अभिभावकको रोहबरमा परीक्षा

राजधानी संवाददाता / मुस्ताङ

जिल्लामा सञ्चालित १५ वटा सामुदायिक आधारभूत विद्यालयले अभिभावकको उपस्थितिमा परीक्षा सञ्चालन गरेको छ । राष्ट्रिय शैक्षिक गुणस्तर परीक्षण केन्द्रको राष्ट्रिय कार्यक्रम तथा जिल्ला शिक्षा कार्यालयको आयोजनामा जिल्लाका १५ आधारभूत तहका विद्यार्थीका लागि सोमबार सम्बन्धित विद्यालयमै लिखित र मौखिक परीक्षा सञ्चालन गरिएको छ ।

केन्द्रले विद्यार्थीको शैक्षिक गुणस्तर तथा पठनसीपको पहिचान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले देशभरका आधारभूत तह कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीलाई सो प्रकारको परीक्षा सञ्चालन गरेको घरपझोङ गाउँपालिकाका शाखा अधिकृत मतिलाल चपाईले जानकारी दिए । केन्द्रको निर्देशानुसार विद्यार्थीका अभिभावक राखेर पठनसीप विकासको परीक्षा सञ्चालन भएको बताए ।

जिल्लामा सञ्चालित कुल ५८ वटा सामुदायिक विद्यालयमध्ये १५ वटा आधारभूत विद्यालय यसपटक प्रारम्भिक कक्षा तथा पठनसीप परीक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लक्ष्मण देवकोटाले बताए । उनका अनुसार घरपझोङ गाउँपालिकाका पाँचवटा, थासाङ गाउँपालिकाका सातवटा, बारागुङ गाउँपालिकामा दुईवटा र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एउटा आधारभूत विद्यालयका विद्यार्थी सो परीक्षामा सामेल भएका थिए ।

जिल्ला शिक्षा कार्यालयका अनुसार उपल्लो मुस्ताङमा सञ्चालित विद्यालय चिसो मौसमका कारण पोखरामा घुम्तीका रूपमा सञ्चालन भइरहेकाले परीक्षामा सामेल हुन नसकेका हुन् । यसैगरी, लोघेकर र बारागुङका केही विद्यालय घुम्तीमै रहेकाले परीक्षामा सहभागी विद्यालय र विद्यार्थीको संख्या कम भएको बताइएको छ । परीक्षामा सम्मिलित परीक्षार्थीको परीक्षाफल सम्बन्धित विद्यालयले मापन गरी जिल्ला शिक्षा कार्यालयमा पठाउने र जिशिकाले सो परीक्षाफल राष्ट्रिय शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा पठाउने विद्यालय स्रोतव्यक्ति गोविन्द श्रेष्ठले बताए ।