वैदेशिक अनुदानको चामल बेचेरै सकियो

राजधानी समाचारदाता  / काठमाडौं

भूकम्प र नाकाबन्दीको बेला अनुदानमा आएको चामल बिक्री गरेरै सकिएको छ । भूकम्प ताथ नाकाबन्दीको बेला बंगलादेश सरकारले अनुदानमा दिएको २ लाख क्विन्टल चामल नेपाल खाद्य संस्थानको विभिन्न डिपोबाट बिक्री गरेरै सकिएको नेपाल खाद्य संस्थानले जानकारी दिएको छ ।

भूकम्प गएको बेला र नाकाबन्दीको बेला गरी दुई चरणमा बंगलादेशले २ लाख क्विन्टल चामल नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बंगलादेशबाट अनुदानमा आएको २ लाख क्विन्टल चामल बिक्री गरेर

सकिएको बताए ।

‘बंगलादेशबाट अनुदानमा आएको २ लाख क्विन्टल चामल लगभग सकिएको छ’ सपाकोटाले राजधानी दैनिकसँगको कुराकानीमा भने, ‘संस्थानका विभिन्न डिपोबाट बिक्री भएको चामल न्यून मात्रामा मात्रै बाँकी रहेको छ ।’

संस्थानका अनुसार पहिलो चरणमा बंगलादेश सरकारले उपलब्ध गराएको १ लाख क्विन्टल चामलमध्ये २२ हजार क्विन्टल चामल भूकम्पपीडितलाई वितरण गरिएको थियो ।

त्यस्तै, दोस्रो चरणमा आएको १ लाख क्विन्टल चामलमध्ये २० हजार क्विन्टल चामल कर्णालीलगायतका दुर्गम जिल्लामा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत वितरण गरिएको थियो ।

‘बाँकी चामल चाहिँ हामीले हाम्रा विभिन्न डिपोहरूमार्फत बिक्री ग¥यौं,’ प्रवक्ता सपकोटाले भने, ‘डिपोहरूबाट आएको पछिल्लो जानकारीअनुसार ९ हजार क्विन्टल मात्रै बाँकी रहेको छ, ठूलो परिमाणको चामल सकियो ।’

बंगलादेश सरकारले अनुदानमा दिएको चालम ढुवानी, गोदाम भाडालगायतका कारण बिक्री गर्नुपरेको नेपाल खाद्य संस्थानका अधिकारीहरूको भनाइ छ । प्रवक्ता शंकर सापकोटाले नेपाल सरकारको निर्णयानुसार नै चामल बिक्री गरिएको बताए ।

अनुदानमा आए पनि ढुवानीलगायतका कारणले बिक्री गर्नुपर्ने अवस्था आएको र त्यसका लागि सरकारले नै आवश्यक निर्णय गरेको उनको भनाइ थियो ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट ३० देखि ३६ रुपैयाँ केजीका दरले अनुदानको चामल बिक्री गरिएको उनले स्पष्ट पारे । ‘आपूर्ति मन्त्रालयले मूल्य तोकेरै अख्तियारी दिएको थियो,’ सापकोटाले भने, ‘त्यसैअनुसार ठाउँ हेरेर ३० देखि ३६ रुपैयाँ प्रतिकेजीका दरले बिक्री वितरण गरिएको हो ।’

प्रवक्ता सपाकोटाका अनुसार पछिल्लो समय नेपाल खाद्य संस्थानसँग ५१ हजार ७ सय क्विन्टल चामल मौज्दात रहेको छ । जापान सरकारबाट गत माघ महिनामा नेपाल खाद्य संस्थानको गोदाममा आइपुगेको सो परिमाणको चामलमध्ये १५ हजार क्विन्टल खाद्य संस्थानको सुर्खेत कार्यालयमा रहेको छ ।

त्यस्तै, १५÷१५ हजार क्विन्टलका दरले काठमाडौंको थापाथली र नेपालगन्जस्थित कार्यालयमा रहेको छ । त्यस्तै, ६ हजार ७ सय क्विन्टल वीरगन्जमा रहेको खाद्य संस्थानले जानकारी दिएको छ । मौज्दात रहेको सो परिमाणको चामललाई तत्काल बिक्री वितरण गर्ने कुनै पनि निर्णय नभएको प्रवक्ता सापकोटाको भनाइ थियो ।