इजरायलबाट बालिकालाई आर्थिक सहयोग

इजरायल २९ फागुन ।

पर्साको पटेवासुगौली गाउँपालिकाकी एक बालिकालाई इजरायलबाट आर्थिक सहयोग गरिएको छ ।  गएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात मार्च ८ तारिखका दिन सो गाउँपालिकाकी सामुहिक बलात्कारमा परेकी आठ वर्षीया ती बालिकालाई नेकपा (एमाले) को प्रवासी संगठन प्रवासी नेपाली मञ्च इजरायलले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बालिकाको उपचारार्थ प्रवासी नेपाली मञ्च इजरायलले उपलब्ध गराएको रकम रक्षा नेपालकी दुर्गा पाण्डेलाई हस्तान्तरण गर्दै सांसद बिन्दा पाण्डे ।

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रवासी नेपाली मञ्च इजरायलको महिला विभागद्वारा आयोजना गरिएको कार्यक्रमबाट सो रकम संकलन गरेको प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष तीर्थ गौतमले बताए । सामुहिक बलात्कारमा परेर स्वास्थ्य अवस्था गम्भीर भएकी ती बालिकाको काठमाडौंको ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पीडित बालिकाको उपचारमा राहत पुगोस् भनेर संकलित रकम एमाले पोलिटब्युरो सदस्य तथा प्रवास विभाग प्रमुख सांसद बिन्दा पाण्डेमार्फत हस्तान्तरण गरिएको अध्यक्ष गौतमले जानकारी दिए । सो रकम बालिकाको रेखदेखमा सक्रिय रहेको संस्था रक्षा नेपालकी दुर्गा पाण्डेलाई उपलब्ध गराइएको हो ।
मञ्चले एउटा अबोध बालिकालाई बलात्कृत गर्न पछि नपर्ने मानवरुपी नरपिचासुलाई हदैसम्मको कारवाही गरिनुपर्ने र बालिकाको अध्ययन लगायतका खानबस्नको ब्यवस्था गर्न नेपाल सरकारसमक्ष माग गर्दै उनको स्वास्थ्य उपचारका लागि सक्दो सहयोग गरिदिनहुन विभिन्न संघसंस्था तथा ब्यक्तिलाई अनुरोध गरेको छ ।