भाग्दाभाग्दै युवा–युवती पक्राउ

सीपी लोहिया / बैतडी

फोनबाट चिनजान भएका दोगडा केदार गाँउपालिका–२ का प्रकाश चुनाराको सोही गाउँपालिका–३ की एक गैरदलित युवतीबीच प्रेमसम्बन्ध कायम भयो । पहिलोपटक गत भदौमा भेटेका उनीहरूको सम्बन्ध बढ्दै गएपछि गएको फागु पूर्णिमाका दिन पुनः भेट भयो । सो दिन भागेर विवाह गर्ने निष्कर्षमा उनीहरू पुगे । भागेर भारत जाने भन्दै उनीहरू १७ फागुनमा झुलाघाट पुगे ।

सो दिन झुलाघाटमै बास बसी अर्को दिन बिहानै भारततर्फ जान लाग्दा झुलाघाट प्रहरीले उनीहरूलाई सोधपुछ ग¥यो । सुरुमा प्रकाशले आफू ऐरी भएको बताए पनि प्रहरीले अलि कडिकडाउ गरेपछि उनी आफू दलित (चुनारा) भएको बताए ।

केटा दलित भएको कुरा थाहा पाएपछि युवती बोलिनन्, प्रहरीले दुवै जनालाई आफन्तको जिम्मा लगाए । आफन्तको सहयोगमा युवतीले जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा दायर गरिन् । प्रकाश अहिले प्रहरी हिरासतमा छन् भने युवती घर फर्किएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा दर्ता भएको मुद्दामा प्रकाशले युवतीलाई करणी गरेको अभियोग लगाएको बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए । दलित अधिकारकर्मी सरस्वती नेपालीले भनिन्, ‘जात थाहा नपाएसम्म प्रेम थियो, दुई दिन सँगै बसे, जात थाहा भएपछि करणी मुद्दा दर्ता भयो ।’ मानवअधिकारकर्मीहरूसँगको सोधपुछमा चिनजान हुँदा जात ढाँटेकाले सुरुमा माया लागे पनि अब माया नलागेको युवतीले बताएको अधिकारकर्मी नेपालीले बताइन् । दोगडा केदारका स्थानीय तथा महिला उत्थान समाज बैतडीका जिल्ला संयोजक काशी विष्टले भने, ‘केटाकेटीबीच प्रेम हुनु स्वाभाविक भएकाले त्यसैअनुरूप निर्णय लिनु उत्तम हुन्छ ।’

जात नमिलेको भन्ने बहानामा दुवैको भविष्य बिगार्न नहुने उनको भनाइ छ । सँगै गएका युवतीले करणी मुद्दा दर्ता गरेकाले आरोपित युवकलाई हिरासतमा लिएको बताउँदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रनाउ शर्माले भने, ‘करणीको उजुरी परेपछि सो विषयमा अनुसन्धान गर्नु र आवश्यक कारबाही गर्नु हाम्रो दायित्व हो ।’ जेजस्तो भए पनि सो घटनाको सत्यतथ्य प्रमाण जुटाएर आवश्यक कारबाही गर्ने उनले बताए । स्थानीय माधव विष्टका अनुसार युवकको उमेर १८ र युवतीको २३ वर्ष हो । तर, युवतीले दिएको उजुरीमा उनले आफ्नो उमेर १८ वर्ष उल्लेख गरेको प्रहरीले जनाएको छ ।