त्यस क्षेत्रमा बसोबास गर्ने जातिलाई ‘थावा’ वा ‘थाक्पा’ भन्ने पनि गरिन्थ्यो । उनीहरू एकापासमा कुरा गर्दा एकअर्कालाई चिनाउन ‘तम्हाङ’ भन्ने गर्दथे ।