राष्ट्रिय सभा अध्यक्ष निर्वाचन आज , तिमिल्सिना एक्ला उम्मेदवार

राजधानी समाचारदाता / काठमाडौं

संघीय संसद्को मथिल्लो सदन राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन आज (बुधबार) हुँदै छ । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा एमालेका गणेश तिमिल्सिनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । सोमबार अध्यक्षको उम्मेदवारी दर्ता गरेका उनको विरुद्ध अरू कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष बन्दै छन् ।

अध्यक्षको निर्वाचन बुधबारका लागि तोकिएकाले उनी सर्वसम्मतले अध्यक्ष निर्वाचित भएको घोषणा हुने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । उनको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् ।

वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष पद एमालेको भागमा परेको थियो । सोही सहमतिअनुसार तिमिल्सिना एमालेबाट राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार बनेका हुन् ।

एमाले पर्वत जिल्ला सभापति भइसकेका उनी एमाले प्रदेश ४ का सहसंयोजक हुन् । उनी प्रदेश ४ बाट राष्ट्रिय सभामा एमालेबाट निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दिएको छैन । सभामुख पदमा माओवादी उम्मेदवारलाई सर्वसम्मत निर्वाचित गराउन सहयोग गरेको कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदमा समेत उम्मेदवारी नदिने निर्णय गरेको हो । पदीय गरिमा राख्ने व्यक्ति वाम गठबन्धनले चयन गरेको बताउँदै कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी नदिएको दाबी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद्को शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रिय सभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए ।

को हुन् तिमिल्सिना ?

पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने उनले ओलीसँगै चार वर्षे जेल जीवन बिताएका थिए । २०३६ सालमा रेडगार्डको सचिव बनेका उनले चार वर्षपछि पार्टीको सदस्यता पाए । २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव भएका उनी २०४२ को बम काण्डपछि चार वर्ष जेल जीवन व्यतित गरेका थिए । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार चार वर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगन्ज, भद्रगोल, र नख्खु जेलमा राखेको थियो ।

तिमिल्सिनासँगै जेलमा तत्कालीन कम्युनिस्ट नेताहरू केपी शर्मा ओली र हितकाजी गुरुङ थिए । २०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका उनलाई तत्कालीन सरकारले पक्राउ गरी ल्याउनेलाई ५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको थियो । अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी बनेका उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । उनी केन्द्रीय सदस्य बन्दा ओली सोही कमिटीका अध्यक्ष थिए ।

२०४७ सालमा माले मुस्ताङको सचिव, ०४८ मा एमाले बागलुङको सचिव, २०५४ मा भएको एमालेको छैटौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका तिमिल्सिना धौलागिरि अञ्चलको पार्टी इन्चार्ज बनेका थिए । २०५९ सालमा जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनबाट केन्द्रीय सल्लाहकार बनेका उनी आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य भए । उनले पर्वत जिल्ला संयोजकका रूपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वतका जिविस सभापति पनि बनिसकेका छन् । राष्ट्रिय सभा अध्यक्षमा निर्विरोध निर्वाचित बन्न लागेका तिमिल्सिनाले सभालाई सबैको साझा संस्था बनाउने बताएका छन् ।