डढेका शवको पोस्टमार्टम जटिल

काठमाडौं / रास– यूएस–बंगला विमान दुर्घटनामा डढेका शवको पोस्टमार्टम गर्न चिकित्सकलाई निकै कठिन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फोरेन्सिक विभाग प्रमुख डा. प्रमोद श्रेष्ठले विमान दुर्घटनापछि आगलागी हुँदा नराम्ररी डढेका शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले पोस्टमार्टमा जटिलता थपिएको बताए ।

त्रिवि शिक्षण अस्पतालका पोस्टमार्टम विभाग प्रमुख डा. हरिहर वस्तीसहितको टोलीले मंगलबार दिनभरीमा जम्मा ११ वटा शवको मात्र पोस्टमार्टम गरेको छ । विमान दुर्घटनामा ४९ जनाको ज्यान गएको थियो ।

‘शव सनाखतमा गम्भीर समस्या देखिएको छ,’ फोरेन्सिक विभाग प्रमुख डा. श्रेष्ठले भने, ‘शव नराम्ररी जलेका छन् पहिचान गर्ने उपाय खोज्दै छौं, महिला र पुरुष छुट्याउन पनि निकै समस्या भएको छ ।’ शिक्षण अस्पतालका अनुसार पोस्टमार्टम गरिएका शवको कपालको अवस्था, रङ, गहना, उचाई र तौल हेरेर सनाखत गर्ने कोसिस भइरहेको छ । फिंगर प्रिन्ट पनि लिने कोसिस गरिरहेको जानकारी गराउँदै उनले भने, ‘अन्तिम विकल्पका रूपमा डीएनएसम्म गर्नुपर्ने अवस्था छ । यस्तो भएमा अझै आगोले जलेका शवको पोस्टमार्टममा लामो समय खर्चिनुपर्ने हुन सक्छ ।’