यूएई जान चारित्रिक प्रमाणपत्र नचाहिने

मधुजंग पाण्डे / काठमाडौं

 

वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि अब चारित्रिक प्रमाणपत्र नचाहिने भएको छ । यूएईको नयाँ निर्णयले नेपाली कामदार लाभान्वित हुने छन् । यूएई सरकारले यसअघि लागू गरिएको नियमलाई स्थगित गरी आफ्नो देशमा नयाँ रोजगारीका लागि आउने आप्रवासी कामदारलाई चारित्रिक प्रमाणपत्र नचाहिने व्यवस्था गर्न पुनः यस्तो निणर्य गरेपछि अब नेपाली कामदारलाई निकै राहत मिलेको छ ।

यूएईको मानवीय संसाधन मन्त्रालयले आइतबार गत ४ फेब्रुअरीदेखि विदेशी कामदारका लागि लागू गरिएको आफ्नो नियममा पुनर्मूल्यांकन गरी हाललाई स्थगित गरिएको जानकारी दिएको हो । यूएईको यस नयाँ निर्णयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै राहत मिलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गत ४ फेब्रुअरीदेखि विदेशी कामदारका लागि यूएईले लागू गएको यस्तो थप आर्थिक व्ययभार हटाइदिन केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आग्रह  गरेका थिए ।

 यूएईले आइतबार गरेको यस नयाँ निणर्यसँगै अब वैदेशिक रोजगारीका लागि यूएई पुग्ने नेपाली कामदारमाथिको अब प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने आर्थिक भार पनि हट्नेछ । यूएई सरकारले गत फेब्रुअरीबाट लागू हुने गरी प्रहरी रिपोर्ट (चारित्रिक प्रमाणपत्र) अनिवार्य पेस गर्नुपर्ने नियम लागू गरेको थियो । त्यहाँको स्थानीय समाचार एजेन्सीहरूका अनुसार वैदेशिक रोजगारीका लागि जाने नेपालसहित अन्य मुलुकका नागरिकका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम बनाएको थियो ।

अहिलेसम्म कामका लागि आकर्षक श्रम गन्तव्य मुलुक यूएई जान चाहने नेपाली कामदारले अब चारित्रिक प्रमाणपत्र अनिवार्य बनाउनुपर्ने झन्झटमा केही सहज भएको छ । यसअघि यूएईले नेपालसहित विभिन्न सातवटा मुलुकका नागरिकका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य लागू गरेको थियो । तर यूएईको अध्यागमन विभागले केही साताअघि नेपालीबाहेक अन्य सात मुलुकका नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य गर्ने नियम हटाएको थियो । भारत, श्रीलंका, इन्डोनेसिया, इजिप्ट, सेनेगल, नाइजेरिया र ट्युनिसियाका कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य नगरिएको अवस्थामा आइतबार (१ अप्रिलबाट) नेपाली कामदारलाई पनि चारित्रिक प्रमाणपत्र नचाहिने नयाँ निर्णय भएको हो ।

यसअघि यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाउँदा प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो । अब यो अतिरिक्त शुल्क तिर्नु नपर्ने भएको छ । त्यो प्रहरी रिपोर्टलाई पनि सम्बन्धित देशको राजदूतावासबाट पुनः प्रमाणीकरण गर्नुपर्ने व्यवस्था थियो । जसका लागि नेपालमा विभिन्न तीनवटा निजी ट्राभल कम्पनीलाई त्यसको जिम्मा दिइएको थियो ।

भारतश्रीलंकाइन्डोनेसियाइजिप्टसेनेगलनाइजेरिया र ट्युनिसियाका कामदारलाई प्रहरी रिपोर्ट अनिवार्य नगरिएको अवस्थामा नेपाली कामदारलाई पनि चारित्रिक प्रमाणपत्र नचाहिने नया“ निर्णय

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले गत २८ माघदेखि लागू भएको अनिवार्य चारित्रिक प्रमाणपत्र बनाउनुपर्ने नियम हटेपछि नेपाली कामदारलाई निकै राहत मिलेको बताए । यसअघि प्रहरी रिपोर्ट बनाउनकै लागि विभिन्न जिल्लाबाट काठमाडौं आएका युवाहरू कम्तीमा पनि चार÷पाँच दिन राजधानीको महँगी खपेर बस्नुपर्ने अवस्था थियो भन्दै उनले अब नेपाली कामदारले यूएई जानका लागि यस्तो सास्ती खेप्नु नपर्ने र अनावश्यक आर्थिक भार बोक्नुनपर्ने बताए ।

अध्यक्ष गुरुङले पनि नेपाली कामदारमाथि भएको यस्तो आर्थिक भार हटाइदिन यसअघि व्यवसायीले श्रम मन्त्रीलाई आग्रह गरेबमोजिम नवनियुक्त श्रम मन्त्री गोकर्ण बिष्टबाट भएको कूटनीतिक प्रयासले अहिले नेपाली कामदारलाई केही राहत मिलेको बताए । उनले यूएईको यस नयाँ निर्णय स्वागतयोग्य भएको बताए । उनले आइतबारदेखि नेपालस्थित यूएई दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न गएका नेपाली कामदारलाई फर्काउँदै आफूहरूलाई यस्तो जानकारी गरएको समेत बताए ।