कविले मालिक स्वीकार गर्दैन

कविले मालिक स्वीकार गर्दैन

२२मंसिर २०१६ मा जन्मिएका कवि दिनेश अधिकारीको  औपचारिक परिचय खोतल्यो भने करिब २० पेजको छुट्टै पुस्तक बन्छ, समालोचनाको त कुरै नगरौं, हजार पृष्ठ जान सक्छ, आलोचना मुस्किलले एक हजार शब्द कोर्न सकिएला । अहिलेसम्म कवितातर्फ १५ वटा र फोटोकथाका रूपमा शब्दचित्रसहित एउटा गरी १६ वटा पुस्तक प्रकाशित गरेका कवि दिनेश अधिकारी नेपाली कविता साहित्यमा नयाँ नाम होइन । उनको खास नाम दिनेशहरि अधिकारी हो । बानेश्वर, काठमाडौंमा जन्मिएका कवि तथा गीतकार दिनेश अधिकारीको बाल्यकाल पढाइको प्रक्रियासँगसँगै कहिले काठमाडौं त कहिले सर्लाहीको हरिवनमा बितेको थियो । उनी तीन वर्षको हुँदा अर्थात् २०२० सालमा सपरिवार सर्लाहीको हरिवनमा बसाइँ सरेको कारण बाल्यकालको बसाइ अवधि काठमाडौंको तुलनामा सर्लाहीको हरिवनमा बढी भएको थियो ।

साहित्यकारको भीडमा धेरै पुरस्कार पाउने स्रष्टाका रूपमा परिचित छन् दिनेश अधिकारी । साहित्य लेखनमा सशक्त हस्ताक्षरका रूपमा नेपाली साहित्यको विकासमा २०३० को दशकदेखि अनवरत रूपमा सेवा पु¥याउँदै आएका कवि तथा गीतकार दिनेश अधिकारीले ‘अतिरिक्त अभिलेख’ शीर्षकको कविता संग्रहका लागि २०५६ सालको मदन पुरस्कार, २०५१ सालमा इन्द्रजात्रा (काव्य) का लागि साझा पुरस्कार प्राप्त गरेका थिए । यी लगायतका दुई दर्जन बढी पुरस्कार तथा मानसम्मान पाइसकेका छन् । उनै कविसँग प्रतिरोध कार्कीले गरेको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

कवि दिनेश अधिकारी

अवकाशपछिका दिनमा तपार्इं सकारात्मकता र उत्साहका कविता लेखिरहनुभएको छ, यसको खास कारण के हो ?

हो, जागिरको बारेमा मेरो बेग्लै धारणा छ  । जागिर बाटोमा भेटेको थिए, बाटोमै छाडें । जागिरको सुरुवात र अवकाशलाई यसो भन्ने गरेको छु । कवितासँगको साइनो ४ कक्षा पढ्दादेखि नै हो । कविता पानी हो तर जागिर पानी होइन, पहिलादेखि लेखे अहिले पनि लेख्छु । कहिलेकाहीँ हप्ताभरि नै कविता लेखेहुँला, कहिले एक दुई महिना र एक दुई वर्षसम्म पनि कविता लेखिनँ । तर, अनुभूत नगरी कहिल्यै कविता लेखिनँ । फुर्सदमा कविता लेखिँदैन र अहिले फुर्सदमा कविताको संगत गर्न पाएको छु ।

कविता सकारात्मक र नकारात्मक पनि हुन सक्छ । नकारात्मक भए पनि त्यसको भाषा र उद्देश्यचाहिँ सकारात्मक नै हुन्छ । छोपिएको छ, अँध्यारो छ भन्नुको अर्थ उज्यालो खोजेको हुँ । अन्याय भएको छ, भन्नुको अर्थ मैले न्याय खोजेको हुँ । त्यहाँ असमानता छ भन्नुको अर्थ समानता खोजेको हुँ । त्यो प्रस्तुति स्वाभाविक रूपमा सकारात्मक छ । जीवन भनेको वास्तवमा अवसर हो ।

धेरैजसो समय कविताकै बारेमा सोच्नुहुन्छ कि ?

बडो गाह्रो विषय † जीवन टुक्राटुक्रामा छ । धेरैजसो समयमा साहित्यका अन्य विधाभन्दा म कवितामा नै बढी सोच्छु । जागिरबाट अवकाश पाएको छु, घरायसी जीवन छ । पहिलेपहिले घरमा कहाँ के छ भन्ने थाह हुँदैनथ्यो, अहिले छेउ कुनाकानी थाह हुन थालेको छ । घरायसी जीवनमा त्यतिकै भिजेको हुन्छु, फूल गोड्न जान्छु । त्यसको बारेमा पनि सोच्छु । यी सबै कुराबाट बचेका समय साहित्यका लागि हो र साहित्य सौखका रूपमा पनि हो । पढ्छु, पढ्दाखेरि सबै पाटोमा पढ्छु, लेख्छु, लेख्दा गद्य लेख्न सक्दिनँ । पहिलोपटक ‘तस्बिरको कथा’ भन्ने पुस्तक लेखको छु । कविता र गीत नै लेख्ने हुँदा सोच्दा कविता र गीत नै सोच्छु । त्यसमा पनि बढी कविता नै सोच्छु ।

तपार्इंका कविताले हृदयभाव र प्रेमलाई बढी इंगित गरेको भन्ने सुनेको छु, यसमा तपाईंको धारणा के हो ?

कविता जीवन हो । जीवन भनेपछि हृदय मात्र होइन, मन मस्तिष्क पनि हो । एउटा परिवेश थियो, स्वतन्त्रता उपभोग गर्न नपाएको परिस्थितिमा अलि छेलिएर अलि बढी विम्ब र प्रतीकको सहारा लिएर कविता लेख्थ्यांै । अहिले कविता र गीत दुवै लेख्छु । समग्रमा भन्दा गीत कविताकै रूप हो, कविताकै ठूलो हाँगो हो गीत । कविता अलि बढी मस्तिष्कको पक्षधर हो भन्ने लाग्छ त्यसकारण कविता जीवन हो । जीवनभित्र मलाई लाग्छ, मस्तिष्क र  हृदय दुवै छ । गति, सोच र सीप छ । यी सबै विषय वस्तुको समिश्रण हो कविता त्यसकारण हृदयभाव तथा प्रेम यसैभित्र पर्छ ।

गेयात्मक गीत मात्रै तपाईंका, कविताचाहिँ किन गद्य मात्रै ?

गेय भनेको गाउन मिल्ने तथा सरलता हो ।  मेरा कविता जटिल छन् भन्ने मलाई लाग्दैन । गेयको अर्थ बुझ्ने सरल हो । लयात्मक हिसाबले कुरा गर्दा माधुर्य लयात्मकता हुन्छ । मेरो कवितामा अन्तर्लय छ, गीतको जस्तो लयात्मकता पक्कै छैन । लेख्ने कला सिर्जना भन्ने चीज आफूभित्रको हुटहुटीलाई प्रस्तुत गर्नु हो । त्यो चीजलाई मैले जसरी प्रभावकारी ढंगबाट प्रस्तुत गर्न सक्छु जस्तो लाग्यो, त्यही माध्यम रोज्ने हो । गद्य कवितामै बानी बस्यो । गद्य कविताकै माध्यमबाट मेरा कुरा प्रभावकारी ढंगबाट प्रस्तुत गर्न सक्छु जस्तो लागेकाले गद्य लेख्दै गएँ ।

कविता सिर्जना आफैंमा कठिन हो कि सरल ?

हरेक मानिससँग भावना छ । तर, केही मानिस  शब्दका माध्यमबाट अभिव्यक्ति दिन सक्छन्, त्यसरी अभिव्यक्ति दिन सक्नेहरू नै हाम्रो समाजमा कवि भनेर चिनिएका छन् । त्यो अभिव्यक्ति प्रभावकारी, भाषागत हिसाबले सन्तुलित, इमानदारीपूर्वक लेखिएको, समाजमा म जस्तै बाँचेको अर्को मानिसले अनुभूत गरेको छ भन्ने गरी उसको मनसम्म पुग्ने अभिव्यक्ति दिएको हुनप¥यो त्यस्ता व्यक्ति कवि हुन्छन् । त्यसकारण सजिलो छैन, सजिलो भएको भए हरेक मानिस कवि हुन्थे । कठिन छ र त सबै मानिस कवि भएका छैनन् । शब्दका माध्यमबाट प्रभावकारी ढंगले अभिव्यक्त गर्ने कलाको कमी छ । मेरो आफ्नो पनि अनुभव छ, मेरो मनमा जति भावना आउँछ, त्यसको केही प्रतिशत मात्रै मैले लेख्न सकेको छु । भावनाको शतप्रतिशत र सोचेको शतप्रतिशत मैले लेख्न सकेको छैन । त्यसैले कविता लेखन सहज छैन ।

कविता निजी प्रेम हो कि होइन ?

मेरा लागि एकहोरो प्रेम हो, निजी प्रेम हो । यसलाई माया नगरी संगत नगरीकन बस्न नसक्ने अवस्थामा छु । यसले के दिन्छ भन्नेसँग मेरो कुनै सरोकार छैन । यसबिना म बाँच्नै सक्दिनँ भन्ने अवस्थामा छु । त्यसकारण, यसलाई निजी प्रेम भन्न मिल्छ ।

केही समययता कवितालाई नारा बनाइयो भन्दै आलोचना हुन थालेको छ नि ?

त्यसलाई विभिन्न दृष्टिकोणले हेर्न सकिन्छ । कवितालाई हेर्ने सोच के हो ? तपाईं कलाका लागि कविता सोच्नुहुन्छ कि समाजका लागि सोच्नुहुन्छ कि तपाईं कवितालाई वक्तव्य हो भन्नुहुन्छ कि आमनागरिकबाट टाढा छैन भन्नुहुन्छ कि यी सबै कवितालाई हेर्ने सोच हुन् । मलाई के लाग्छ भने कविता सरलताको पक्षपाती हो । सरल हुनु भनेको कलात्मक नहुनु भनेको होइन । म बाँचेको समय र मैले कविता लेख्न थाल्दै गरेको समय फरक फरक छ । मेरो अनुभूति के हो भन्ने लेखक आफैंले पनि थाहा पाउनुपर्छ त्यसैले नाराबाट कविता बच्नुपर्छ । तर, नारा केलाई भन्ने त्यो आफैं पनि गाह्रो कुरा हो । दुई दुना चारको हिसाबले परिभाषा गरेजस्तो गरी साहित्यमा परिभाषा गर्न गाह्रो छ, त्यसो पनि गर्नुहुँदैन ।

कविता जीवन हो । जीवन भनेपछि हृदय मात्र होइन, मन मस्तिष्क पनि हो । एउटा परिवेश थियो, स्वतन्त्रता उपभोग गर्न नपाएको परिस्थितिमा अलि छेलिएर अलि बढी विम्ब र प्रतीकको सहारा लिएर कविता लेख्थ्यांै । अहिले कविता र गीत दुवै लेख्छु ।

‘काठमाडौं : खामभित्रको प्रतिक्रिया’ कवितामा सहरको एउटा चित्र उतार्नुभएको छ, यसमा तपार्इंको धारणा के हो ?

‘काठमाडौं ः खामभित्रको प्रतिक्रिया’मा मैले नारा लेखेको छैन । त्यसमा तपाईंले भनेजस्तै सहर  चित्रित छ । छिमेकी कोठामा मान्छे मर्दा अर्को छिमेकीको घरमा नाँचगान चलिरहेको हुन्छ । छिमेकी घरबाट आगो ओसारेर आगो बाल्ने कुरा अब सहरमा सम्भावना छैन । मानवीय संवेदनाबाट सहर विमुख हुँदै गएको परिस्थितिलाई यस कवितामा उजागार गरेको हुँ । यसकारण मैले भन्दा यस्ता कविता नारा होइनन् तर अरू कसैले एउटा वर्गको त विरोध नै गरेको छ भन्यो भने त्यसको जवाफ पनि मसँग छैन । कवितालाई हेर्ने दृष्टिकोणमा भरपर्छ । तर, हामी नाराबाट बच्नकै लागि बिम्ब, प्रतीक, मिथक, पुराकथा आदिको प्रयोग गर्दै आएका छांै । यसैगरी, भाषामा विकल्प किन खोज्छांै ? मलाई भोक लाग्यो भनेपछि पुग्छ । मैले खान पाइनँ, मेरो भोकबारे राज्यले चिन्ता लिएन वा मैले किन्न सकिनँ, मसँग पैसा छैन आदि आदि भन्नै पर्दैन । यसर्थ वैकल्पिक भाषाहरू हामीले खोजिरहेका छौं, त्यो किन हो भन्ने प्रश्नको जवाफचाहिँ नाराबाट बच्न र कलात्मक खोज्न हो ।

कविताको पाटोमा हाम्रो कविता विश्व बजार र विश्व साहित्यको चर्चा गर्ने ठाउँमा कमजोर छैन तर कमजोर देखिएको छ किनभने भाषाको कारणले कमजोर देखिएको हो । संसारमा ठूला संख्याले बोल्ने भाषामा एउटा कविता छापियो भने त्यसका पाठक संसारभर छन् ।

तपाईंलाई अहिलेका समसामयिक कविता पढ्दा कस्तो लाग्छ ?

मेरो कवि पुस्ताको समयमा मलाई लाग्छ, २ वा ३ सयको संख्यामा कवि थियौं । थिगिँ्रदै थिग्रिँदै आउँदा अहिले कविता मात्रै भनेर बस्ने औंलामा गन्न सक्ने मात्रै होलान् । सुरुमा हामी सबै कवि थियौं । जस्तो ः सरुभक्त, अशेष मल्ल कवि थियौं । कसले कुन, कसले कुन बाटो समातेपछि कविताको बाटोमा लाग्ने लाइन कम भयो । त्यसकारण अहिले १० वर्षको अवस्थालाई हेरेर धारणा बनाउनुहँुदैन । कविलाई पनि पाक्न र परिपक्व हुन समय लाग्छ । आज लेख्दै गरेको कविमा केही कमजोरी हुन सक्लान् तर भोलि त्यही कविका कविता कलात्मक हुन सक्छन्, प्रभावकारी हुन सक्छन् । कविता एउटा संस्था पनि हो, एउटा संस्था चलाउँदा २ सय जना कामदार हुन सक्छन् तर वास्तवमा २० जनाले संस्था चलाइराखेका हुन्छन् । २० जनाको बोलीको त्यतिकै महŒव हुन्छ, त्यसमा देखिनलाई २ सय जना हुन्छन् । भीड एकातिर होला, कविता अर्कोतिर हुन सक्ला । मैले यतिबेला नयाँ पुस्ताका कवि र कविता पढिरहेको छु, केही कविका कविता पढ्दा मलाई आफ्नै छाती गर्वले फुलेको अनुभूति हुन्छ । कविता लेख्न सक्ने र भन्ने अनुभूति गराउने कविहरू हुनुहुन्छ । त्यो संख्या थोरै छ । त्यसैले अहिलेको कविताले नेपाली कवितालाई अगाडि बढाउँछ, विस्तार गर्छ, नयाँ आयाम दिन्छ भन्नेमा म विश्वस्त छु । कतिपय सन्दर्भमा अलिकति परिमार्जनका लागि समय लाग्न सक्छ । त्यसलाई हामीले हतारमा टिप्पणी गर्नु राम्रो हँुदैन ।

तपार्इंले कविता लेख्न सुरु गरेको समय र अहिलेको समयमा के भिन्नता पाउनुभएको छ ?

यसमा हामी एउटा घरलाई उदाहरणका रूपमा लिन सक्छौं । मेरो बुबाले बनाउनुभएको घरको डिजाइन र मैले बनाएको घरको डिजाइनमा के फरक हुन्छ ? त्यसमा अवश्य पनि फरकपन पाइन्छ । बुबाले पनि घर बनाएको मैले पनि घर नै बनाएको हो । मैले बनाएको घर मेरो छोराले बनाउने घरमा सोच्ने विषय वस्तु फरक छ । यद्यपि, झ्याल र ढोका होलान् तर ढोका झ्यालको डिजाइन फरक होला । जगमा राखिने सामग्री फरक होला, हेर्दाखेरि सुन्दरता मापन गर्ने तरिका फरक भइसकेको छ । त्यसैले सोझै हेर्दा यो फरक हो म भन्दिनँ । कविता लेखेको छ, भावनाकै कुरा लेखेको छ, सामाजिक सरोकारकै कुरा लेखेको छ र जीवन नै लेखेको छ । तर, जीवनलाई मैले सोचेभन्दा, देखेभन्दा फरक ढंगले लेखेको छ । विषयवस्तु नयाँ लेख्यो भन्दिनँ म । हामीले पनि लेखेनांै । हामीभन्दा अगाडिका पुस्ताले पनि लेखेका होइनन् तर प्रस्तुतिको शैली नयाँ छ, फरक छ । हामी रेस्टुरेन्टहरूको कुरा गर्छौं, फलानाकोमा गज्जब राम्रो छ नि † त्यहाँ के नयाँ छ भन्दा त्यसको प्रस्तुति राम्रो छ भन्ने बुझ्नु पर्छ । त्यसैले फरक छ, कविता सरल भएर आएको छ ।

एकचोटि कविता समाजसँग टाढिँदै गएको थियो । २०३६ सालको सडक कविता क्रान्तिले जोड्यो, त्यो जोडाइ धेरै समय रह्यो । पछि कताकता धमिलिँदै गएको हो कि भन्ने लाग्दै थियो । अहिलेको पुस्ताले त्यसलाई समेटेको छ, जनजीवनसँग कविता जोडिएको छ, मलाई राम्रो लागेको छ ।

कुनै समय कविता लेखेर झन्डै जेल गइयो भन्नुहुन्थ्यो, त्यो सन्दर्भचाहिँ के हो ?

२२ माघ २०३८ सालको कुरा हो । म शाही नेपाली जंगी अड्डामा नायब सुब्बाको पदमा काम गर्थें । अभिव्यक्ति स्वतन्त्रता त्यति सहज थिएन । त्यतिबेला साहित्यिक पत्रकार संघले सांस्कृतिक संस्थानको हल डिल्लीबजारमा बीपी कोइरालालाई अभिनन्दन गरेको थियो । त्यहाँ राजसभा स्थायी समितिको सदस्यको हैसियतले कवि सिद्धिचरण श्रेष्ठ उपस्थित हुनभएको थियो । उहाँले बीपी बाबु भनेर सम्बोधन गर्नुभयो । त्यो विषय पञ्चायत कालमा सहज रूपमा पाच्य हुने अवस्था थिएन । होमनाथ दाहालले (जसलाई हामी होमनाथ दाजु भन्थ्यांै) सम्पादन गर्नुहुने ‘राष्ट्रपुकार’ नामको साप्ताहिक पत्रिका पञ्चायतइतर मध्येको एक थियो । त्यहाँ बीपीको अभिनन्दनको खबर पहिलो  पृष्ठमा छापिएको थियो, त्यहीभित्र हाम्रो एउटा कविता छापिएको थियो । त्यो कविता विष्णुविभू घिमिरे र मेरो संयुक्त नाममा थियो । विष्णु र मैले संयुक्त कविता लेख्न सुरु गरेका थियौं । विष्णु कीर्तिपुरमा पढ्दै थिए, मचाहिँ ल क्याम्पसमा पढ्दै शाही नेपाली जंगी अड्डामा जागिर खाँदै थिए । कविता छापिएपछि हामी न्युरोडमा हिँडिरहेका थियौं । होमनाथ दाहालले ‘ए कहाँ हिँडिरहेका तिमीहरूलाई वारेन्ट छ’ भन्नुभयो । त्यसपछि हामी घरमा आएर लुक्यौं । म घट्टेकुला बस्थें, विष्णु धोबीधारा बस्ने साँझ लुकेर भेटघाट गथ्र्यो । ऊ विद्यार्थी भएकाले उसलाई त्यतिधेरै पीर थिएन, म जागिरे भएकाले मलाई चाहिँ डर थियो । तर, लुक्ने कतिन्जेल भन्ने भयो । बाग्मती अञ्चलाधीश कार्यालय गयांै । सुन्दरप्रसाद शाह जो आफंैमा साहित्यकार पनि थिए । त्यतिबेला अञ्चलाधीश शाह थिए भने र टन्डन थरका एक जना अफिसर थिए । टन्डनले हाम्रो बयान लिए । त्यसपछि सुन्दरप्रसादकहाँ पु¥याइएयो । हामीले त्यस्तो भन्न खोजेको होइन, कविता लेखेको पत्रिकामा छापिएछ भन्यौं । सुन्दरले ‘यस्तो पनि गर्ने हो ठिटा हो, तिमीहरूलाई विद्रोह गर्नुपर्ने भन्दै १० वर्ष जेल हालिदिन्छु’ भन्नुभयो । तर, पछि उहाँले खोजेको बेलामा आउनू भन्ने कागज गराएर हामीलाई छाडिदिनुभयो । त्यहाँनिर के कुरा भयो भने कविता महोत्सवमा दोस्रो भएको थिएँ । कविता महोत्सवमा पुरस्कार पाउने कवि तिमी नै हौ पनि भनेर सोधियो । मैले ‘हो’ भने । त्यहाँ कवि दिनेश अधिकारी जागिरे नामचाहिँ दिनेशहरि अधिकारी । दिनेश अधिकरी र दिनेश अधिकारी एकै भएको भन्ने थाहा हुन सकेन त्यसकारण मेरो जागिर जोगियो । त्यतिबेला हामीलाई राजकाज मुद्दा लागेकै हो ।

लामो समय सरकारी कर्मचारीको माथिल्लो ओहदामा रहनुभयो । अहिले अवकाश जीवन बिताइरहनुभएको छ, कविता र शासक नमिल्नुको कारण के हो ?

शासक कविता र कवि आफ्नो नियन्त्रणमा रहोस् भन्ने चाहन्छ । कवि आफूलाई मनको मालिक भन्ठान्छ । अरूको नियन्त्रण कहिल्यै स्वीकार गर्दैन । कवि मालिक स्वीकार गर्र्दै गर्दैन । मालिक स्वीकार गर्नु भनेको नियन्त्रित हुनु हो, कवि नियन्त्रित हुँदैन । मैले एउटा कविता पनि लेखेको छु, ‘शासक र तर्क’ भन्ने । शासकप्रतिको मेरो दृष्टिकोण त्यही हो ।

तपाईं कवितालाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ कि गीतलाई ?

अहिले तपाईं जसरी मलाई प्रश्न गरिरहनुभएको छ, मैले सुरुमा पनि भनेको छु । कविता ठूलो रूख हो । यसका विभिन्न हाँगाहरूमध्ये एउटा ठूलो हाँगो हो गीत । गलज, मुक्तक, हाइकु, महाकाव्य हुन सक्ला तर गीत त्यसको मुख्य र ठूलो हाँगो हो । समग्रमा त कविता नै हो । गीत केका लागि भन्ने कुरा आउँछ । मनोरञ्जन, जागरण, राष्ट्रियता, समाजिकताका लागि वा चेतनाका लागि अथवा चलचित्रका लागि यसका पनि उद्देश्यहरू धेरै छन् । हेर्दा अरूका लागि लेखें हँुला तर म भन्छु, स्वतन्त्रपूर्वक लेखेको गीत साहित्यका लागि हो । कविता नै हो । गाइए त्यो गीत, गाइएन भने त्यो कविता हो । यी दुईवटा हाँगा मेरा लागि उत्तिकै प्रिय छन् । एउटाले मन जोड्छ, अर्कोले मस्तिष्क ।

नेपाली कविता साहित्यको वर्तमान अवस्था कस्तो पाउनुभएको छ ?

ठूलो जमातले कविता लेखिरहेको छ । सबै कविता राम्रा छन् भन्दिनँ । मलाई मात्र होइन, अरूलाई पनि राम्रो लाग्नुपर्छ । केही कवि भाइबहिनीहरू जसका कविता पढेर गर्वको अनुभूति गर्छु । मैले हिँडिरहेको बाटो फराकिलो होस्, कालोपत्रे होस्, त्यसको लामो गन्तव्य होस्, त्यो मेरो चाहना हो । फराकिलो भएको भन्दा धेरै फराकिलो भएको पाएको छु । तर, कतै कालोपत्रे हुन बाँकी होला, कहीँ भइसकेको होला, फरक यति मात्रै हो ।

तपाईंलाई सक्रमणकालीन कवि भनियो भने अन्याय हुन्छ कि ?

यो अत्यन्त गम्भीर कुरा छ । मलाई प्रिय लाग्ने कवि भाइ श्रवण मुकारुङले एकपटक दिनेश अधिकारीको कविता लेखन समय (समयलाई इंगित गर्दै) सधैं सक्रमणमै बित्यो भन्नुभयो । मैले जहिल्यै कविता लेख्न थाले पञ्चायतकाल थियो । २०४६ आयो, म कविता लेखिरहें, द्वन्द्व भयो मैले कविता लेखिरहें । २०६२÷०६३ मा लोकतान्त्रिक आन्दोलन भयो, मैले कविता लेखिरहें ।, अहिले पनि लेखिरहेकै छु । एउटा संक्रमणबाट मुलुक निस्कन्छ, अर्को संक्रमणमा प्रवेश गर्छ । यस्तो समयलाई तपाईंले पनि संकेत गरेको हो भने संक्रमणकालीन कवि हुँ, त्यसमा कुनै शंका छैन ।

नेपाली कवितालाई विश्व कविता बजारमा लान किन नसकिएको होला ?

कविताको पाटोमा हाम्रो कविता विश्व बजार र विश्व साहित्यको चर्चा गर्ने ठाउँमा कमजोर छैन तर कमजोर देखिएको छ किनभने भाषाको कारणले कमजोर देखिएको हो । संसारमा ठूला संख्याले बोल्ने भाषामा एउटा कविता छापियो भने त्यसका पाठक संसारभर छन् । हाम्रो भाषामा छापिएको कविता पढ्ने पाठकको संख्या कति हुन्छ ? तपाईं हामी आफैं अनुमान गरौं न । नेपाली साहित्यको पाठकीय संख्या संसारको तुलनामा सानो बिन्दुमा छौं । विश्वमा चिनाउने एउटै उपाय भनेको अनुवाद हो । अनुवाद भनेको दुईतिर धार भएको हतियार हो । राम्रो अनुवाद भयो भने त्यसले हाम्रो गौरवलाई बचाउँछ । यदि भएन भने हाम्रो छविलाई झन् धमिल्याउँछ । राम्रो अनुवाद नभएकै कारण र त्यसलाई उचित पहल नभएकै कारण हामी विश्व बजारमा पुग्न नसकेको सत्य हो । विश्व बजारम लैजाने माध्यम भनेको अनुवाद नै हो ।

नेपाली कविता बिक्दैन, पढिँदैन भन्ने गरिन्छ । यो दृष्टिकोणसँग कतिको सहमत हुनुहुन्छ ?

यो दृष्टिकोणप्रति म कति पनि सहमत छैन । म अहिले पनि दाबीको साथ भन्न सक्छु, नेपाली कविता सर्वाधिक पढिने विधा हो । पढिने विधामा पहिलो कविता विधा नै हो । अब बिक्रीको कुरा उठाउनुभयो । तपार्इं बिक्रीलाई कसरी हेर्नुहुन्छ । पैसा लिएर मात्रै बिक्री भयो वा विनिमयमा लैजानुभयो भने त्यो अन्याय हुन्छ । अमूक उपन्यास जति एउटा कविको कविता संग्रह नबिकेको होला । त्यसका पछाडि केही कारण छन् । उपन्यास नकिनीकन पढ्न सकिँदैन । कुनै अमूक उन्यासकारको लेखकीय अनभूति लिन उसको उपन्यास नकिनी सुखै छैन । मेरो समकालीन तीर्थ श्रेष्ठको कुरा गरांै । पछिल्लो पुस्ताका विप्लव ढकाल, श्रवण मुकारुङ, गीता त्रिपाठी, रमेश क्षितिजको चर्चा गर्नुप¥यो भने कविता नकिनी सम्भव छ । त्यो किन सम्भव भयो भने कवि गोष्ठी हुन्छ, साहित्यिक पत्रिकादेखि साप्ताहिक पत्रिकासम्म कविता छापिन्छ, रेडियो टेलिभिजनमा हरेक हप्ताजस्तो कविताको कार्यक्रम हुन्छ । कोठे गोष्ठी, कलेजका विभिन्न हलमा कविताका कार्यक्रम हुन्छन् । त्यसकारण नकिन्दा नकिन्दै पनि यी कविलाई सुन्न पाउनुहुन्छ, यिनको विषयमा चर्चा सुनिन्छ । तपाईंसँग कविता सुन्नका लागि प्रशस्तै विकल्प छन् । सित्तैमा मैले स्वाद पाउँछु भने मैले कविताको पुस्तक किन किनूँ ? कविता नै यस्तो साहित्य हो, जो पाठकसँग सबैभन्दा पहिला साक्षात्कार गर्छ । बहुसंख्यक पाठक कविताकै हुन्छन् ।  आख्यान बिक्नुपर्ने बाध्यात्मक परिस्थिति छ । बिक्री विनिमयको एउटा पाटो हो, समग्र पाटो होइन । सर्वाधिक विनिमय कविताकै भइरहेको छ । सानो अंशलाई लिएर कविता पढ्दैनन् भन्नुमा मेरो सहमति छैन ।

मानसम्मान र पुरस्कारप्रति तपाईंको धारणा के हो ?

म कविता किन छाप्छु अथवा अर्कोले कविता किन छाप्छ ? समाजले मेरो कविता पढोस् भन्ने चाहन्छ भने त्यसको समाजसँग सम्बन्ध छ । अब समाजसँग सम्बन्ध छ भने सामाजिक स्वीकृति यसले खोज्छ कि खोज्दैन भन्ने प्रश्नको जवाफ अवश्य पनि खोज्छ भन्ने आउँछ । निश्चित रूपमा मचाहिँ सामाजिक स्वीकृति चाहन्छु, समाजमा मैले गरेको कर्म राम्रा छन् भन्यो भने खुसी लाग्छ । त्यो मैले खोजेको सामाजिक स्वीकृतिका धेरै रूप छन्, त्यसमध्ये विश्वविद्यालयको पाठ्यक्रममा राख्ने, त्यसबारे  अध्ययन गराउने  अर्को रूप हुन सक्छ । त्यसलाई पुरस्कार दिने, सम्मान दिने, भत्ता दिने र सरकारी नियुक्ति दिने अर्को रूप होला । यद्यपि, हामीकहाँ नियुक्ति विषाक्त हुँदै गएको छ, त्यो अर्के पाटो हो । पुरस्कार सामाजिक स्वीकृति दिनेमध्येको एउटा रूप हो । त्यसलाई मैले कुनै पनि हालतमा इन्कार गर्दिनँ तर त्यो सामाजिक स्वीकृति कतिखेर प्राप्त हुन्छ भने जतिखेर म लेखनमा इमानदार र निरन्तर छु । मेरो लेखनले समाजमा अर्थ राखेको छ भने मात्रै मैले सामाजिक स्वीकृति पाउने सम्भावना हुन्छ । पुरस्कार पाउनकै लागि भने लेखेको होइन ।

यतिबेला जीवनको उपलब्धि के हो भन्ने लागेको छ ?

जीवन बाँकी छ त्यसकारण उपलब्धिबारे  के चर्चा गरांै । यो अवसर हो । धेरै अवसर  प्राप्त गरेको छु । कविता र गीतको सन्दर्भमा कुरा गर्नुहुन्छ भने मेरा लागि उपलब्धिमूलक छ । मैले जति गरेको छु, त्यो भन्दा मैले धेरै गुणा पाठक र श्रोताबाट माया पाएको छु ।