नेतृत्व स्वेच्छाचारी भयो : एमाले अनुशासन आयोग

सुभाष साह / काठमाडौं

एमालेको केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्व स्वेच्छाचारी बनेका कारण पार्टीभित्र दण्डहीनता मौलाएको भन्दै पार्टीको अनुशासन आयोगले दण्डहीनताको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

पार्टीको केन्द्रीय किमटीदेखि लिएर तल्लो कमिटीमा नेतृत्वमा रहेका नेताहरूका स्वेच्छाचारी कार्यले दण्डहीनता मौलाएको ठहरसहित एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको आयोगको बैठकले यस्तो ठहर गरेको छ ।

एमाले अनुशासन आयोगका सदस्य अगम वान्तवाले पार्टीको केन्द्रदेखि लिएर तल्लो तहसम्मको कमिटीका नेतृत्वमा देखिएको स्वेच्छाचारिता अन्त्य गर्दै अनुशासन कायम गर्नुपर्ने सुझाव आयोगले दिएको बताए । ‘पार्टीको केन्द्रदेखि लिएर तल्लो तहसम्मको कमिटीमा रहेका नेतृत्व वर्गमा व्यक्तिवादी सोच,

स्वेच्छाचारिता एवं अनुशासनहीनता देखिएको छ’ वान्तवाले भने, ‘यी कारणले पार्टीको बैठकहरूसमेत विधानअनुसार बस्न सकेको छैन, नियमित बैठक सञ्चालन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ ।’

पार्टीभित्र बढ्दै गइरहेको दण्डहीनता अन्त्य गर्दै आन्तरिक अनुशासन कायम गर्न आयोगले एमाले नेतृत्वको ध्यानाकर्षण गराउँदै पार्टीलाई वैधानिक रूपमा सञ्चालन एवं देखिएका विकृतिको अन्त्य हुनुपर्नेमा जोड दिएको छ ।

पार्टीका विविध गतिविधिको विषयमा छलफल गर्दै यस्तो निष्कर्ष निकालेको आयोगका अध्यक्ष अमृतकुमार बोहराले बताए । पार्टीमा बढेको दण्डहीनतासँगै पार्टीमा अनुशासनहीनतासमेत बढ्दै गइरहेको आयोगले जनाएको छ ।

आयोग अध्यक्ष बोहराका अनुसार बैठकले आयोगको आन्तरिक संगठनात्मक व्यवस्थापनको साथै पार्टी र राष्ट्रको केही समसामायिक सवालमा छलफल गरी यस्तो निष्कर्षमा पुगेको छ । आउने दिनमा पार्टीमा बढेको दण्डहीनता अन्त्य हुने विश्वास आयोगले गरेको छ ।

‘लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरू राम्ररी नभएको, पार्टी कमिटीहरू प्रायः निष्क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरू क्रमशः कमजोर बन्दै गएको, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानबिन नगरी दण्डहीनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ’ बैठकपछि आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी बैठकले तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरू, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरूको यथासमयमा छानबिन भई कारबाही हुनुपर्नेमा अनेक बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारबाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।