सामूहिक लगानी कोषमा गिरावट

काठमाडौं / रासस— धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फन्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फनडको प्रतिएकाइको मूल्य १० रुपैयाँ रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फन्डको कारोबार भएका कारण पनि धितोपत्र बजारमा त्यसले प्रभाव पारेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृतमध्ये ६ कम्पनीको मात्रै प्रतिएकाइ मूल्य आधारभूत मूल्यभन्दा माथि रहेको छ । धितोपत्र बजारमा सामूहिक लगानीका लागि त्यस्ता फन्डको कारोबार हुने गरेको छ । सेयर बजारमा आएको निरन्तर गिरावटको प्रभाव म्युचुअल फन्डको कारोबारमा समेत देखिएको छ ।

स्टकमा सूचीकृतमध्ये सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको मात्रै प्रतिइकाई मूल्य २० रुपैयाँ रहेको छ । यो नै सामूहिक लगानी कोषको सबैभन्दा बढी मूल्य भएको स्किम हो ।

दोस्रोमा नबिल ब्यालेन्स फन्ड रहेको छ । त्यसको प्रतिएकाइ मूल्य १५ रुपैयाँ ७५ पैसा रहेको छ । तेस्रोमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड रहेको छ । सो फन्डको प्रतिएकाइ मूल्य १२ रुपैयाँ २१ पैसा रहेको छ ।

चौथोमा सिद्धार्थ इक्विटी स्किम रहेको छ । त्यसको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ७५ पैसा रहेको छ । पाँचौंमा लक्ष्मी भ्यालु फन्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ ५० पैसा रहेको छ ।

छैटौंमा रहेको एनआईबीएल समृद्धि फन्डको प्रतिएकाइ मूल्य ११ रुपैयाँ १० पैसा रहेको छ । त्यसबाहेक अरू सबै सामूहिक लगानी कोषको प्रतिएकाइ मूल्य आधार मूल्यभन्दा पनि तल पुगेको छ ।

कूल सामूहिक कोषमध्ये आधाभन्दा बढी सामूहिक लगानी कोष प्रतिएकाइ मूल्य ओरालो लाग्दा सेयर बजारमा समेत त्यसले प्रभाव पारेको जानकारहरूको भनाइ छ । स्टकमा सूचीकृत भएको ग्लोबल आईएमई स्किम एकको प्रतिएकाइ मूल्य ९ रुपैयाँ ९० पैसा रहेको छ भने लक्ष्मी इक्विटी फन्डको ९ रुपैयाँ ६० पैसा प्रतिएकाइ मूल्य रहेको छ ।

त्यस्तै, नबिल इक्विटी फन्डको ९ रुपैयाँ ४० पैसा, एनआईबीएल प्रगति फनड ९, एनएमबी हाइब्रिड फनडको ९ रुपैयाँ २२ पैसा, सानिमा इक्विटी फन्डको ९ रुपैयाँ ८० पैसा र सिद्धार्थ इक्विटी फन्डको ९ रुपैयाँ ६८ पैसामा प्रतिएकाइ बिक्री भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डमा अझै दुई सामूहिक लगानी कोषले बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार ग्लोबल आईएमई ब्यालेन्स फन्ड र एनआईबीएल सहभागिता कोषले आवेदन दिएको हो ।

ग्लोबल आईएमई ब्यालेन्स फन्डको १ अर्ब २० करोडबराबरको १२ करोड एकाइ र एनआईबीएल सहभागिता कोषको १ अर्ब ७० करोडबराबरको १७ करोड एकाइ सामूहिक लगानी कोष बिक्रीका तयारीमा छ ।