‘क्षतिपूर्तिका लागि पहल गर्छु’

काठमाडौं / रास– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार भएको यूएस बंगला विमान दुर्घटनाका घाइतेहरूलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने बताएका छन् ।

मंगलबार दिउँसो सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगी देउवाले घाइतेहरूलाई भेटेर उचित क्षतिपूर्तिका लागि पहल गर्ने बताएका हुन् । उनले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न आफूले सरकारसँग माग गरेको समेत बताए । ‘सर्वप्रथम म तपाईंहरूको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ देउवाले घाइतेहरूसँगको भेटमा भने, ‘उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु ।’

देउवाले दुर्घटना भए लगत्तै घाइतेहरूको तत्काल उपचारको प्रबन्ध गर्न, उद्धार कार्यमा तदारुकता अपनाउन र विमान दुर्घटनाका सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्न आग्रह गरेका थिए ।