वयस्क चितुवा मृत फेला

राजधानी संवाददाता / बैतडी

चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मंगलबार एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । मेलौली नगरपालिका–२ नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा सडेको अवस्थामा रहेकाले दुई÷तीन दिनअघि नै मरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

खोलामा माछा मार्न गएका युवाहरूले मृत चितुवालाई देखेपछि बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयका प्रतिनिधिलाई खबर गरेको र मृत चितुवाको परीक्षणपश्चात् मात्रै चितुवाको मृत्युबारे थाहा हुने बताइएको छ । सो मृत चितुवाबारे थप अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेलौली नगरपालिकाका विभिन्न ठाउँमा चितुवाको आक्रमण्मा परी धेरै स्थानीयले ज्यान गुमाइसकेका छन् भने घाइतेहरूको संख्या पनि उत्तिकै रहेको बताइएको छ । नरभक्षी चितुवामध्येको एक चितुवा मरेको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । सो भेगमा २०६८ यता मात्रै चितुवाको आक्रमणमा परी २३ जनाले ज्यान गुमाइसकेका छन् । स्थानीय प्रशासनले धेरैपटक चितुवा नियन्त्रण गर्न भन्दै तल्लोस्वराड क्षेत्रमा प्रहरी र वनरक्षकको टोली खटाएको भए पनि सो टोली बिनाउपलब्धि पर्किने गरेका थिए ।

गत १४ फागुन राति मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ वर्षीय बालक गणेशबहादुर चन्दलाई घरकै भुइँतलामा रहेका भान्छा कोठामा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।