राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिना निश्चित

राजधानी समाचारदाता / काठमाडौं

संघीय संसद्को मथिल्लो सदन राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित हुने पक्का भएको छ । राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको मात्र उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् । तर, उनी निर्वाचित भएको घोषणा भने बुधबार हुनेछ । राष्ट्रिय सभा अध्यक्षका लागि बुधबारका लागि निर्वाचनको मिति तय भएकाले अध्यक्ष निर्वाचित भएको घोषणा सोही दिन हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष पद एमालेको भागमा परेको थियो । सोही सहमतिअनुसार तिमिल्सिना राष्ट्रिय सभा अध्यक्षका एक्ला उम्मेदवार बनेका हुन् । एमाले पर्वतको जिल्ला सभापति भइसकेका उनी एमाले प्रदेश नम्बर ४ का सहसंयोजकसमेत हुन् । उनी प्रदेश ४ बाट राष्ट्रिय सभामा एमालेबाट निर्वाचित भएका थिए ।

कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी नदिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद्को शक्ति सन्तुलन हेर्दा राष्ट्रिय सभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए । ‘राष्ट्रिय सभा भनेको प्रबुद्ध व्यक्तिहरूको सभा भएकाले त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको हो,’ उनले भने ।

को हुन् तिमिल्सिना ?

राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध बनेपछि तिमिल्सिनाले सभालाई साझा संस्था बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै ४ वर्षे जेल जीवन बिताएका तिमिल्सिना २०३६ सालमा रेडगार्डको सचिव बनेका थिए । त्यसको चार वर्षपछि मात्र उनले पार्टी सदस्यता पाएका थिए ।

२०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव भएका  तिमिल्सिनाले २०४२ को बम काण्डपछि पुनः चार वर्ष जेल जीवन बिताएका थिए । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि २०४६ सम्म पोखरा, भैरहवा, तौलिहवा, वीरगन्ज, भद्रगोल र नख्खु जेलमा राखेको थियो ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका उनलाई तत्कालीन सरकारले उनको टाउकोको मूल्य ५० हजार तोकेको थियो । अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी बनेका उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । उनी केन्द्रीय सदस्य बन्दा ओली सोही कमिटीका अध्यक्ष थिए ।

२०४७ सालमा माले मुस्ताङको सचिव, ०४८ मा एमाले बागलुङको सचिव, २०५४ मा भएको एमालेको छैटौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका तिमिल्सिना धौलागिरि अञ्चलको पार्टी इन्चार्ज बनेका थिए ।

२०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार बनेका उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भए । उनले पर्वत जिल्ला संयोजकका रूपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वतका जिविस सभापति बनेका थिए ।