विमानस्थल कर्मचारीको लापर्बाहीले दुर्घटना : यूएस बंगला

मधुजंग पाण्डे / काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो दुर्घटनामा परेको यूएस बंगला विमान सेवा प्रदायक संस्था यूएस बंगला समूहले आफ्नो विमान दुर्घटनामा विमानस्थलको टावरमा बस्ने कर्मचारीको गलत सूचना नै प्रमुख कारक रहेको आरोप लगाएको छ । उसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलको गम्भीर लापर्बाहीका कारण आफ्नो विमान दुर्घटनामा परेको दाबीसमेत नेपाली पक्षलाई गराएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी र बंगलादेशी प्रतिनिधिहरूबीच मंगलबार साँझ ललितपुरको हिमालयन होटल र काठमाडौंको याक एन्ड यती होटलमा विमान दुर्घटनाबारे भएका दुई छुट्टाछुट्टै छलफलमा यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इमरान असिफले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलका कर्मचारीको लापर्बाहीका कारण आफ्नो विमान दुर्घटनामा परेको दाबी गरेका हुन् ।सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाबारे जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल नेपाल आइसकेको छ । मंगलबार दिउँसो काठमाडौं आइपुगेको प्रतिनिधिमण्डलले विमान दुर्घटना र आफ्ना नागरिकको अवस्थाबारे जानकारीसमेत  लिएको छ । सरकारी प्रतिनिधिमण्डलसँगै यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इमरान असिफल, दुर्घटनामा मृत्यु र घाइते भएकाका आफन्त पनि आएका छन् । प्रतिनिधिमण्डलमा बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहित छन् ।
छलफलका क्रममा यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इमरान असिफले दाबीका साथ भने, ‘हाम्रो विमानमा कुनै खराबी थिएन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एटीसीका कर्मचारीले चालकलाई कन्प्mयुज पार्ने सूचना दिएकाले दुर्घटना भएको हो ।’
उनले ढाकाबाट विमान उडाएर ल्याएका चालक अबिद सुल्तान यसअघि नेपाल उडानमा लामो अनुभव बटुलेका चालक भएको भन्दै उनीबाट कुनै गल्ती हुनै नसक्ने  जिकिरसमेत गरे ।

‘दुर्घटनामा परेको विमानमा कुनै खराबी पनि थिएन, चालक पनि अनुभवी थिए, काठमाडौं टावरका एटीसीका अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने थाहा नपाएर दुर्घटना हुन पुग्यो,’ उनले भने ।
विमान दुर्घटनामा चालक दलका चार सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजेन्द्रकुमार क्षत्रीले विमान दुर्घटनालगत्तै गरेको पत्रकार सम्मेलनमा विमान दुर्घटनामा चालक दोषी रहेको आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘यूएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा चालक नै प्रमुख दोषी रहेको देखिन्छ, चालकले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको हाम्रो निष्कर्ष रहेको छ, हामीले चालकलाई विमानस्थलको दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिएका थियौं तर, चालकले हाम्रो कुरा सुनेनन् र चालक अटेरी भएकाले नै यति ठूलो दुर्घटना हुन पुगेको हो ।’
सो विमान बंगलादेशको विमान सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सन् २०१० मा स्थापना भएको सो वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा सुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा सुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । सातामा चार दिन काठमाडौंमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेसिया, ओमान, कतार, सिंगापुर र थाइल्यान्डमा उडान भर्दै आएको छ ।

डढेका शवको पोस्टमार्टम जटिल

काठमाडौं / रास– यूएस–बंगला विमान दुर्घटनामा डढेका शवको पोस्टमार्टम गर्न चिकित्सकलाई निकै कठिन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फोरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठले विमान दुर्घटनापछि आगलागी हुँदा नराम्ररी डढेका शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले पोस्टमार्टमा जटिलता थपिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका पोस्टमार्टम विभाग प्रमुख डा. हरिहर वस्तीसहितको टोलीले मंगलबार दिनभरीमा जम्मा ११ वटा शवको मात्र पोस्टमार्टम गरेको छ । विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

‘शव सनाखतमा गम्भीर समस्या देखिएको छ,’ फोरेन्सिक विभाग प्रमुख डा. श्रेष्ठले भने, ‘शव नराम्ररी जलेका छन् पहिचान गर्ने उपाय खोज्दै छौं, महिला र पुरुष छुट्याउन पनि निकै समस्या भएको छ ।’ शिक्षण अस्पतालका अनुसार पोस्टमार्टम गरिएका शवको कपालको अवस्था, रङ, गहना, उचाई र तौल हेरेर सनाखत गर्ने कोसिस भइरहेको छ । फिंगर प्रिन्ट पनि लिने कोसिस गरिरहेको जानकारी गराउँदै उनले भने, ‘अन्तिम विकल्पका रूपमा डीएनएसम्म गर्नुपर्ने अवस्था छ । यस्तो भएमा अझै आगोले जलेका शवको पोस्टमार्टममा लामो समय खर्चिनुपर्ने हुन सक्छ ।’

कसरी बाहिर आयो ककपिट र एटीसीको वार्ता ?

काठमाडौं / रास– सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानका चालक र एयर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ककपिट र एटीसीबीचको गोप्य वार्ता चुहावटमा गम्भीर छानबिन हुने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियमानुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको संवाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानबिन गर्न लागिएको जानकारी दिए । ‘ककपिट र एटीसीबीचको संवाद कसले उपलब्ध गरायो र कसले किन सार्वजनिक गरे, सबै कुरामा व्यापक छानबिन हुन्छ,’ उनले भने ।

यसैबीच, नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना हुँदा ट्राफिक कन्ट्रोल कक्षमा रहेका ६ जना कर्मचारीलाई मंगलबारदेखि नै कामबाट हटाएको छ । दुर्घटनापछि एटीसीका कर्मचारीलाई सोही काममा नराख्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै कामबाट हटाइएको हो ।

प्राधिकरणले चालक र कन्ट्रोलको कर्मचारीबीच भएको कुराकानी कर्मचारीबाटै बाहिर आएको हुन सक्ने पनि जनाएको छ । प्राधिकरणका महानिर्देशक गौतमले के कसरी यस्तो गोप्य सूचना बाहिर पुग्यो अहिले आफूहरू नै अचम्ममा परिरहेको बताए । कर्मचारीको मिलेमतोबिना यो सूचना बाहिर जान नसक्ने दाबी गर्दै उनले भने, ‘यस विषयमा अहिले हाम्रो आन्तरिक अध्ययन सुरु भएको छ ।’

विमानभित्रको ब्ल्याकबक्सजस्तै गोप्य र संवेदनशील हुने एटीसी भ्वाइस रेकर्ड बाहिर आएपछि विमानस्थलको लापर्बाही रहेको भन्दै अहिले बाहिर आलोचनासमेत भइरहेको छ । गोप्य सूचना बाहिर आएपछि सो विमान दुर्घटना जाँच आयोगलाई पनि वास्तविकताबारे सही प्रतिवेदन बनाउन नै अप्ठेरो पर्ने अवस्था सिर्जना भएको छ ।