राष्ट्रपति निर्वाचन आज , ८८० मतदाता , संघ र प्रदेशका लागि फरक रङको मतपत्र

महेश्वर गौतम / काठमाडौं

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज (मंगलबार) निर्वाचन हुँदै छ । संघीय संसद्का ३३१ र प्रदेशसभाका ५४९ गरी राष्ट्रपति चुन्न ८८० जना (निर्वाचक मण्डल) ले मतदान गर्दै छन् ।

नयाँ राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेतृ कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा हुने निर्वाचनमा मतदानका लागि सातै प्रदेशका प्रदेशसभा सदस्य काठमाडौं आइसकेका छन् । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको मतदाता नामावलीअनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५६ गरी संघीय संसद्‌का ३३१ सदस्यले मतदान गर्नेछन् । यस्तै, सातवटै प्रदेशका कुल ५४९ प्रदेशसभा सदस्यले समेत गरी कुल ८८० जनाले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यका लागि फरकफरक रङको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि तोकिएका सहायक निर्वाचन अधिकृत बिनोदकुमार दाहालले संघीय संसद्का सदस्यले सेतो रङको कागजको पृष्ठभूमिमा हरियो रङको अक्षर अंकित मतपत्र र प्रदेशसभाका सदस्यले सोही रङको पृष्ठभूमिमा रातो रङको अक्षर अंकित मतपत्रमा मतदान गर्ने जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभारसमेत संघीय कानुनबमोजिम फरक छ । संघीय संसद् र प्रदेशसभाका सदस्यको मतभार क्रमशः ७९ र ४८ तोकिएको छ ।

मतभारअनुसार संघीय संसद्‌का कुल ३३१ सदस्यको कुल मतभार (प्रतिसदस्य ७९ का दरले) २६ हजार १४९ हुनेछ । यस्तै, प्रदेशसभाका कुल ५४९ सदस्यको कुल मतभार (प्रतिसदस्य ४८ का दरले) २६ हजार ३५२ हुनेछ ।

यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ५०१ मतभार हुनेछ । जितका लागि भने कुल मतभारको ५१ प्रतिशत अर्थात् उम्मेदवारले कम्तीमा २६ हजार २५१ मत प्राप्त गर्नुपर्छ ।  मतदानका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

मत हाल्न परिचपपत्र अनिवार्य

राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न जाँदा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यका लागि परिचयपत्र अनिवार्य गरिएको छ । सोमबार बसेको आयोगको बैठकले राष्ट्रपति निर्वाचन प्रयोजनार्थ तयार पारिएको निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई परिचयपत्रसहित मतदानमा सहभागी हुन भनेको हो ।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन निर्देशिका, २०७४ बमोजिम राष्ट्रिय सभा सदस्य वा प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा आयोगले विगतमा स्थानीय तह वा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ को क्रममा जारी गरेको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा मतदान गर्न दिने निर्णय गरेको छ ।