हाम्रो पात्रोको अर्काे हाम्रो नेपाली इंग्लिस डिक्सनरी एप, ३० हजार बढी नेपाली र २२ हजार बढी अंग्रेजी शव्द

राजधानी समाचारदाता
काठमाडौं

हाम्रो पात्रोले हाम्रो नेपाली इंग्लिस डिक्सनरीको नयाँ संस्करण सार्वजनिक गरेको छ । पहिलो संस्करणमा कक्षा १० सम्मका स्कुले विद्यार्थीहरुमा उपयोगी हुने खालका सीमित शव्द राखिएकोमा नयाँ संस्कणमा त्यो भन्दा माथि उठेर वयष्कहरुका लागिसमेत लक्षित गरिएको छ ।

शुक्रबार कुपण्डोलमा एक कार्यक्रममाझ यो एप सार्वजनिक गरिएको हो । भाषाविद् चूडामणि गौतम, शरदचन्द्र वस्ती, वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरीवंश आचार्य, किरण केसीलगायतले यो एप सार्वजनिक गरेका हुन् । यो नयाँ एपले एड्भान्स्ड शव्दहरु देखाउँदै त्यसबारे व्याख्या गर्नेछ । साथै तस्बिर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिने छ । नयाँ संस्करण थप तिक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शव्दहरुसहित प्ले स्टोरमा उपलब्ध छ ।

यो एपको नयाँ संस्करणका लागि ३० हजारभन्दा बढी नेपाली शव्द तथा २२ हजार भन्दा बढी अंग्रेजी शव्द राखिएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शव्दहरुदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा चलनचल्तीका शव्दहरु पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरु यसका मुख्य विशेषता रहेका छन् ।

नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् चुडामणि गौतमले ती शव्द हाम्रो पात्रोलाई उपलब्ध गराएका हुन् ।

नेपाली शव्द र त्यस शव्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरु देश तथा विदेशमा रहेका नेपाली समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार प्रसार गर्ने उद्धेश्यले हाम्रो पात्रोले गौतमसँग शव्दका लागि सहकार्य गरेको हो ।

शुक्रबार सार्वजनिक गरिएको यो नयाँ एपमा शव्दहरुसँग सम्बन्धित तस्बिरहरु राखिएका छन्् । जसका लागि इन्टरनेट आवश्यक पर्नेछ । पछिल्लो संस्करणमा अंग्रेजी तथा नेपाली शव्द कसरी बोल्ने भनेर त्यसको अडियो उच्चारणसमेत समावेश गरिएको छ । यसमा डिक्सनरी प्रयोग गर्न, शव्दहरु खोज्न इन्टरनेट चाहिदैन । यो एपमा सर्चमा गएर आवश्यक नेपाली, अंग्रेजी शव्द खोज्न सकिन्छ । साथै आफूलाई मन परेका अथवा विशेष लागेका शव्दहरु सुरक्षित (सेभ) गर्न पनि सकिने छ । अक्षरसँग सम्बन्धित ज्ञानबद्र्धक खेलहरु पनि यसमा राखिएका छन् ।

हाम्रो पात्रोले सन २०१६ मा हाम्रो नेपाली इंग्लिस डिक्सनरी एप पहिलो पटक सार्वजनिक गरेको थियो । यो एप १० लाख पटकभन्दा बढी डाउनलोड भइसकेको र दैनिक लाखौं प्रयोगकर्ताले यसमा नियमित साथ दिइरहेको हाम्रो पात्रोले जनाएको छ । एन्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो अफलाइन डिक्सनरी पनि हो । नेपाली शव्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शव्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अर्काे कुनै विकल्प थिएन ।