‘व्यवसायीकै संरक्षणमा कालोबजारी मौलायो’

राजधानी समाचारदाता / काठमाडौं

बजार अनुगमन रोक्न निरन्तर दबाब दिँदै आएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले व्यवसायीको संरक्षणमा कालोबजारी मौलाएको अभिव्यक्ति दिएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा मन्त्री यादवले व्यवसायीकै संरक्षणमा कालोबजारी मौलाएको अभिव्यक्ति दिएका हुन् ।

उनले कालोबजारी मौलाएकाले त्यसको नियन्त्रणका लागि व्यापारीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए । कालोबजारी नियन्त्रणका लागि व्यापारीहरूले अभियान नै चलाउनुपर्ने बताए । मन्त्री यादवले नेपालका व्यवसायीमैत्री नभएको समेत गुनासो गरे ।

यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गर्दै आएको बजार अनुगमन रोक्न निरन्तर दबाब दिँदै आएका थिए । उनकै निर्देशनअनुसार विभागले पनि पछिल्लो समय अनुगमन स्थगित गरेको छ ।

विभागले बजार अनुगमन स्थगित गरेसँगै मुलुकमा कालोबजारी मौलाएको छ । विभागको अनुगमन रोकिएसँगै पछिल्लो एक सातामै निर्माण सामग्रीको मूल्य ३६ रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो रहेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने मन्त्री यादव र आपूर्ति सचिवको निर्देशनको पर्खाइमा विभाग रहेको र उनीहरूको निर्देशन आउनेबित्तिकै अनुगमन थालिने बताएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटका क्रममा मन्त्री यादवले सरकारले बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीसँग विस्तृत छलफल गर्ने योजनासमेत बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनमा कडाइ गरिने बताए ।