कोषाध्यक्ष हुँदै राष्ट्राध्यक्ष

कोषाध्यक्ष हुँदै राष्ट्राध्यक्ष

विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनुपूर्व उनी एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् । पहिलो महिला राष्ट्रपतिका रूपमा उनी ११ कात्तिक २०७२ मा निर्वाचित भएकी थिइन् ।

एमाले महासचिव स्व. मदन भण्डारीकी धर्मपत्नी भण्डारी दोस्रो कार्यकालका लागि मंगलबार भएको निर्वाचनमा विजयी भएकी छन् । नेकपा एमालेमा रही सक्रिय राजनीति गर्ने उनी जनसंख्या तथा वातावरण र रक्षामन्त्रीसमेत भइसकेकी छन् । उनलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले वर्ष २०१६ का शक्तिशाली महिलामध्ये ५२औं स्थानमा सूचीकृत गरेको छ ।

भोजपुरमा जन्मिएकी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । २०३७ सालमा महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष निर्वाचित भएपछि उनको राजनीतिक यात्रा सुरु भयो । उनको २०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो । मदनको ३ जेठ २०५० मा रहस्यमय ढंगले भएको जिप दुर्घटनामा मृत्यु भएपछि राष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय भइन् ।

मदन भण्डारीको निधनपछि रिक्त काठमाडौं–१ मा २०५० सालमा भएको उपनिर्वाचनमा सत्तारूढ नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनी राजनीतिक चर्चाको शिखरमा पुगिन् ।

उनले २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरिन् । करिब दुई दशक पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ अध्यक्ष सम्हालेकी भण्डारी बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट पार्टी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उनी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याणमन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । तत्कालीन नेता मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो । पछि विद्या उच्च शिक्षाका लागिविराटनगर झरिन् । बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी विद्याले विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै एसएलसी उत्तीर्ण गरेकी हुन् ।