पुष्प खेतीमा भारतीय कामदारको एकाधिकार तोडियो

केशवराज पौडेल / काभ्रे

काभ्रेका अग्रणी पुष्प व्यवसायी भोजराज तिमल्सिनाले भारतको बैंगलोरबाट मगाएको टनेल हाल्न तीन महिनादेखि कामदारको खोजीमा भौतारिरहेका थिए । भारतकै बैंगलोरका मजदुरबाहेक नेपाली कामदारबाट पुष्प व्यवसायमा आवश्यक रहेको टनेल हाल्न सक्ने कामदार नभएपछि उनलाई यो वर्षात्मा फूल रोप्न पाउने आशा मरेको थियो । तर, उनलाई चितवन भरतपुरका राजेन्द्र रायमाझीले नेपालको दार्चुलाका कामदारले टनेल हालिदिने बताएपछि तिमल्सिना औधी खुसी हुँदै उनीहरूको स्वागत गरे ।

काभ्रेको बनेपा–१० उग्रतारा जनागाल इँट्टाभट्टानजिकै हसिलो मुद्रामा भेटिएका व्यवसायी तिमल्सिनासँगै कामदार गगनसिंह धामी पनि हर्षित देखिन्थे । उमेरको चार दशक भारतका लागि काम गरेका गगनको नेपाली भूमिमा पसिना बगाएको पहिलोपटक थियो । काम दिने मालिक तिमल्सिनासँगै काम गरिरहेका धामीसँगै दार्चुलाबाट काभ्रेसम्म आएका श्रमिक पनि औधी खुसी भएर काम गरिरहेका देखिन्थे । दार्चुलाबाट काभ्रेमा आएर काम गरिरहेका सात जना कामदारले अब नेपालमै यस्तो खालको काम गर्ने इच्छा देखाए ।

‘नेपालमा काम गर्दा पाउने सम्मान हामीले भारतमा पाउन नसकिने रहेछ,’ धामीले सुनाए, ‘विदेशमा कयौंपटक काम गर्दा सम्मान नहुने रहेछ, अहिले सम्माननै सम्मान पाएको महसुस भएको छ ।’

पुष्प खेतीको टनेल राख्न भारतीय मजदुरको भरपर्ने नेपालका पुष्प व्यवसायीलाई सुदूरपश्चिमका युवा भारतीय मजदुरहरूको एकाधिकारलाई तोड्न सफल भएका छन् । भारतको बैंगलोरमा रहेको पुष्प खेतीको टनेलमा काम सिकेका युवाले अब नेपालमै टनेलको काम गर्ने भएपछि नेपालका व्यवसायीहरूलाई राहत मिलेको छ । उनीहरूले अब नेपालकै विभिन्न ठाउँमा पुगेर सेवा दिने बताएका छन् ।

‘हामी भारतमा पुगेर मासिक १५ हजारको लोभ गरिरहेका रहेछौं,’ धामीले भने, ‘नेपाली दाजुभाइसँगै हाँसीखेली आनन्दसँग ३० हजार कमाउन सकिने रहेछ ।’ नेपाललाई फूलबाट आत्मनिर्भर बनाउन नेपालका पुष्प व्यवसायीहरूले लगानी सुरु गरे पनि दक्ष कामदारको अभावमा टनेल राख्ने तथा प्राविधिक कामहरू गर्न समस्या सिर्जना भए पनि नेपालमा आएर केही गर्ने सोच भएका युवाकै कारण पुष्प खेतीको टनेल राख्न भारतीय कामदारको निर्भरता भने हटेको छ ।