आक्रमणको आशंकामा चार पक्राउ

दीपक ओली / धनगढी

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले मंगलबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा पर्नेहरू युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय सुखडमा राखिएको प्रहरीको भनाइ छ । एक जनाको भने नाम र ठेगाना भने खुल्न सकेको छैन । विप्लव नेतृत्वको नेकपाले प्रमुख चौधरीमाथि भएको आक्रमणको जिम्मा लिएको छैन । पार्टीले चौधरीमाथि कारबाही गर्ने भनेर विज्ञप्ति जारी गरेको भए पनि हतियार प्रयोग गर्ने योजना भने नरहेको जिल्ला सेक्रेटरी रामबहादुर चौधरीले बताए ।

पार्टीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउ“दै पक्राउ पर्ने सबैलाई बिनासर्त रिहाइ गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग गरिएको छ । साथै, राति घरमै सुतिरहेको अवस्थामा प्रहरीले बिनाप्रमाण पक्राउ गरी मानवअधिकारको हनन भएकोप्रति दबाब दिनुपर्ने उल्लेख छ । प्रहरीले घटनास्थलबाट गोलीको एक खोकासमेत फेला पारेको प्रदेश ७ प्रहरी प्रमुख माधव नेपालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानअनुसार बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट गर्नेलाई जोगाउन खोजेको भन्दै प्रमुख चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

त्यस्तै, सोमबार आक्रमणमा परेका नगर प्रमुख चौधरीको दायाँतर्फको मिगौलानजिकै गोली भेटिएको छ । चौधरीको टाउकोमा पनि खुकुरी प्रहार भएको थियो । उनलाई सोमबार राति नै उपचारका लागि नेपालगन्ज लगिएको थियो । नेपालगन्जमा गोली लागेको ठाउ“मा गोली रहे नरहेको पत्ता लाग्न नसकेपछि मंगलबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । शिक्षण अस्पताल महाराजगन्जमा उपचारमा रहेका चौधरीको शल्यक्रिया गरेर गोली निकालिएको छ ।

गत बिहीबार घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झा“क्री रामबहादुर चौधरीले कुटपिट गर्दा प्रमुख ममताप्रसाद चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको छ । प्रमुख चौधरीले राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्ने दोषीलाई प्रहरीबाट छुटाउन खोजेका थिए । नगर प्रमुख चौधरीमाथि सांघातिक आक्रमण गरी ज्यान लिन खोजेको घटनाप्रति थारू कल्याणकारिणी सभालगायत दर्जनभन्दा बढी थारू संघसंगठनले घोर भत्र्सना गरेका छन् । यसैगरी, घटनाको विरोध गर्दै एमालेनिकट युवा संघले मंगलबार बिहानदेखि नै घोडाघोडीमा अनिश्चितकालीन बजार बन्दको घोषणा गरेको छ ।