प्रशिक्षार्थी कामदार पठाउने कार्य व्यवस्थित गरिने

राजधानी समाचारदाता / काठमाडांै

वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक जापानमा जिट्कोमार्फत प्रशिक्षार्थी नेपाली कामदार पठाउने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाइने भएको छ । उक्त कार्यका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वरिष्ठ व्यवसायी मदनकुमार महतको संयोजकत्वमा पाँच सदस्यीय जापान रोजगार प्रबद्र्धन समिति गठन गरेको हो ।

संघका पूर्वउपाध्यक्ष महत हिमालयन जब एक्सपोलर प्रालिका सञ्चालक हुन् । संघद्वारा गठित सो समितिमा नमस्ते नेपाल म्यानपावरका दिनेशभक्त श्रेष्ठ, रेन्बो ओभरसिजका कमल पुरी, पासा इन्टरनेसनलका देवेन्द्रनारायण श्रेष्ठ, भिक्टोरी कस्मिक ओभरसिजका सन्जु गुरुङ, नाप इन्टरनेसनलका मिठु गौतम, सिग्मा र ओभरसिज म्यानपावर प्रालिका मनोज खड्का सदस्य रहेका छन् ।

यस समितिलाई जिट्कोमार्फत जापानमा प्रशिक्षार्थी नेपाली कामदार पठाउन देखिएको समस्या तथा नयाँ रोजगारी सिर्जना गर्ने सम्बन्धमा आवश्यक सबै सम्बन्धित निकायसँग छलफल एवं परामर्श गर्न निर्देशन दिइएको छ । अहिले जापानमा प्रशिक्षार्थी नेपाली कामदारको ठूलो माग रहे पनि नेपाल सरकारले उपयुक्त पहल नगरेका कारण आकर्षक तलबमा रोजगार पाउने अवसर गुमेको नेपाली व्यवसायीको भनाइ रहँदै आएको छ । केही समय अघि जापानी एक टोली नेपालबाट केयर गिभरको रोजगारीमा युवायुवती लैजानेबारे गृहकार्य गर्न नेपाल आएको थियो ।

वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक जापानमा कामदार पठाउँदै आएका भियतनाम र इन्डोनेसियाले कामदार पठाउन छोडेपछि जापानी रोजगारदाता नेपालतर्फ आकर्षित भएका हुन् ।

नेपाल सरकारले लागू गरेको निःशुल्क भिसा र हवाई टिकट प्रणालीअन्तर्गत प्रतिकामदार सेवा शुल्क जम्मा १० हजार रुपैयाँ मात्र लिनुपर्ने र जापानको भिसा प्रक्रिया अत्यन्तै ढिलो र त्यहाँको अध्यागमनसम्बन्धी कार्य पनि एकदमै झन्झटिलो भन्दै व्यवसायी उत्साहित भएका छैनन् । यस्तो अवस्थामा पनि अहिले जापानका लागि नेपाली प्रशिक्षार्थी कामदार पठाउने कार्यका लागि जिट्कोअन्तर्गत २०२ वटा म्यानपावर कम्पनी सूचीकरणभएका छन् ।