निजी छोडेर सरकारी स्वास्थ्य संस्थातिर आकर्षण

सञ्चिता घिमिरे / रासस

ललितपुर

भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने प्रमाणित भएको छ । निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामी संख्या बर्सेनि बढिरहेको छ । अघिल्लो वर्ष औषतमा ६० बिरामी उपचारका लागि केन्द्र आइपुगेको जनाइएको छ ।

यस वर्ष संख्या अझै बढ्ने अस्पतालका (स्वास्थ्य सहायक अर्जुन लाबदले बताए । ‘अघिल्लो वर्ष एक वर्षमा जति बिरामी आएका थिए,’ उनले भने, ‘अहिले आठ महिनामै त्यति बिरामी उपचारका लागि आइसकेका छन् ।’

केन्द्रमा अस्पतालमा जस्तै सबै उपचार सेवा र चिकित्सक हुनाले उपचारका लागि बिरामी आउने क्रम बढेको उनले बताए । अस्पतालमा अहिले ‘इन्टर्नसिप’का लागि आएका समेत पाँच चिकित्सक कार्यरत छन् । सातामा एकपटक वीर अस्पतालका विशेषज्ञ चिकित्सकले पनि जाँच गर्छन् ।

केही वर्षअघिसम्म केन्द्रमा आउने बिरामीको जाँच स्वास्थ्य सहायकले गर्दथे । उनी भन्छन्, ‘अहिले चिकित्सकले नै जाँच गर्ने भएकाले स्थानीय र अस्थायी रूपमा बसोबास गरेका दुवैखाले बिरामी बढेका छन् ।’

केन्द्रमा सबैभन्दा बढी ग्यास्ट्रिक र रुघाखोकी, ज्वरोजस्ता मौसमी समस्याका बिरामी आउने गरेका छन् । लुभू र आसपासका क्षेत्रमा रहेका साना–ठूला कारखानामा चोट लागेका, रक्तचाप र नसर्ने रोगका बिरामी पनि उपचारका लागि आउने गर्छन् ।

केन्द्रमा २४ घण्टे सेवा लागू छ । गर्भवती जाँच र सुत्केरी हुन पनि यहाँ आउँछन् । उनी भन्छन्, ’यहाँ धेरैखाले रोग उपचार हुने हुँदा चाप बढिरहेको छ ।’

केन्द्रमा एक वर्षमा झन्डै ४ सय गर्भवती जाँचका लागि आउँछन् । अघिल्लो वर्ष एक वर्षमा ३० महिलाले यहाँ नै सन्तानलाई जन्म दिए । गर्भवती जाँचका तुलनामा सुत्केरी हुन आउनेको संख्या बढी छ । उनी भन्छन्, ‘पहिले यहाँ जाँच गरेर सुत्केरी हुन अस्पताल जाने महिला धेरै छन् ।’

केन्द्रमा बिरामीको चाप भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि पर्याप्त र समयमा उपलब्ध गराइरहेको लाबदले बताए । ‘यातायात सहजताले गर्दा पनि बिरामीले यहाँ सजिलै औषधि पाएका छन्,’ उनले सुनाए ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि निःशुल्क गरेको छ । केन्द्रले कुनै पनि सेवाका लागि बिरामीबाट शुल्क लिने गरेको छैन । लुभूबाट छोटो दूरीमै निजी अस्पताल पुग्न सकिन्छ ।

झन्डै आधा घण्टा गाडीमा हिँड्दा धेरै निजी अस्पताल भेटिन्छ । उनी भन्छन्, ‘यहाँ नभएका सेवा लिन र कोही ठूला अस्पताल नै जान चाहनेमात्रै उता जान्छन् ।’

सामान्य उपचारका लागिसमेत निजी अस्पताल पुग्नुपर्ने बाध्यता स्थानीयलाई छैन । ललितपुरमा जिल्ला तहको अस्पताल सञ्चालनमा नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र नै सरकारी कार्यक्रम लागू गर्ने ठूला स्वास्थ्य संस्था बनेका छन् ।

कानुनी विभेदमा कुष्ठरोगी

सामाजिक विभेद भोग्दै आएका कुष्ठरोग प्रभावित कानुनी रूपमा समेत विभेदमा परेका छन् । मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न–गराउन नहुने तथा विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरू कानुनी विभेदमा परेका हुन् ।अधिवक्ता डा. रमेश पराजुली भेदभावविरुद्धको अधिकार प्रत्याभूति यस्ता व्यवस्थाका कारण हुन नसक्ने बताए ।

‘कानुनी व्यवस्था अझै पछि धकेलिएको छ,’ उनले भने, ‘पहिले हटिसकेको यो विषय नयाँ पारिवारिक कानुनमा थपिएको छ ।’ बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको उनी बताउँछन् ।

संविधान बन्ने क्रममा द लेप्रेसी मिसन संस्थाले सभासद्लाई बोलाएर यस विषयमा ध्यानाकर्षण गराएको आनन्ददवन अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताए । सभासद्हरू त्यसबारे सजग भए पनि बेवास्ता गरेको उनी बताउँछन् ।

‘एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको छ,’ उनले भने, ‘औषधि सेवनपछि रोग नसर्ने हुँदा यसबाट प्रभावितलाई विभेद गर्न हुँदैन ।’ सरकारले सात वर्ष पहिले रोग निवारणको घोषणा गरे पनि बर्सेनि झन्डै ३ हजार कुष्ठरोगका नयाँ बिरामी  देखिएका छन् ।