कसरी बाहिर आयो ककपिट र एटीसीको वार्ता ?

काठमाडौं / रास– सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानका चालक र एयर ट्राफिक कन्ट्रोलरबीचको संवाद सार्वजनिक भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ककपिट र एटीसीबीचको गोप्य वार्ता चुहावटमा गम्भीर छानबिन हुने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को नियमानुसार पनि विमानको ब्ल्याक बक्स, एटीसीसँगको संवाद र उड्डयनसम्बन्धी आँकडा सार्वजनिक गर्न नमिल्ने भएकाले छानबिन गर्न लागिएको जानकारी दिए । ‘ककपिट र एटीसीबीचको संवाद कसले उपलब्ध गरायो र कसले किन सार्वजनिक गरे, सबै कुरामा व्यापक छानबिन हुन्छ,’ उनले भने ।

यसैबीच, नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटना हुँदा ट्राफिक कन्ट्रोल कक्षमा रहेका ६ जना कर्मचारीलाई मंगलबारदेखि नै कामबाट हटाएको छ । दुर्घटनापछि एटीसीका कर्मचारीलाई सोही काममा नराख्ने अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै कामबाट हटाइएको हो ।

प्राधिकरणले चालक र कन्ट्रोलको कर्मचारीबीच भएको कुराकानी कर्मचारीबाटै बाहिर आएको हुन सक्ने पनि जनाएको छ । प्राधिकरणका महानिर्देशक गौतमले के कसरी यस्तो गोप्य सूचना बाहिर पुग्यो अहिले आफूहरू नै अचम्ममा परिरहेको बताए । कर्मचारीको मिलेमतोबिना यो सूचना बाहिर जान नसक्ने दाबी गर्दै उनले भने, ‘यस विषयमा अहिले हाम्रो आन्तरिक अध्ययन सुरु भएको छ ।’

विमानभित्रको ब्ल्याकबक्सजस्तै गोप्य र संवेदनशील हुने एटीसी भ्वाइस रेकर्ड बाहिर आएपछि विमानस्थलको लापर्बाही रहेको भन्दै अहिले बाहिर आलोचनासमेत भइरहेको छ । गोप्य सूचना बाहिर आएपछि सो विमान दुर्घटना जाँच आयोगलाई पनि वास्तविकताबारे सही प्रतिवेदन बनाउन नै अप्ठेरो पर्ने अवस्था सिर्जना भएको छ ।