नेपालमा भएका अन्तर्राष्ट्रिय विमान दुर्घटनाहरू

काठमाडौं÷रास– नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना सन् १९९२ को ३१ जुलाईमा भएको थियो । खराब मौसमका कारण थाई एयरलाइन्सको उडान नम्बर टीजी–३११ कलसाइन भएको सो विमान नुवाकोटको ककनीभन्दा उत्तरपूर्वीतर्फको घोप्टेभिरमा दुर्घटना भएको थियो । थाई एयरलाइन्सको दुर्घटनाग्रस्त सो विमानमा सवार ९९ जना यात्रु र १४ जना चालक दलका सदस्यसहित कुल ११३ जनाको ज्यान गएको थियो । थाई एयरबसको ३०४ नम्बरको सो विमान काठमाडौं अवतरण गर्ने क्रममा धावन मार्गभन्दा करिब ३ सय नटिकल माइल प्रतिघण्टा ग्राउन्ड स्पिडमा उपत्यकाबाट ३७ किलोमिटर उत्तरपट्टि ११ हजार ५ सय फिट उचाइको नुवाकोटको घोप्टेभिरको पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

त्यसको दुई महिनापछि सन् १९९२ को २८ सेप्टेम्बरमा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना भएको थियो । पाकिस्तान एयरलाइन्सको उडान नम्बर २६८ विमान दुर्घटनामा पर्दा कुल १६७ जनाको ज्यान गएको थियो । त्यसमा चालक दलका सदस्यसहित सो विमानमा सवार सबैको ज्यान गएको थियो । पाकिस्तानी ए३०० एयरबस विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गभन्दा दक्षिणपट्टिको २ हजार ५२४ मिटर अग्लो पहाड ललतिपुरको भट्टेडाँडामा २ हजार २ सय मिटरको उचाइमा ठोक्किएर दुर्घटना भएको थियो ।

यसैगरी, सन् १९९९ को ७ जुलाईमा लुफ्थान्साको कार्गो विमान दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा चालक दलका चार जना सदस्यको ज्यान गएको थियो । त्यसको केही महिनापछि इन्डियन एयरलाइन्सको विमान विमानस्थलनजिकै दुर्घटना भएको थियो । त्यसबेला १४ जनाको ज्यान गएको थियो ।

नेपाली आकाशमा भएको अर्को अन्तर्राष्ट्रिय विमान दुर्घटना २० फागुन २०७१ मा टर्किस एयरलाइन्सको विमान धावन मार्गमा चिप्लिएर भएको थियो । बिहान ७ ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा उडान नम्बर टीके–७२६ को टर्किस विमान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा चालक दललगायत सबै बाँच्न सफल भएका थिए । सो विमान धावनमार्गमा अवतरण गरेलगत्तै धावनमार्गको केन्द्रीय लाइन छोडेर विमान रोकिने मार्गतिर चिप्लिएर घाँसे मैदानमा धस्सिएको थियो ।

सो विमानमा चालक दलका सदस्यसहित कुल २२४ जना यात्रु सवार थिए । करिब एक सातासम्म अन्तर्राष्ट्रिय विमानस्थलको बाह्य उडान ठप्प भए पनि त्यसबेला केही यात्रुलाई सामान्य चोट मात्र लागेको थियो । त्यसपश्चात् सोमबार बंगलादेशबाट काठमाडौं अवतरण गर्न लागेको यूएस बंगलादेश एयरलाइन्स विमानस्थलको धावनमार्गनजिकै दुर्घटना भएको हो । कुल ६७ जना यात्रु र चालक दलका सदस्यसहित ७१ जना सवार सो विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा दुर्घटना भएको हो ।