बिस्केट जात्रामा दिउँसै रथ तानिने

रासस  / भक्तपुर

ऐतिहासिक बिस्केट जात्रा शान्तिपूर्ण सम्पन्न गर्न यसवर्ष दिउँसो भैरव रथ तानिने भएको छ । गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरव रथ तान्ने र साँझ ५ बजेसम्म गहिटी पु¥याउने निर्णय भएको शुक्रबार  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

जात्रा तयारी र सुरक्षाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जात्रामा ढुंगा हान्ने, बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई कडा कारबाही गरिने बताए ।

‘यसवर्ष बिस्केट जात्रामा ढुंगा हान्ने, जात्रा बिथोल्न खोज्ने र हिंसात्मक गतिविधि गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने छौं,’ उनले भने, ‘ज्यानै जाने गरी वा घाइते हुनेगरी कुनै पनि प्रकारको घटना भए त्यस्ता व्यक्तिलाई तत्कालै पक्राउ गरी ज्यान मुद्दासमेत लगाउने तयारी गरेका छौं ।’

विगतका वर्ष जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न सुरु गर्ने र मध्यरातिसम्म नै रथ तान्ने गर्दा ढुंगा हानाहान हुँदै आएको छ । रथ तान्ने क्रममा माथि लान सके दत्तात्रयसम्म र तल लान सके नासमनासम्म रथ लैजाने गर्दै आएकामा भूकम्पपछि घरमा टेको लगाएका कारण केही अवरोध आएको छ ।

यसैगरी रथको रुटसमेत यसवर्ष छोट्याउने निर्णय भएको छ । जात्रा मर्यादित र शान्तिपूर्ण सम्पन्न गर्न यसवर्ष तौमढीबाट तलका बासिन्दाले बुलुचासम्म र माथिकाले साकोठासम्म मात्रै लैजाने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ ।

विगतका वर्ष भैरव रथ तान्ने क्रममा तौमढीबाट (क्वने) तलको बासिन्दाले नासमना हँुदै वंशगोपालसम्म र (थने) माथिका बासिन्दाले तौमढीबाट सुकुलढोका हुँदै दत्तात्रयसम्म रथ लैजाने गरेको थिए । १२ वैशाख २०७२ को भूकम्पपछि भने घर–घरमा टेको भएकाले केही अवरोध हुँदै आएको छ ।

क्यामरा र सुरक्षाकर्मी परिचालन

जात्रामा ढुंगा हान्ने र हिंसात्मक गतिविधि हुन नदिन भक्तपुर नगरपालिकाको समन्वयमा ३५ सिसी क्यामरा जडान गरिएको छ । जात्राक्रममा रथ तान्ने बाटो र लिंगो उभ्याउने स्थानमा जडान गरिएको सिसी टिभी क्यामराबाट प्रहरी परिसर भक्तपुरको सर्वर कक्षबाट गतिविधि सिधैं हेर्न सकिने गरी व्यवस्थापन गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जात्रामा भक्तपुर जिल्ला र काठमाडौंबाट ल्याएको गरी करीब एक हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइएको छ ।

सादा पोशाकका प्रहरीलाई समेत टुकडी बनाएर ठाउँ ठाउँमा परिचालन गर्ने र घटना घटाउन खोज्नेलाई तत्कालै पक्राउ गर्न सकिने गरी सुरक्षा व्यवस्थापन गरिएको जनाइएको छ ।

मदिरा निषेध

जात्रामा भक्तपुर नगर क्षेत्रमा मदिरा निषेध गरिने भएको छ । कुनै पनि ब्राण्ड तथा घरेलु मदिरा बिक्री वितरण गर्न र पिउन रोक लगाइने बताउँदै प्रहरी प्रमुख राणाले मदिरा बिक्री वितरण गर्ने र मदिरा खाएर होहाल्ला गर्नेलाई समेत तत्कालै पक्राउ गरी कारवाही गरिने बताए । मदिराकै कारण धेरै घटना घट्ने गरेको निष्कर्ष प्रहरीको छ । गत वर्ष जात्रामा एकको मृत्यु भएको थियो । चार घाइते भएका थिए भने १२ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाइएको थियो ।