लगानी प्रवद्र्धनमा सुधारको अपेक्षा

लगानी प्रवद्र्धनमा सुधारको अपेक्षा

रत्न प्रजापति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुँदै गर्दा काठमाडौंमा आयोजित एउटा कार्यक्रममा सम्बोधन गर्दै मुलुकले विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता कार्यान्वयन र विकासका लागि विदेशी लगानी अपरिहार्य भएको बताएका थिए । साथै उनले विदेशी लगानीकर्ताले अहिले धेरैतिर धाइरहनुपरेको र यस्ता झन्झट अन्त्य गरेर लगानीको वातावरण बनाउनुपर्ने पनि भनेका थिए । सानो आकारको अर्थतन्त्र र न्यून स्वदेशी लगानी मात्रै सबैखाले विकास परियोजना सञ्चालन गर्न अपर्याप्त भएको भन्दै हामीले हरेक वर्ष वैदेशिक लगानीको अपेक्षा राख्दै आएका छौं । यस्तो परिप्रेक्षमा प्रधानमन्त्री हुँदै गरेका व्यक्तिले नै विदेशी लगानीको अपरिहार्यता र यसको महŒवमाथि चासो व्यक्त गरेपछि आगामी दिनमा मुलुकमा लगानीमैत्री वातावरण बनाउनमा ठोस पहल हुने आशा गर्न सकिन्छ । अहिले ओली नेपालका ४१औं प्रधानमन्त्री भइसकेको अवस्थामा उनले विदेशी लगानी प्रवद्र्धनका लागि ठोस पहल गर्ने अपेक्षा गर्नु सान्दर्भिक नै हुनेछ ।

विदेशी लगानीको आवश्यकतामाथि मुलुकका अर्थतन्त्रसँग सरोकार राख्ने र अर्थतन्त्रसँग आबद्ध सबै विज्ञहरूले पनि जोड दिँदै आएका छन् । यही तथ्यलाई मनन गर्दै नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले गत वर्ष १९ र २० फागुनमा काठमाडौंमा लगानी सम्मेलन आयोजना गरिएको थियो । करिब २६ खर्ब रुपैयाँको सानो आकार भएको नेपालको अर्थतन्त्रले आर्थिक पूर्वाधारको विकास गरी मुलुकलाई समृद्धिको मार्गतर्फ डो¥याउन सम्भव नभएकाले आर्थिक विकास निर्माणका ठूलठूला परियोजना सञ्चालन गर्न आवश्यक स्रोत जुटाउनकै लागि लगानी सम्मेलनको आवश्यकता महसुस गरी यस्तो सम्मेलन गरिएको थियो । उक्त सम्मेलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसकेको र राजनीतिक स्थिरताले गति लिइसकेको हुँदा लगानीमैत्री वातावरण बन्दै गरेको सूचना सम्प्रेषण गरेको थियो । उक्त सम्मेलनका क्रममा नेपालले करिब १ खर्बको लगानी प्रतिबद्धता आउने अपेक्षा गरेकोमा अपेक्षा गरेभन्दा झन्डै १४ गुणा बढी लगानी प्रतिबद्धता आएकाले पनि मुलुकमा राजनीतिक स्थिरताले गति लिएको तथ्य पुष्टि भइसकेको छ । यद्यपि लगानी सम्मेलनका क्रममा व्यक्त भएको लगानी प्रतिबद्धताअनुरूप वास्तविक लगानी आउन नसकेकोतर्फ भने सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक देखिएको छ ।

यसो त लगानी सम्मेलन गर्दैमा ह्वारह्वार्ती विदेशी लगानी आउने होइन र प्रतिबद्धता आउँदैमा वास्तविक लगानी नै आउने पनि होइन । लगानीका लागि उपयुक्त वातावरण भएन, लगानी सुरक्षाको प्रत्याभूति भएन र लगानी प्रतिफलको सुनिश्चितता भएन भने पनि विदेशी लगाउनी आउँदैन । त्यसैले, लगानी प्रतिबद्धतालाई वास्तविक लगानीमा परिवर्तन गर्न सर्वप्रथमतः मुलुकमा लगानीमैत्री वातावरण हुनुपर्छ । त्यसपछि लगानी सुरक्षाको प्रत्याभूति र लगानी प्रतिफलको सुनिश्चितता हुनुपर्छ । लगानीमैत्री वातावरण, लगानी सुरक्षाको प्रत्याभूति र लगानी प्रतिफलको सुनिश्चितता भए लगानी सम्मेलन नै नगरे पनि विदेशी लगानीकर्ताहरू लगानीका लागि आकर्षित हुने र विदेशी लगानी आउने बलियो उदाहरण भारत र चीनले प्रस्तुत गरिरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा लगानी सम्मेलन नगरिकनै चीन र भारतले उल्लेख्य विदेशी लगानी भिœयाउँदै आएका छन् । सन् २०१६ मा कुल १७ खर्ब ४६ अर्ब ४२ करोड अमेरिकी डलर विदेशी लगानी प्रवाह भएकोमा चीन र भारतले क्रमशः ७ दशमलव ६६ र २ दशमलव ५५ प्रतिशत लगानी भिœयाएका छन् भने नेपालले शून्य दशमलव शून्य एक प्रतिशत मात्रै विदेशी लगानी भिœयाउन सकेको छ । त्यसैले, लगानी प्रवद्र्धनका लागि यस्तो सम्मेलनभन्दा पनि राजनीतिक र नीतिगत स्थायित्वलाई पूर्वसर्तका रूपमा लिनुपर्ने हुन्छ ।

मुलुकमा आकर्षक विदेशी लगानी भिœयाउनका लागि विभिन्न मुलुकसँग गरिने दुई पक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता (बिप्पा) ले पनि महŒवपूर्ण भूमिका निर्वाह गर्छ । यसै तथ्यलाई मनन गर्दै मुलुकमा आकर्षक लगानी भिœयाउने उद्देश्यले अहिलेसम्म ६ वटा मुलुकसँग यस्तो सम्झौता पनि भइसकेको छ भने चीनसँग पनि यस्तो सम्झौता गर्ने विषयले निकै महŒव पाइरहेको छ र सोहीअनुसार गृहकार्य पनि भइरहेको छ । चीनबाहेक पाकिस्तान, बंगलादेश, यूएई, क्यानाडा र कतारसँग पनि यस्तो सम्झौता गर्ने विषयमा दुईपक्षीय छलफल तथा प्रारम्भिक चरणका प्रक्रिया सुरु भएका छन् । तर यस्तो सम्झौता गर्दैमा ह्वारह्वार्ती विदेशी लगानी नआउने तथ्य यी ६ वटा मुलुकसँग सम्झौता गरिसकेपछि ती मुलुकहरूले नेपालमा गरेको लगानीको तथ्यांकले पुष्टि गरेको छ । दुई पक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता भएका मुलुकमा भारतबाहेक अन्य मुलुकले नेपालमा उल्लेखनीय लगानी गरेका छैनन् । पहिलोपटक यस्तो सम्झौता गरिएको मुलुक फ्रान्सले आर्थिक वर्ष २०७२÷७३ सम्ममा जम्मा ५३ करोड ४३ लाख मात्रै लगानी गरेको छ भने पछिल्लोपटक सम्झौता गरिएको मुलुक भारतले सर्वाधिक ८० अर्बभन्दा बढी लगानी गरेको छ । यसैगरी जर्मनीले अहिलेसम्म १ अर्ब ३० करोड ५२ लाख, बेलायतले ५ अर्ब १८ करोड १० लाख, मोरिससले ३ अर्ब ३१ करोड ४७ लाख र फिनल्यान्डले ३३ करोड ५९ लाख मात्रै लगानी गरेका छन् । दुई पक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता भएका मुलुकहरूले अहिलेसम्म नेपालमा करिब ९१ अर्ब ६० करोड रुपैयाँको हाराहारीमा मात्रै लगानी गरेका छन् । भारतले पनि यो सम्झौतापछि लगानी बढाएको होइन, त्यसपूर्व नै भएका लगानी हुन् ।

नेपालको विकासमा सहानुभूतिका लागि लगानी प्रतिबद्धता व्यक्त गरे पनि अन्ततः लगानीमैत्री वातावरणको अभाव, लगानी सुरक्षाको प्रत्याभूतिको अभाव र लगानी प्रतिफलको सुनिश्चितताको कमीले गर्दा प्रतिबद्धताअनुृरूपको वास्तविक लगानी भने कुनै वर्ष पनि आउन सकेको छैन

अहिलेको यथार्थ यो हो कि अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गरे पनि, दुई पक्षीय लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता गरे पनि अथवा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ता समक्ष जतिसुकै हारगुहार गरे पनि लगानी प्रतिबद्धतामा उल्लेखनीय सुधार हुन सकेको छैन र लगानी प्रतिबद्धताअनुरूपको वास्तविक लगानी पनि हुन सकेको छैन । नेपालको विकासमा सहानुभूतिका लागि लगानी प्रतिबद्धता व्यक्त गरे पनि अन्ततः लगानीमैत्री वातावरणको अभाव, लगानी सुरक्षाको प्रत्याभूतिको अभाव र लगानी प्रतिफलको सुनिश्चितताको कमीले गर्दा प्रतिबद्धताअनुरूपको वास्तविक लगानी भने कुनै वर्ष पनि आउन सकेको छैन । हाल औद्योगिक व्यवसाय ऐनअनुसार २ करोडसम्मको लगानी उद्योग विभागले स्वीकृत गर्ने व्यवस्था छ । सोभन्दा माथि १० अर्बसम्मको लगानी औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा माथिको लगानी, लगानी बोर्डले स्वीकृत गर्ने व्यवस्था रहेको छ ।

नेपालमा आर्थिक वर्ष २०७१÷७२ मा अहिलेसम्मकै सबैभन्दा बढी ६७ अर्ब ३९ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको थियो । तर वास्तविक लगानी भने ४ अर्ब ३८ करोड मात्रै आउन सक्यो । यसरी प्रतिबद्धताको ६ दशमलव ५ प्रतिशत मात्रै वास्तविक लगानी आउनुले वास्तविक विदेशी लगानीको स्थिति निकै निराशाजनक देखिन्छ । यो अवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि विश्वस्त तुल्याउन नसकिएको प्रस्ट हुन्छ । यसैगरी आर्थिक वर्ष २०७३÷७४ मा कुल १५ अर्ब १ करोडबराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा वास्तविक लगानी १३ अर्ब ५० करोड ३९ लाखबराबरको थियो, जुन लगानी प्रतिबद्धताको करिब ९० प्रतिशत हो । चालू आर्थिक वर्षको ६ महिनामा कुल १४ अर्बभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा झन्डै ६९ प्रतिशत बढी हो । यसअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी लगानी प्रतिबद्धताअनुरूप नै वास्तविक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिएको छ । बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १४ अर्ब ३३ करोड ४९ लाख रुपैयाँबराबरको वास्तविक विदेशी लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो झन्डै दोब्बर हो । अघिल्लो आर्थिक वर्षको सो अवधिमा ७ अर्ब ३९ करोड रुपैयाँबराबरको वास्तविक विदेशी लगानी भित्रिएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा आपूर्ति व्यवस्थामा सुधार आएको, बन्द हड्तालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार आएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिएको, लगानीसम्बन्धी नीतिहरू बनेको र राजनीतिक दलका नेताबाट लगानीमैत्री वातावरण निर्माण गरी आर्थिक विकास गर्ने प्रतिबद्धता आएको आदि कारणले विदेशी लगानी प्रतिबद्धताअनुरूपकै वास्तविक लगानी आएको अनुमान गर्न सकिन्छ । साथै यसलाई गत वर्ष भएको लगानी सम्मेलनको सकारात्मक प्रभावका रूपमा पनि लिन सकिन्छ । गत वर्ष लगानी सम्मेलनका क्रममा अपेक्षाभन्दा झन्डै १४ गुणा बढी १४ खर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको थियो ।
अहिले जसरी सरकार परिवर्तनसँगै नेपाली लगानीकर्तामा नयाँ आशा र उत्साह बढेको छ, उसैगरी राजनीतिक तथा नीतिगत स्थायित्वको आशामा विदेशी लगानीमा समेत वृद्धि हुने अपेक्षा गर्न सकिने आधार बढेको छ । त्यसैले, अहिले जसरी विदेशी लगानी प्रतिबद्धता र वास्तविक लगानीमा वृद्धि भएको छ, उसैगरी आगामी दिनमा पनि बढ्ने आशा गर्न सकिन्छ । लगानीमैत्री वातावरणको पूर्वसर्तका रूपमा राजनीतिक स्थायित्व तथा नीतिगत स्थायित्व रहेको छ । यी दुई कुरामा स्थायित्व हुने कुरामा लगानीकर्ता विश्वस्त हुनासाथ विदेशी लगानीमा पनि थप उल्लेखनीय वृद्धि हुने निश्चित छ ।