भण्डारी राष्ट्रपति निर्वाचित,शपथ आज , कोषाध्यक्ष हुँदै राष्ट्राध्यक्ष

महेश्वर गौतम / काठमाडौं

मुलुकको तेस्रो राष्ट्रपतिमा तीन चौथाइ मतसहित विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् ।संघीय संसद् र प्रदेशसभाका सांसदको तीन चौथाइ मत प्राप्त गर्दै वाम गठबन्धनकी उम्मेदवार भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनमा भण्डारीले संघीय संसद्का २४५ र प्रदेशसभाका ४१५ सांसदको गरी कुल ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् । उनीसँगै राष्ट्रपति पदका लागि उम्मेदवारी दिएकी कांग्रेस नेत्री कुमारीलक्ष्मी राईले भने ७८ संघीय सांसद र प्रदेशसभाका ११६ सदस्यको गरी कुल ११ हजार ७३० मतभार पाइन् ।

मंगलबार भएको निर्वाचनमा भण्डारीले निर्वाचकमण्डल (मतदाता) को तत्काल कायम रहेको कुल ५२ हजार ५०१ मतको तीन चौथाइ अर्थात् ७४ दशमलव ८ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले भण्डारीको भन्दा २७ हजार ५४५ कम अर्थात् ११ हजार ७३० मतभार पाएकी जनाएको हो ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । शपथका लागि दिउँसो ४ बजेको समय तोकिएको छ । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिनेछिन् ।

संवैधानिक व्यवस्थानुसार संघीय संसद्का एक सदस्यबराबर ७९ र प्रदेशसभा सदस्यको एक सदस्यबराबर ४८ मतभार तोकिएको छ । संविधानको धारा ६२ को उपधारा ३ मा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचनमा संघीय संसद्का ३३१ मध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ सदस्य गरी ८६२ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा संघीय संसद्का पाँच र प्रदेशसभाका १३ सांसद अनुपस्थित भए । यस्तै, तीन जना संघीय सांसद र पाँच जना प्रदेश सांसदको मत बदर भएको छ । नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले भने राष्ट्रपतिका लागि मतदान नगर्ने निर्णय गरेका थिए ।

१८ सांसद अनुपस्थित

राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानमा १८ जना मतदाता (निर्वाचकमण्डल) अनुपस्थित भएका छन् । संघीय संसद्का ३३१ र प्रदेश सभाका ५४९ गरी कुल ८८० मतदाताको नाम निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा समावेश रहेकोमा कुल ८६२ जनाले मात्रै निर्वाचन प्रक्रियामा सहभागिता जनाएका हुन् ।

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि भएको मतदानमा संघीय संसद्का पाँच र प्रदेशसभाका १३ सदस्य गरी १८ जना अनुपस्थित भएको आयोगले बताएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राष्ट्रपति चयनको मतदान प्रक्रियामा संघीय संसद्का पाँच र प्रदेशसभाका १३ जना सदस्य गरी १८ सदस्य अनुपस्थित रहेको जानकारी दिए ।

आयोगका अनुसार संघीय संसद्का सांसदमध्ये बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रेशम चौधरी, रमेशप्रसाद यादव अनुपस्थित भए । भट्टराई र सुवालको पार्टीका साथै विवेकशील साझा पार्टीले भने मतदानमा सहभागी नहुने निर्णय गरेरै अनुपस्थित भएका हुन् ।

प्रदेश सांसदका मनीष सुमन, धनमाया लामा, प्रह्लाद गिरी, कृष्णबहादुर चौधरी, प्रेमबहादुर तामाङ, विराजभक्त श्रेष्ठ, रमेश पौडेल, राजेश्वर साह, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य र हिमबहादुर शाही अनुपस्थित रहे ।

कोषाध्यक्ष हुँदै राष्ट्राध्यक्ष

विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व उनी एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् । पहिलो महिला राष्ट्रपतिका रूपमा उनी ११ कात्तिक २०७२ मा निर्वाचित भएकी थिइन् ।

एमाले महासचिव स्व. मदन भण्डारीकी धर्मपत्नी भण्डारी दोस्रो कार्यकालका लागि मंगलबार भएको निर्वाचनमा विजयी भएकी छन् । नेकपा एमालेमा रही सक्रिय राजनीति गर्ने उनी जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भइसकेकी छन् । उनलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले वर्ष २०१६ का शक्तिशाली महिलामध्ये ५२औं स्थानमा सूचीकृत गरेको छ ।

भोजपुरमा जन्मिएकी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष निर्वाचित भएपछि उनको राजनीतिक यात्रा सुरु भयो । उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो । मदनको ३ जेठ २०५० मा रहस्यमय ढंगले भएको जिप दुर्घटनामा मृत्यु भएपछि राष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् ।

मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं–१ मा २०५० सालमा भएको उपनिर्वाचनमा सत्तारूढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनी राजनीतिक चर्चाको शिखरमा पुगिन् ।

उनले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरिन् । करिब दुई दशक पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ अध्यक्ष सम्हालेकी भण्डारी बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । तत्कालीन नेता मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागिविराटनगर झरिन् । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी विद्याले विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् ।