सामुद्रिक पहुँच : ऐतिहासिक उपलब्धि

सामुद्रिक पहुँच : ऐतिहासिक उपलब्धि

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई समुद्रसम्मको पहँुच दिने ऐतिहासिक समझदारी बनेको छ । तीनदिने भ्रमणमा रहेका ओलीले समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि जारी १२ बुँदे संयुक्त विज्ञप्तिमार्फत दुवै प्रधानमन्त्रीले सामुद्रिक पहँुचको विषयलाई ऐतिहासिक निर्णय भएको बताएका छन् । अब नेपालले पनि जलमार्ग भएर नेपाली झन्डावाहक जहाजमार्फत सामान ओसारपसार गर्न पाउने कुराले आमनेपालीलाई खुसी बनाएको छ । त्यसैगरी, अर्काे महŒवपूर्ण सम्झौताका रूपमा रेलमार्गलाई लिइएको छ । आर्थिक विकासमा यसले ठूलो भूमिका खेल्ने भएकाले पनि ओलीको भारत भ्रमणको अर्काे महŒवपूर्ण उपलब्धिका रूपमा रेलमार्गलाई लिनुपर्छ । ७० प्रतिशतभन्दा बढी नागरिक कृषिमा आधारित रहँदा पनि निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर बन्न भएको अर्को सम्झौताले समृद्ध मुलुक र खुसी नेपालीको सपना पूरा हुन सक्छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारत भ्रमण गर्ने परम्पराको निरन्तरताकै रूपमा दिल्ली पुगेका ओली जनतामा नयाँ तरंग दिन भने सफल भएका छन् । विगतका सबैखाले समझदारीलाई निरन्तरता दिने अमूर्त सहमति गरे पनि यी तीन नयाँ समझदारीले समृद्ध मुलुक निर्माणमा ऊर्जा थप्ने काम भएको छ । पर्याप्त तयारीबिना परम्पराकै रूपमा हुने गरेका यसअघिका प्रधानमन्त्रीको भारत भ्रमण कर्मकाण्डी जस्तो हुने गरेका थिए । तर, यसपटक ओलीको भ्रमणले जनतासम्म नै नयाँ सन्देश र गौरवको महसुस सञ्चार गर्न सफल भएको छ । यसअघि २०७२ मा प्रधानमन्त्री हुँदा ओलीले लिएको पानीजहाज र रेल सपनाले दोस्रो कार्यकालमा आएर पूरा हुने भएको छ । यसका लागि भारतसँगको व्यापार तथा पारवहन सम्झौतामा परिमार्जन गरी दु्रत गतिमा समझदारीलाई कार्यान्वयन गर्नेतर्फ भने ओलीको अग्रसरता आवश्यकता रहन्छ । उत्कृष्ट योजनासहित सम्झौताहरू हुने तर कार्यान्वयनमा कमजोरी देखिने पुरानो प्रवृत्तिलाई परिवर्तन गर्नेतर्फ ओली सरकारको अबको नीति हुनुपर्छ । यो प्रक्रियाले गति लिएमा नेपाली झन्डावाला पानी जहाज समुद्रमा त तैरनेछ नै काठमाडौं–तराई रेलमार्गसँग जोडिनेछन् । लामो समयदेखि बहसको विषय बनेको पेट्रोलियम पाइपलाइन पनि यसपटक प्राथमिकतामा परेको छ । विकासमा भारतले इच्छाएको साझेदारीसँगै प्रधानमन्त्री ओलीले नाकाबन्दीयता चिसिएको सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा समेत यो भ्रमणलाई लिन सकिन्छ । नेपालले दुई विशाल छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध बनाउँदै आफ्नो समृद्ध सपना पूरा गर्न सक्ने भएकाले पनि ओलीको यसपटकको भ्रमण नीति सफल भएको भन्दा फरक पर्दैन । दुवै छिमेकी मुलुकसँग समानान्तर सम्बन्ध स्थापना गर्ने कुराले मात्र भारतसँगको सम्बन्ध प्रस्टिँदैन । नेपाल–भारतको सदियांै पुरानोे सम्बन्धमा यो भ्रमणले नयाँ उचाइ दिएको छ ।

मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास र वीरगन्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन भएको छ । अब यी विषयलाई डे वानबाट नै कार्यान्वयनमा सरकारले देखाउने जागरुकताले यसको उपलब्धिको नतिजा जनताले देख्न सक्नेछन् । कृषिमा भएको सहमति र रक्सौल–काठमाडौं रेलवेसहितका लिंक विस्तारले समानता, आपसी विश्वास, सम्मान तथा भाइचारका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिनेछ । कृषिसम्बन्धी समझदारीअनुसार अब नेपाल र भारतले संयुक्त रूपमा कृषि क्षेत्रको विकासमा काम गर्ने मात्र होइन, यसको अनुगमनको संयुक्त संयन्त्र जरुरी छ । जलमार्गसम्बन्धी समझदारीअनुसार नेपालले जलमार्गबाट निर्बाध कार्गो ढुवानीलाई तत्काल कार्यान्वयनमा लैजान सके मात्र भारतले नेपाललाई दिएको सामुद्रिक पहँुच ऐतिहासिक कार्य बन्नेछ । र, यसपटकका सहमति विगतमा जस्तै कागजी बाघ मात्र बनेनन् भने प्रधानमन्त्रीको भ्रमणले नेपालको विकासमा ऐतिहासिक उपलब्धि दिलाउनेछ ।