यातायात व्यवसायी समितिबीच एकीकरण

सुन्दरकुमार थकाली / मुस्ताङ

मुस्ताङ जिप तथा व्यवसायी समितिसँग चोइटिएर गठन भएको मुक्तिनाथ दर्शन यातायात प्रालि अन्ततः १४ महिनापछि एकीकृत भएको छ । जिल्लाका स्थानीय यातायात व्यवसायी आपसमा विभाजित भएर अलग अलग पेसा व्यवसाय सञ्चालन गर्दा दुवै समितिलाई क्षति पुग्ने र स्थानीय जनताले प्राप्त गर्ने यातायात सेवा सञ्चालन गर्न कठिनाइ हुने उल्लेख गर्दै सोमबार एक समारोहमा दुवै यातायात व्यवसायी समितिबीच एकीकरण भएको सार्वजनिक गरिएको हो ।

समितिले प्रेस वक्तव्य जारी गर्दै जिल्लाका स्थानीय दुई यातायात व्यवसायी समिति मुस्ताङ जिप तथा बस व्यवसायी समिति र मुक्तिनाथ दर्शन यातायात प्रालिबीच एकता भएको जनाइएको छ । विज्ञप्तीमा दुवै यातायात समितिका पदाधिकारीबीचको सहमतिमा पुरानै समिति मुस्ताङ जिप तथा बस व्यवसायी समितिका नामले व्यवसाय सञ्चालन गर्ने उल्लेख छ ।

समिति एकीकरण सम्झौतापत्रमा मुस्ताङ जिप तथा बस व्यवसायी समितिका अध्यक्ष मीनप्रसाद थकाली र मुक्तिनाथ दर्शन यातायात प्रालिका अध्यक्ष महेन्द्र थकालीले हस्ताक्षर गरेका छन् । समिति एकीकरणपछि मुस्ताङ जिप तथा बस व्यवसायी समितिका अध्यक्ष मीनप्रसाद थकालीले रिक्तता र तिक्तता पन्छ्याउँदै स्थानीय यातायात व्यवसायी समिति एक भएको बताए । उनले जिल्लाका व्यवसायी फुटेर व्यवसाय सञ्चालन गर्दा सतही रूपमा कमजोर भएको ठहर गर्दै उनले व्यवसायको संरक्षण र जनताको सुविधालाई सम्बोधन गरेर अघि बढ्ने उल्लेख गरे ।

एकीकरण सम्झौतामा सहभागी यातायात व्यवसायी । तस्बिर : राजधानी

‘एक वर्षअघि फुटेका हामी जुट्न सफल भएका छौं । हाम्रा कमीकमजोरीको आत्मसमीक्षा ग¥यौं,’ थकालीले भने, ‘स्थानीय समिति बलियो नहुँदा जिल्लाबाहिरका समितिको अतिक्रमण बढ्यो, अब यातायात सेवा सञ्चालन गर्दा यातायात व्यवस्था विभागको निर्देशिकाबमोजिम व्यवसाय सञ्चालन गर्नेछौं । जिल्लाबाहिरका समिति हटेमा तत्काल स्थानीय जनताको सेवाका लागि लोकल सेवा सञ्चालन गर्नेछौ ।’

मुक्तिनाथ दर्शन यातायात प्रालिका निवर्तमान अध्यक्ष महेन्द्र थकालीले फुटेर व्यवसाय सञ्चालन गर्दा स्थानीय यातायात व्यवसाय संकटमा परेकाले व्यवसाय जोगाउन दुई समिति एकीकृत भएको प्रस्ट पारे ।

मुस्ताङका दुई समितिबीच एकीकरण भएपछि दुवै समितिले खडा गरेका टिकट काउन्टरमा पुरानै समितिको नाममा ब्यानर समेत टाँगिएको छ भने मंगलबारदेखि सोही समितिकै नामले चलानी काटिने सचिव हरि गौचनले जानकारी दिए । समिति एकीकरण भएपछि जिल्लाबाहिरका समितिले सेवा सञ्चालन गर्न पाउने तर बाहिरी समितिका काउन्टरलाई विस्थापित गर्नुपर्ने समेत माग गरेका छन् ।

मुस्ताङमा सेन्डिकेट प्रथा हटेपछि मुक्तिनाथ दर्शन यातायात व्यवसायी समिति गठन भएको हो । जिल्लामा यी दुई समिति भएपछि जिल्लाबाहिरका यातायात व्यवसायीले टाउको उठाएको समितिका सदस्यको दुखेसो छ । उनीहरूले व्यवसायबीच एकता नहुँदा जिल्ला बाहिरबाट अन्धाधुन्ध परमिटबिनाका यातायातका साधन प्रवेश गरेको बताउँदै उनीहरूले परमिटबिनाका सवारीसाधनलाई कडाइसाथ रोक लगाउने जनाएका छन् । अहिले जोमसोममा जिल्लाबाहिरका धवलागिरि अञ्चल यातायात व्यवसाय समिति, म्याग्दी जिप तथा बस सञ्चालक समिति र घोडाघोडी यातायात व्यवसाय समितिले काउन्टर खडा गरेका हुन् । समिति एक भएपछि आवश्यक काउन्टर र बाह्य काउन्टर विस्थापित हुने भएका छन् ।