बिचौलियाको बिगबिगी रोक

बिचौलियाको बिगबिगी रोक

 

 

वैदेशिक रोजगार विभागको ताहाचलस्थित काठमाडौं शाखा कार्यालयमा रहेका ३६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने तयारीमा काम सघाइदिने बहानामा बिचौलिया सक्रिय हुने गरेका छन् । श्रम स्वीकृति एवं पुनः स्वीकृतिजस्ता काम गरिदिने ती बिचौलियाले कामदारबाट अतिरिक्त रकम लिने गरेका थिए । प्रहरीले बिचौलियालाई पक्राउ गर्नु आफैंमा राम्रो हो । तर, के बिर्सन हुँदैन भने बिचौलियाहरू कार्यालयमा खुलमखुला सक्रिय हुनुमा वैदेशिक रोजगार विभाग ताहाचलका कर्मचारीको पनि हात छ । कर्मचारी आफैंले बिचौलियाको संरक्षण गर्दै उनीहरूमार्फत सेवाग्राहीसँग अतिरिक्त शुल्क लिने अघोषित नियम नै बनेको देखिन्छ ।

पछिल्लो समय भ्रष्टाचारको सबैभन्दा ठूलो अखडाका रूपमा चिनिन थालेको छ वैदेशिक रोजगार विभाग । ताहाचल मात्रै हैन, वैदेशिक रोजगारसँग सम्बन्धित अन्य कुनै पनि सरकारी संस्थाले सेवाग्राहीको सेवाका लागि काम गर्न छाडेका छन् । श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र भिसाजस्ता काममा कर्मचारीले निर्धक्कले सेवाग्राहीसँग सिधै अतिरिक्त रकम माग्ने गरेका छन्, जहाँ अतिरिक्त रकम माग्न मिल्दैन, त्यहाँ कर्मचारी स्वयंले बिचौलियाको व्यवस्था गरेका हुन्छन् र बिचौलियामार्फत अतिरिक्त रकम लिन्छन् । प्रहरीले पनि सेवाग्राहीको हितमा खासै काम गरेको भेटिँदैन । चर्कै दबाब परेपछि बेलाबेला बिचौलियालाई पक्राउ गरे पनि उनीहरूलाई कारबाहीबाट उन्मुक्त गराउनमा प्रहरीले नै भूमिका निर्वाह गर्नु सामान्य बनिसकेको छ । यदि, कर्मचारीले सहज रूपमा काम गरेका र प्रहरीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेका भए काठमाडौंको मध्यसहरमा रहेको सरकारी कार्यालयमा २६ जना बिचौलिया कसरी सक्रिय हुन्थे ? विभागको स्थिति यति टिठलाग्दो छ, त्यहाँ कोही पनि सेवाग्राहीले सिधै गएर काम गर्न सक्ने स्थिति नै हुन्न । कुनै सेवाग्राही सिधै सम्बन्धित कार्यकक्षमा पुग्यो भने पनि कर्मचारीले विभिन्न बहाना बनाएर बिचौलिया भए ठाउँमा पठाउँछन् र बिचौलियाले केही रकम लिएपछि त्यही काम सजिलै गरिदिन्छन् ।

ढिलै किन नहोस्, प्रहरीले वैदेशिक रोजगार विभागका केही बिचौलियालाई पक्राउ गरेर सकारात्मक सन्देश दिएको छ । यिनलाई कारबाहीको दायरामा ल्याउन सक्ने हो भने प्रहरीले पनि सेवाग्राहीको पक्षमा काम गरेको आभास मिल्नेछ । २६ जना पक्राउ पर्दैमा प्रहरीले पनि गज्जबै ग¥यो भन्न मिल्दैन किनकि यस्ता धेरै घटना छन् जहाँ प्रहरी आफैंले भाग नपाएको बेला बिचौलिया पक्राउको अभिनय गर्छ र कुरा मिलिसकेपछि बिचौलिया फेरि नियमित धन्दामा सक्रिय हुन्छन् । हरेकपटक मन्त्रालयमा मन्त्री फेरिनेबित्तिकै मन्त्रीहरूको भाषणको थेगो हुने गर्छ, भ्रष्टाचार नियन्त्रण मेरो पहिलो अभियान । तर, आजसम्म कुनै पनि विभागीय मन्त्रीले भ्रष्टाचार नियन्त्रणका लागि देखिने गरी पहल गरेका छैनन् । बोलेको जसरी नै मन्त्रीहरू खरो उत्रने हो भने सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी हुने नै थिएन । आशा गरौं, वैदेशिक रोजगार विभागमा जस्तै अन्य सरकारी कार्यालयमा पनि प्रहरीले बिचौलियालाई पक्राउ गर्नेछन् र सेवाग्राहीहरू उनीहरूको ठगीबाट जोगिनेछन् ।