व्यवसायी नै सुन तस्करीमा

काठमाडौं / रास– सुनचाँदी व्यवसायमा संलग्न व्यापारीहरू नै सुन तस्करीमा लागेका छन् । ब्युटीपार्लरमा प्रयोग गर्ने सामानमा लुकाई छिपाई नेपालमा अवैध सुन खरिद गरी तस्करीमा संलग्न भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुवईबाट ल्याएको सुन सिधै काठमाडौंमा सञ्चालित सुनचाँदी व्यवसायीहरू खरिद गर्ने गरेको जनाएको छ । ब्युटीपार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा सुन लुकाएर नेपालका सुनचाँदी व्यवसायी खरिद गर्ने गरेको सीआईबीले जानकारी दिएको छ ।

कपाल सिधा पार्ने आइरनमा सुन लुकाएर नेपाल ल्याउन र नेपालमा बिक्री गर्नमा संलग्न ६ जनालाई प्रहरीले सोमबार काठमाडौंमा पक्राउ गरेको छ ।

फ्लाइ दुबई एयरलाइन्सबाट आएका होमबहादुर बुढाथोकीले महिलाहरूले कपाल सिधा पार्न प्रयोग गर्ने इलेक्ट्रिक आइरनमा लुकाई ल्याएको सुन सरोज केसीले चलाएको बा १६ च ३५१० नम्बरको कारमा राखी लैजाँदै गरेको अवस्थामा प्रहरीले सिनामंगलबाट उनीहरूलाई पक्राउ गरी बरामद गरेको थियो । प्रहरीले बुढाथोकी र केसीसँगै सुन तस्करी गर्ने शशीकला भण्डारी गुरुङ र तस्करीको सुन कारोबार गर्ने व्यापारी जीवन शाक्य, बिजु बज्राचार्य र योगेश मगरलाई पनि पक्राउ गरेको छ ।

शशीकला भण्डारी गुरुङका श्रीमान्ले दुवईबाट इलेक्ट्रिक आइरनमा सुन लोड गरेर पठाउने गरेको सुन भण्डारी र सरोज शाक्यबाट कोटेश्वरको बज्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्टमा किन्ने गरेको थियो । प्रहरीले उनीहरूको साथबाट इलेक्ट्रिक आइरनमा लुकाएको १० तोला सुन, ५ तोलाको सुनको सिक्री र बज्राचार्य गहना प्रालिबाट १२९ तोला सुन बरामद गरेको छ । पक्राउ परेकाहरूलाई प्रारम्भिक अनुसन्धानपश्चात् थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाएको सीआईबीले जनाएको छ ।