नागरिक लगानीकोष र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रिय बिमा कम्पनीको अवकाशप्राप्त कर्मचारीहरूको निवृतिभरण भुक्तानी गर्न नागरिक लगानीकोष, बंैक अफ काठमाडौं (बीओके) र राष्ट्रिय बिमा कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बिमा कम्पनीका  प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले हस्ताक्षण गरेका हुन् । हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक पोखरेलले सार्वजनिक संस्थामा अवकाश प्राप्त कर्मचारीहरूको पेन्सन वितरण कार्य कोषले गरेकाले कोसे ढुंगा साबित भएको बताए । उनले बिमा कम्पनीबाट अवकाश भएका कर्मचारीहरूको पेन्सन वितरण कोषमाफर्त बिओकले गर्ने जानकारी दिए ।

सम्झौतापछि निवृत्तिभरण रकम भुक्तानीका लागि बैंकमा कोषले तोकेको खाता खर्च गरी पेन्सनपट्टामा बैंक र पेन्सन भुक्तानी लिनेको दस्तखत गरी बैंकले रकम भुक्तानी गर्नेछ ।

निवृत्तिभरकले पाउने बाह्र महिनाको मासिक निवृत्तिभरण र थप एक महिनाबराबरको चाडपर्व खर्चसहित तेह्र महिनाको निवृत्तिभरण रकम कोषको निर्देशनपछि बंैकले  भुक्तानी गर्ने छ । निवृत्तिभरकलाई थप अन्य सुविधाबापतको रकम भुक्तानी गर्नु परेमा बिमा कम्पनीले कोषमार्फत गरेको अनुरोधका आधारमा मात्रै बंैकले थप भुक्तानी गर्नेछ ।

निवृत्तिभरणको भुक्तानी प्रत्येक महिनाको १५ गतेपछि गर्ने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण रकम भुक्तानी लिन निवृत्तिभरक पेन्सनपट्टाका साथ प्रत्येक ६÷६ महिनामा बैंकमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।  स्वयं उपस्थित हुन असमर्थ भएमा मञ्जुरीनामाबाट भुक्तानी लिन मञ्जुरीनामाको निवेदन राष्ट्रिय बिमा कम्पनीले प्रमाणित गरेपछि मात्र पाइने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।

कोषले योभन्दा अघि नेपाल दूर सञ्चार र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट अवकाश प्राप्त कर्मचारीहरूलाई पेन्सन वितरण कार्य गरिसकेको छ । योसँगै कोषमा निजी क्षेत्र र अन्य संस्थाको पनि पेन्सन वितरण गर्ने अनुभव रहेकाले आगामी दिनमा सरकार र अन्य निकायको पेन्सन वितरणको व्यवस्था गर्नेतर्फ पनि कोषले गृहकार्य गरिरहेको छ ।