अनुभवले पाको व्यक्ति हुँ

अनुभवले पाको व्यक्ति हुँ

 

भोजपुरको आमचोक गाउँपालिका साविकको थिदिङखा गाविसमा जन्मिएका हुन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राई । सामान्य किसान परिवारमै जन्मेर राजनीतिमा लागेका राईले स्वच्छ युवा नेताको छवि बनाएका छन् । एमाले वैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका राई यसअघि सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धामा पार्टीका केन्द्रीय सचिव भीम आचार्यलाई उछिन्दै उनी मुख्यमन्त्री बनेका हुन् । प्रतिनिधिसभाको निर्वाचनमा तीनपटक विजय हासिल गरिसकेकाले संसदीय राजनीति र विकास निर्माणका सवालमा उनी आफूलाई अनुभवी ठान्छन् । प्रदेश १ लाई नमुना प्रदेश बनाउने अठोट गर्ने मुख्यमन्त्री राईसँग राजधानीकर्मी सुदीप कोइरालाले गरेको कुराकानीको सम्पादित अंश :

 

शेरधन राई, मुख्यमन्त्री, प्रदेश १

 

० मुख्यमन्त्रीज्यू, सबैभन्दा पहिले त यहाँलाई हार्दिक बधाई छ । हिजोआज केकेमा व्यस्त हुनुहुन्छ ?

अहिले कार्यालयमै पनि व्यस्त छु । यतिखेर हामी कानुन निर्माणमा जुटिरहेका छौं । सय दिनमा गरिने कामको घोषणा गर्ने तर्खरमा पनि छौं । त्यसको पनि तयारी गर्दै छौं । त्यसमाथि बाहिर औपचारिक काम पनि हुन्छन् । सबैतिर समय दिनुपरेकाले केही व्यस्त नै छु ।

० औपचारिक कार्यक्रममा मुख्यमन्त्रीको बढी ध्यान केन्द्रित भएको गुनासासमेत आउन थालेका छन् नि ?

सुरुमा त्यस्तो देखिएको छ । त्यो आभास बाहिर सबैलाई भइरहेको हुन सक्छ । अब केही दिनमा व्यवस्थित हुन्छ । मेरो पनि औपचारिक कार्यक्रममा बढी समय खर्च गर्ने सोच छैन । किनभने प्रदेश १ को समग्र विकास र समृद्धिलाई ठोस रूपमा अघि बढाउनुछ । समग्रतामा सुशासन कायम गर्नु छ त्यसैले हामी जनताका प्रतिनिधिले प्रत्येक दिन, प्रत्येक सेकेन्ड विकास र समृद्धिमा खर्च गर्नुपर्छ । अब बिस्तारै प्रदेशको विकासको काममा नै मेरो बढी ध्यान केन्द्रित हुनेछ ।

० तपाईंले नेपाल सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ, अहिले मुख्यमन्त्रीको जिम्मेवारी पाउनुहुँदा भिन्नता केकस्तो पाउनुभयो ?

भिन्नता त छ नै । म केन्द्रीय सरकारको सूचना तथा सञ्चारमन्त्रीको हैसियतले प्रवक्ताको जिम्मेवारी सम्हालेर सफलतापूर्वक उत्रिएको मन्त्रीका रूपमा चिनिन्छु । त्यतिबेला स्वाभाविक रूपमा सिंगो सरकारको प्रवक्ताका रूपमा काम गर्नुपथ्र्यो र विभागीय मन्त्रीको समेत जिम्मेवारी थियो । अहिले प्रदेशको मुख्यमन्त्री भए पनि सिंगो सरकारको प्रधानमन्त्री जस्तै हो । प्रदेशका समग्र क्षेत्र, विभाग र मन्त्रालयलाई नजिकबाट हेर्नुपर्छ, गाइड गर्नुपर्छ, निर्देश गर्नुपर्छ । यति मात्र नभई प्रदेशका सबै जनताको आकांक्षा, चाहना भावना बुझ्नुपर्छ । त्यसैले यो जिम्मेवारी अलिक बृहत् नै छ । सम्पूर्ण क्षेत्रलाई प्रत्यक्ष रूपमा हेर्नुपर्छ । केन्द्रीय सरकारको प्रवक्ताको जिम्मेवारी र विभागीय सञ्चारमन्त्रीको जिम्मेवारी एउटा परिधिभित्र थियो । अहिले सिंगो प्रदेशको नेतृत्व लिएर अघि बढ्नुपरेको छ ।

० मुख्यमन्त्री भएर काम सम्हालिरहँदा भावनात्मक रूपमा कस्तो प्रभाव पर्दोरहेछ ?

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा अलिकति केही भावनात्मक उतारचढाव त हुन्छ नै । तर पनि ममा त्यस्तो छैन किनभने म लामो समयदेखि राजनीतिमा समर्पित छु । २०५६ देखि ससंदीय राजनीतिमा छु, तेस्रोपटक निर्वाचित भएर मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेको छु । विभिन्न संसद्मा मैले पटक–पटक अनुभव हासिल गरिसकेको छु ।
एउटा समितिको सभापतिको जिम्मेवारी सम्हालेर अनुभव बटुलें । संविधान जारी भएपछिको ऐतिहासिक सरकारको प्रवक्ता र सूचना तथा सञ्चारमन्त्री भएर भूमिका निर्वाह गरें । त्यसो हुँदा मैले यो मुलुकलाई राम्ररी बुझेको छु । मुलुकको समग्र प्रशासनतन्त्र कस्तो छ ? राज्यका संयन्त्र कस्ता छन् ? नागरिकका मनस्थिति कस्ता छन् ? चुनौती केके छन् भन्ने सबै बुझेको छु । त्यसो हुँदा मैले अहिले जुन जिम्मेवारी पाएको छु, त्यसलाई कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने ममा पूर्ण आत्मविश्वास छ । त्यो आत्मविश्वास, त्यो दृढता, त्यो बलियो इच्छा शक्ति अनि निष्ठाका साथमा मैले यो बाटो रोजेको हुँ र यो समग्र प्रदेशका जनताका भावना, चाहना, उनीहरूका सपना र आकांक्षसँग म जोडिन सक्छु । सबैको मनोविज्ञानको प्रतिनिधित्वसमेत गर्न सक्छु भन्ने लाग्छ । त्यसो हुँदा मलाई कुनै द्विविधा, निराशा, हतासाको हैन कि स्पष्ट दृष्टिकोणको साथमा मैले प्रदेशलाई हाँक्नुपर्छ । बलियो इच्छाशक्तिको साथमा नेतृत्व गर्नुपर्छ । जनतालाई नतिजा दिनुपर्छ । त्यही आधारमा मैले काम अघि बढाइरहेको छु ।

० संसदीय दलको नेता बन्दै गर्दा ‘शेरधन राई उमेर र अनुभवको हिसाबले त्यति पाको छैनन्’ भन्ने आलोचना पनि सुनिएका थिए नि ?

तपाईंले भनेजस्तो यदि कसैमा मेरो बारेमा बुझाइ त्यस्तो छ भने त्यो गलत हो । अनुभवका हिसाबले म निकै पाको छु भन्ने मैले चर्चा गरिसकें । संसदीय दलमा मैले दाबी गरिरहँदा संसद्को अनुभवको हिसाबले म सबैभन्दा जेठो हँु । किनभने म ०५६ मा निर्वाचित भएको प्रतिनिधिसभाको सदस्य हुँ । सायद दाबेदार अन्य प्रतिस्पर्धी त्योभन्दा निकैपछि मात्र संसद्मा पुग्नुभएको हो । त्यसो हुँदा म अनुभवको हिसाबले इच्छाशक्ति, क्रियाशीलता, कार्यक्षमताका हिसाबले बलियो र पाको छु । त्यही भएर मलाई संसदीय दलको नेताका रूपमा साथीहरूले पत्याउनुभएको हो, मेरो पक्षमा मत जाहेर गर्नुभएको हो । वास्तवमा म सबैको सहयोगबाट म यहाँ आइपुगेको छु ।

० संसदीय दलको नेता चयन हुँदा देखिएको गुटगत समस्या विद्यमान छ कि व्यवस्थापन भयो ?

गुटगत समस्या म त्यस्तो देख्दिनँ, कोही मानिसमा त्यस्तो मनस्थिति छ भने उसैलाई कमजोर बनाउँछ, त्यसले घात उसैलाई गर्छ । संसदीय दलको नेता चुन्दा हामीले आफैं बनाएको स्वाभाविक प्रक्रिया अपनाएका हौं । हामीले अभ्यास गर्दै आएको लोकतान्त्रिक प्रक्रिया थियो । कुनै नौलो र भारी कुरा थिएन । अनौठो पनि थिएन । लोकतान्त्रिक प्रक्रियामा जाँदा सहमतिबाट नटुंगिएपछि निर्वाचनको विधिबाट नेता चयन गर्नुपथ्र्यो । हामी दुईजना उम्मेदवार थियौं । निर्वाचनमै गइसकेपछि एकको जित र अर्कोको हार निश्चित थियो । त्यसको अर्थ चुनाव हुँदैमा त्यहाँ समस्या आउँछ, गुटबन्दी हुन्छ भनेर चर्को प्रचार गर्नु र त्यही ढंगले बुझ्नु गलत हो । तर, यदि कुसैले गुटगत मनस्थिति बोकेको छ, सानो संकीर्ण मनस्थितिबाट आफूलाई चल्न चलाउन खोज्छ भने त्यसले उसलाई नै हानि गर्छ । यो फराकिलो समाजमा फराकिलो मनिस्थितिका साथमा अघि बढ्न सक्नुपर्छ । आजको युगमा फराकिलो चिन्तन लिएर हिँड्न र व्यवहार गर्न सक्नुपर्छ, अनि मात्र सफल हुन सकिन्छ ।

० प्रदेश १ लाई कस्तो भूभागका रूपमा देख्नुहुन्छ ?

प्रदेश १ एउटा सानो नेपाल नै हो । किनभने यहाँ हिमाल, पहाड र तराई जोडिएको छ । जातजातिका कुरा गर्ने हो भने नेपालमा भएका सबै जातिको बसोबास छ । प्रदेश १ सम्भावना नै सम्भावनाको जगमा उभिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि संसारकै सबैभन्दा होचो अरुण उपत्यका पनि यहीँ छ । नेपालकै सबैभन्दा होचो स्थान झापाको केचना केवल पनि यही प्रदेशमा पर्छ ।
ठूलठूला ऐतिहासिक, धार्मिक सांस्कृतिक केन्द्र वा धामहरू यहीँ पर्छन्, चाहे त्यो हलेसी धाम होस्, चाहे बराहक्षेत्रको कुरा गर्नुस् । चाहे पाथीभराको कुरा गर्नुस्, छिन्ताङदेवीको कुरा गर्नुस् वा मनोकामनाको कुरा गर्नुस् ।
अनि जलसम्पदाको कुरा गर्ने हो भने नेपालको कुल जलविद्युत् उत्पादन क्षमताको एक तिहाइ विद्युत् उत्पादन गर्ने क्षमता यो प्रदेशले राख्छ । प्राकृतिक सम्पदाले अत्यन्त सम्पन्न छ यो प्रदेश । सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा, कोसी टप्पु वन्यजन्तु आरक्षजस्ता सम्भावना पनि हामीसँग छन् ।
यो जडीबुटी र जंगलले ढाकेको प्रदेश हो । लालीगुराँसको राजधानी यही प्रदेश, चियाको राजधानी पनि यही प्रदेश हो । सबैभन्दा बढी छिमेकी मुलुकसँग सम्बन्ध राख्न सक्ने प्रदेशका रूपमा पनि रहेको छ । चीनसँग दुईवटा नाका जोडिएको छ । यो प्रदेशले दक्षिणसँग पनि सिधा सम्बन्ध सम्पर्क राख्न सक्छ । थप बंगलादेश र भुटानसँग पनि सम्बन्ध सम्पर्क राख्न सक्छ ।

पर्यटकीय हिसाबले पहिलो गन्तव्य प्रदेशका रूपमा हामी विकास गर्न सक्छौं । त्यसका लागि यहाँ प्रशस्त सम्भावना छ । हामीसँग सयौं झरना, तालतलैया र पोखरी छन् । दृश्यावलोकन गर्न सक्ने थुप्र ठाउँ छन् । अनि माटोको कुरा गर्ने हो भने प्रदेश १ अत्यन्त उर्वर माटोले भरिएको छ, यहाँ खाद्यान्नको मात्र कुरा गर्ने हो भने सिंगो मुलुकलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता छ । पुराना उद्योगको थलो पनि यही हो । त्यस्ता उद्योग कलकारखानालाई व्यवस्थित गरेर हामी रोजगारी सिर्जना गर्न सक्छौं । साना घरेलु उद्योगहरूको विकास गर्न सक्छौं । सहर्कायको राम्रो गतिविधि भएको प्रदेश पनि यही प्रदेशमा पर्छ । अत्यन्त सम्भावना नै सम्भावना भएको जगमा यो प्रदेश उभिएको छ । मात्र अब हामी त्यसलाई सजाउने र व्यवस्थापन गर्ने काममा मात्रै खरो उत्रन सक्नुपर्छ । यो प्रदेशलाई नमुना प्रदेश बनाउन सकिन्छ ।

 केन्द्रीय सरकारको मन्त्रीको जिम्मेवारी सम्हालिसकेको सफल व्यक्ति हु“

 द्विविधा, निराशा र हतासा नभई स्पष्ट दृष्टिकोणसहित प्रदेशलाई हा“क्नेछु

 संसदीय अनुभवको हिसाबले म सबैभन्दा जेठो ह“ु

 प्रदेश १ ले समृद्धिका लागि प्रशस्त सम्भावना बोकेको छ

 प्रदेशका १४ जिल्लामा १४ वटा नमुनाबस्ती निर्माण गरिनेछ

० समृद्ध प्रदेश बनाउन कस्तो नीति तथा कार्यक्रम ल्याउनुहुन्छ ? प्राथमिकतामा केके पर्छन् ?

हाम्रो पहिलो जोड सडक सञ्जालमा हुनेछ । प्रदेश विकासको मेरुदण्डका रूपमा रहेको विराटनगर–किमाथांकालाई हामीले प्राथमिकतामा राखेका छौं । त्यसपछि पूर्वपश्चिम, उत्तरदक्षिणका ६ लेनका बाटा निर्माणको काम पूरा गर्छौं । १४ जिल्लालाई कालोपत्रे सडकले जोड्ने हाम्रो लक्ष्य छ । वडास्तरसम्मका सडकलाई हिउँद–वर्षा सधैं सञ्चालनमा आउने गरी स्तरोन्नति गरिनेछ ।
त्यसपछि हामी विद्युतीकरणमा जोड दिन्छौं । कम्तीमा विद्युत् आवश्यकताको अध्ययन गरी पाँच वर्षभित्र जनतालाई उज्यालो दिन्छौं । प्रदेशलाई लोडससेडिङमुक्त बनाउने प्रयास गरिनेछ । विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गरिनेछ । लाखौंलाख पर्यटक यो प्रदेशमा भिœयाउन चाहन्छौं । पर्यटकहरूलाई आकर्षित गर्ने न्यूनतम आधारको विकासलाई प्राथमिकतामा राखिनेछ । पर्यटकीय गन्तव्य स्थलमा सडक, बिजुली, खानेपानी, शौचालय र इन्टरनेटको व्यवस्थापन गर्दै आधारभूत पूर्वाधार निर्माणमा जोड दिन्छौं । त्यसपछि हामी प्रदेशका १४ जिल्लामा १४ वटा स्थानीय मौलिकता तथा सांस्कृतिक पहिचानमा आधारित नमुना बस्ती निर्माण गर्नेछौं । यसका लागि आवश्यक अध्ययन पूरा भएपछि नमुना बस्ती निर्माणको काम सुरु हुनेछ ।
उद्योगधन्दाको विकासलाई तीव्र रूप अघि बढाइनेछ । १० वर्षभित्र हाम्रा युवालाई सस्तो बजारमा श्रम बेच्न जानुपर्ने बाध्यताको पूर्ण रूपमा अन्त्य गरिनेछ । बनेका सहरलाई सुन्दर, सफा सहरमा रूपान्तरण गर्दै अब नयाँ सहरलाई स्मार्ट सहरका रूपमा विकास गर्नेतिर लाग्छौं । हामी थुप्रै क्षेत्रको हब बन्ने स्थानको खोजी गर्छौं । खेलकुद हबका रूपमा उपयुक्त स्थलको खोजी गरिनेछ । शैक्षिक, औद्योगिक, आइटी हबका रूपमा अघि बढाउन सक्ने ठाउँको छनोट गर्छौं र सोहीअनुरूप आवश्यक पूर्वाधार विकास गर्न चाहन्छौं । योजनाबद्ध रूपमा प्रदेशलाई समृद्ध बनाउने रोडम्याप प्रस्तुत गर्छांै । अब बन्ने नीति तथा कार्यक्रम र बजेटबाट प्रदेश सरकारले फोकस गर्ने क्षेत्र र पाँच वर्षमा सरकार के गर्न चाहन्छ भन्ने विषयमा जनतालाई स्पष्ट जानकारी दिइनेछ । हामी विकास निर्माणका हरेक काम पारदर्शी ढंगले सञ्चालन गर्नेछौं ।

० तपाईंंले भन्नुभएका यी सबै काम सम्पन्न गर्न त थुप्रै चुनौती सामना गर्नुपर्ला नि ?

अवश्य पनि चुनौतीहरू धेरै छन् । संघीयता पहिलोपटक अभ्यास गरिरहेको हुनाले पनि निर्धारित काम गर्न सहज नहुन सक्छ । व्यवस्था परिवर्तन भएको छ तर हाम्रा कतिपय मानसिकता पुरानै छन्, त्यसलाई बदल्नु छ । हामीसँग साधनस्रोतको अभाव छ । कतिपय अवस्थामा शून्यबाट काम थाल्नुपर्ने हुन सक्छ । शून्यबाट काम थालिरहँदा पूर्वाधार आफैं निर्माण गर्नुपर्ने हुन्छ । तर पनि यी समस्यालाई म सामान्य देख्छु । पहिलो कुरा हाम्रो संविधानको मर्म र भावना, संघीयता र त्यसको मर्म र भावनाअनुसार सबैले बदलिनुपर्छ । राजनीतिक नेतृत्व र राज्यका सबै संयन्त्र बदल्नुपर्छ । अहिलेको नयाँ समयको गतिमा हिँड्नुको हामीसँग अरू कुनै पनि विकल्प छैन । जनताप्रति जवाफदेही भएर तथा उत्तरदायी बनेर निष्ठापूर्वक सबै राष्ट्र निर्माणको अभियानमा होमिनुपर्छ । यसका लागि हामी सबैलाई उत्साहपूर्वक सहभागी हुन प्रेरित गर्ने प्रयास गर्नेछौं ।
त्यसपछि विभिन्न स्रोत जुटाउँछौं । केन्द्रीय सरकारले पठाउने बजेटको एउटा अंश, आन्तरिक स्रोत परिचालन गरेर जम्मा गरेको एउटा अंश, निजी क्षेत्रलाई परिचालन गरेर आर्थिक स्रोत जुटाइनेछ । यस्तै, हामी बाह्य लगानीकर्तालाई आकर्षित गर्न चाहन्छौं । प्रदेशबाट विभिन्न मुलुकमा रहेर पेसा व्यवसायमा लागेका गैरआवासीय नेपालीलाई लगानीका लागि आह्वान गर्छौं । जलस्रोत, कृषि, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चाहने
विदेशी लगानीकर्तालाई आकर्षित गर्दै चुनौतीलाई सम्भावनामा परिणत गर्दै योजनामा ढालेर प्रदेश समृद्ध बनाउने कुरामा न अलमलीकन अघि बढ्छौं ।

० प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम होला कि नयाँ निर्णय आउला ?

प्रदेशको राजधानी अहिले अस्थायी तोकिएको छ । स्थायी तोक्ने अधिकार प्रदेशसभाको दुई तिहाइ बहुमतलाई छ । अब हामीले यसमा प्रवेश गर्नुपर्छ । यसका लागि हामीले अब विलम्ब गर्नुहुँदैन । जहाँ तोके पनि हामीले यो विषय छिट्टै टुंग्याउनुपर्छ ।
प्रदेशसभाको दुई तिहाइले निर्णय गर्ने अधिकार संवैधानिक व्यवस्था छ । यस्तो बेला मैले अहिले नै यहीँ हुन्छ भन्नु उचित हँुदैन । मैले त केवल सहजकर्ताको भूमिका निर्वाह गर्ने हो, सहजकर्ताको भूमिका निर्वाह गर्दा रायसल्लाह सुझाव लिने काम म चाँडै थाल्नेछु । जहाँ तोके पनि अब स्थायी राजधानी तोक्ने विषयलाई औपचारिक रूपमा थालनी गर्छौं ।

० प्रदेशको नामकरण कसरी होला ?

नामकरणको विषय पनि टुंग्याउने अन्तिम अधिकार प्रदेशसभाको दुई तिहाइलाई नै छ । यो विषयमा छलफल भइरहेको छ । विभिन्न माध्यमबाट आवाज उठाउने काम भइरहेको छ । भूगोल, जातीय पहिचान, सभ्यता वा ऐतिहासिकताको आधारमा नामकरण हुनुपर्छ भन्ने आवाज पनि सुनिएको छ । यसको निरूपण पनि प्रदेशको संवेदनशीलता, भूगोल, जातिगत बसोबास, पहिचान, अवस्थिति, सभ्यता, इतिहास सबै कुरालाई समेत ध्यान दिँदै सबैको भावनालाई सम्मान गर्दै सबैको स्वाभिमान चोट नपुग्ने गरी नामकरणको टुंगो लगाउनुपर्छ । यस विषयमा पनि मैले विभिन्न तहमा परामर्श थालनी गरिसकेको छु ।