विप्लव समूहलाई मूल दायराभित्र आउन आग्रह

राजधानी समाचारदाता / काठमाडौं

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहलाई संविधानको मूल दायराभित्र आएर हिँड्न आग्रह गरेका छन् । रिपोर्ट्र्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा मुख्यमन्त्री राईले विप्लव समूह अब संविधानको मूल दायराभित्र आएर हिँड्नुको विकल्प नरहेको समेत औंल्याए । ‘सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरतासाथ प्रस्तुत हुनेछ,’ उनले भने, ‘मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएकाले अब आर्थिक क्रान्ति, सुशासन, स्थायी शान्ति र दिगो विकास हासिल गर्ने बाटोमा हिँड्ने समय आएको छ ।’

अबको युग स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकास रहेको बताउ“दै राईले यसका लागि सरकार गम्भीर भएर लागिपर्ने पनि उल्लेख गरे । ‘आगामी १५ चैतभित्रै एमाले–माओवादी केन्द्र बृहत् एकता घोषणा हुनेछ,’ मुख्यमन्त्री राईले भने, ‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, १५ चैतभित्रै वाम गठबन्धन एकतामा परिणत हुन्छ ।’

मुलुकमा अस्थिरता र अराजकताको कुनै गुञ्जायस नभएको उल्लेख गर्दै उनले जनचाहना र सपना एउटै भएकाले समृद्धि हासिल गर्ने दिशामा अघि बढ्ने बताए । ‘यसभन्दा अर्को एजेन्डा छैन, समृद्धि यात्रामा सबै दल सरिक हुनुपर्छ,’ उनले भने, ‘हामी अहिले कानुन निर्माण गर्ने काममा जुटेका छौं ।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्वाचनपछिको संघीय संरचना बनाउने काममा ध्यान नदिएको आरोपसमेत उनले लगाए । ‘दुर्भाग्य नै भन्नुपर्छ, अघिल्लो सरकारले निर्वाचनपछि चाहिने संघीय संरचनाका लागि कुनै ध्यान दिएन,’ उनले भने, ‘व्यवस्थापन कार्यमा पनि चुक्यो ।’

देउवा नेतृत्वको सरकारले व्यवस्थापनमा ध्यान नदिएकाले अहिले आफूहरूले शून्यबाट काम थालनी गरिरहेको बताउ“दै राईले आफ्नो दायित्व र जिम्मेवारीबाट रत्ति पनि अलमलमा नरहेको स्पष्ट पारे ।

प्रदेश नम्बर १ का प्राथमिकता विशेष कार्यक्रममार्फत यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै राईले ‘प्रदेश नम्बर १ मा धेरै सम्भावना रहेको’ बताए । ‘१ नम्बर प्रदेश सानो नेपाल नै हो, यहाँ हिमाल, पहाड र तराई छ, सुन्दर बनावट छ,’ उनले भने, ‘यहाँ पा“च अग्ला हिमाल छन्, सगरमाथा, मकालु, कञ्चनजंघादेखि कोसी टप्पुसम्मका निकुञ्ज यहीं छन् ।’

हलेसी, पाथीभरा, बराह, छिन्ताङजस्ता ऐतिहासिक धार्मिकस्थल यहीं नै रहेको बताउ“दै उनले प्रदेश १ चियाका लागि पनि राजधानी भएको दाबी गरे । ‘वनजंगल, जडिबुटीलगायत पर्यटनको पनि राम्रो सम्भावना बोकेको प्रदेश १ नम्बर हो,’ मुख्यमन्त्री राईले भने, ‘चीन र भारतसँग मात्रै नभएर बंगलादेश, भुटानसँग पनि प्रदेश नम्बर १ को सिधा सम्पर्क रहेको छ ।’

कृषि उत्पादनमा पनि प्रदेश नम्बर १ सबल रहेको उल्लेख गर्दै उनले माटो पनि उर्वर नै रहेको बताए । ‘सिंग्गै मुलुकलाई खाद्यान्न धान्न सक्ने क्षमता हाम्रो प्रदेशसँग छ,’ उनले भने, ‘औद्योगिक हबदेखि शैक्षिक केन्द्रसम्म बन्ने सम्भावना यही प्रदेशमा छ ।’