टेलिकमको ब्यालेन्स सापटी सेवा

राजधानी समाचारदाता / काठमाडौं

नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई ‘नमस्ते क्रेडिट सेवा’को सुविधा प्रदान गरेको हो । टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ ।

टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उद्घाटन गरे । अब ग्राहकले पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।

सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले स्टप टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सिम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् । सापटीबापत पाइने रकम डाटा र एसएमएसमा पनि प्रयोग गर्न सकिनेछ ।

ग्राहकले यसअघि खर्च गरेको ब्यालेन्स रकमका आधारमा ग्राहकलाई छुट्टाछुट्टै रकमबराबरको सापटी सेवा दिन सुरु गरिएको छ । नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकमबराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा स्टाटस टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ । ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’बराबरको पैसा भनेपछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।