भारतीय वित्तीय संस्थामा आकर्षण

वीरगन्ज / रासस– भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुला आर्थिक नीतिका कारण सदरमुकाम वीरगन्जमा सरकारी तथा निजी क्षेत्रका ठूलाठूला बैंक सञ्चालनमा आइरहे पनि पर्साको सीमावर्ती गाउँ तथा बजारमा बैंकिङ सेवा सञ्चालन नभएकाले त्यस क्षेत्रका बासिन्दा तथा व्यापारी बाध्य भएर सीमावर्ती भारतीय बैंकतर्फ आकर्षित हुन् थालेका हुन् ।

सशस्त्र द्वन्द्वपछि मुलुकमा शान्ति बहाली भएसँगै वीरगन्जलगायतका सहरमा वित्तीय संस्था खोलिने होडबाजी नै चलेको छ । तर, जिल्लाको बहुसंख्यक मानिस ग्रामीण क्षेत्रमा बस्ने भए पनि सो क्षेत्रमा वित्तीय संस्था नभएकाले बाध्य भई सीमावर्ती भारतको सिकटा बजारस्थित भारतीय स्टेट बैंकमा कारोबार गर्न बाध्य भएको भिस्वाका व्यापारी दिनेशकुमार कानूको भनाइ छ ।

भिस्वा बजारमा नुनदेखि सुनसम्म पाइने भए पनि बैंक नहँुदा यहाँका व्यापारीमध्ये ९० प्रतिशत व्यापारीले सीमावर्ती भारतको सिकटा बजारमा रहेको भारतीय स्टेट बैंकको एटीएमबाट आर्थिक कारोबार गर्ने गरेको नेपाली व्यापारीको भनाइ रहेको छ । सीमावर्ती बजार भिस्वामा रहेको नेपाल बैंक लिमिटेड माओवादी द्वन्द्वकालमा असुरक्षाको कारण देखाउँदै विस्थापित भएको लामो समय भइसक्दा पनि सरकारले हालसम्म यहाँ बैंक पुनःस्थापना गर्न सकेको छैन । यसले गर्दा कि त पोखरिया कि त वीरगन्ज गएर कारोबार गर्नुपर्ने बाध्यता रहेको गुनासो रामजीप्रसाद कानूको छ ।