बर्दिबासमा चोरको बिगबिगी

महोत्तरी÷रास– बर्दिबास प्रहरीले सुरक्षाको दरिलो व्यवस्था मिलाएको दाबी गर्दै आए पनि नगरक्षेत्रमा विगत केही समयदखि बढेको चोरी र लुटपाटको घटनाले नगरवासी आक्रान्त छन् । घर तथा पसलदेखि सवारीसम्म चोरीका बढ्दो घटनाले नगरको सुरक्षामाथि प्रश्न खडा गरेको छ ।

बर्दिबास प्रहरीका अनुसार यसबीच नगरक्षेत्रमा १३ मोटरसाइकल र २० बढी घर तथा पसलमा चोरी घटनाका उजुरी परेको छ । सुरक्षा निगरानी बढाएको दाबी गरिएकै अवस्थामा पसलका सटर तोडिएका घटनादेखि निजी घरमा गरगहना चोरिएका घटनाले स्थानीय पीडित छन् । भारतदेखि चीन र मेचीदेखि महाकालीको केन्द्र बर्दिबास नै हो । आर्थिक कारोबारको मुख्य केन्द्र रहेको बर्दिबासमा तीन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । त्यसैगरी, दुई दर्जन सुन चाँदी पसल छन् । त्यसैले, यहाँ सुरक्षा चुनौती पनि छ । बर्दिबासमा पछिल्लो समय गुन्डागर्दी, चोरी, वेश्यावृत्ति, लागूऔषध ओसारपसार, वन्यजन्तु चोरीसिकार, नक्कली अमेरिकन डलरको कारोबारजस्ता फरकफरक खालका अपराध बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसैबीच, लक लगाएर राखेकै ठाउँबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएको छ । प्रहरीले आपराधिक घटना नियन्त्रणका लागि बलियो व्यवस्था मिलाएको दाबी गरेको छ । बर्दिबास प्रहरी उपरीक्षक प्रविण पोखरेलले मोटरसाइकल चोरी गिरोहका चार जनालाई दसीसहित पक्राउ गरिएको जनाएका छन् ।

१८ देखि २० वर्ष उमेर समूहका आरोपीतहरूमध्ये बर्दिबासको एक ग्रिल उद्योगमा कार्यरत सञ्जयले मोबाइलबाट मोटरसाइकल राखेको ठाउँको सुराकी दिने र बाँकी तीन जना सर्लाहीबाट आएर चोरी गरी लाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।