कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राजधानी समाचारदाता / काठमाडौं

प्रतिनिधिसभा निर्वाचनबाट संसद्को दोस्रो दलमा खुम्चिएको कांग्रेस आज (आइतबार) बाट औपचारिक रूपमा प्रतिपक्षीको भूमिकामा देखिँदै छ । प्रधानमन्त्री नियुक्त भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिँदै गर्दा कांग्रेस औपचारिक रूपमा संसद्को प्रतिपक्षी हुने भएको हो ।

प्रतिनिधिसभामा ६३ सांसद रहेको कांग्रेसले सरकारमाथि विश्वासको मत भने नदिने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले गणितीय रूपमा आफैं बलियो रहेको सरकारलाई कांग्रेसको विश्वासको मत आवश्यक नपर्ने प्रतिक्रिया दिए ।

‘सरकारलाई कांग्रेसको विश्वासको मत आवश्यक छैन, सरकार आफैं गणितीय रूपमा बलियो छ,’ प्रवक्ता शर्माले राजधानीसँग भने, ‘गणितीय रूपमा कमजोर रहेको कांग्रेसले  अब सरकारको गतिविधि हेर्नेछ ।’

शर्माले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको मार्गदिशा मेत तय भएकाले संविधानको सफलताका लागि कांग्रेस सरकारको सहयोगी हुने विश्वास दिलाए ।

यद्यपि सरकारले विपक्षीसँग द्वन्द्व बढ्ने काम गरे कांग्रेस कठोरतापूर्वक उत्रिनेमा भने सचेत रहन  शर्माले चेतावनी दिए । गत ३ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त ओलीले आइतबार बस्ने संसद् बैठकबाट विश्वासको मत लिँदै छन् ।

उनलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनबाटै निर्वाचन लडेको दल माओवादी केन्द्रले समेत समर्थन गरेको छ भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले पनि  साथ दिने संकेत देखिएको छ ।

कांग्रेसले प्रतिनिधिसभा सभामुख पदमा भने उम्मेदवारी नदिएर माओवादी केन्द्रबाट उम्मेदवार बनेका कृष्णबहादुर महरालाई नै समर्थन गरेको थियो । ‘क्यान्सर केयर’को मानार्थ अध्यक्षमा कोइराला