जडीबुटीको बजार व्यवस्थित होस्

जडीबुटीको बजार व्यवस्थित होस्

चिराइतोको भाउ नपाएपछि चिराइतो खेतीमा आकर्षित हुँदै गरेका सोलुखुम्बुका आमकिसान तनावमा छन् । गएको वर्ष प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री भएको चिराइतो यसपालि १२० रुपैयाँ प्रतिकिलोमा पनि बिक्री भएको छैन । चिराइतो लगाएको दुई वर्षपछि मात्रै उत्पादन सुरु हुने भएकाले भाउ नपाउँदैमा तत्कालै अर्को बाली लगाउने सम्भावना हुँदैन । अर्को कुरा प्रारम्भमा केही लगानी पर्ने भएकाले पनि तत्कालै बाली फेर्दा थप खर्च गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा मारमा किसान नै पर्ने गरेका छन् । सोलुखुम्बु मात्रै होइन, अन्य हिमाली जिल्लामा समेत चिराइतो खेती राम्रै हुने गर्छ । तर, उचित भाउ नपाउँदा चिराइतो खेती बन्द हुने त होइन भन्ने आशंका पनि उत्तिकै छ ।

चिराइतो मात्रै होइन, नेपालमा उत्पादन हुने जडीबुटी र अन्य थुप्रै नगदेबालीलाई बेलाबेलामा बजारको समस्या हुने गरेको छ । कुनै बेला अलैंची खेती गरेर राम्रै आय–आर्जन गर्ने किसान अहिले भाउ घटेर तनावमा छन् भने अदुवा निकासी हुन नपाउँदा दुई महिनाअघि नेपाली किसान मारमा थिए । नेपाली जडीबुटी एवं अन्य पदार्थको ठूलो बजार भारत नै हो । नेपाल जडीबुटी उत्पादनमा अब्बल ठहरिए पनि जडीबुटी प्रशोधनका कलकारखाना नहुँदा धेरै महँगा बहुमूल्य जडीबुटी सस्तो मूल्यमा बेच्न विवश छन्, किसानहरू । प्रसंग चिराइतोको मात्रै होइन, नेपालमा सहजै उत्पादन हुने झ्याउ, कुरिलो, तीतेपाती, बनमासा यस्ता धेरै जडीबुटी छन्, ती विभिन्न औषधिमा प्रयोग हुन्छन् । तर, आमकिसानलाई थाहा छैन, कुन जडीबुटी कुन औषधिमा प्रयोग हुन्छ र कति महँगो छ ? किसानले आफ्नै बारीमा उत्पादन गरेको चिराइतो, गोरसपान, पिप्रालगायतका वस्तु बेच्नुप¥यो भने ठेकेदारले तोकेको मोलमै बिक्री गर्न विवश छन् । ठेकेदारले तोकेको मोलमा बिक्री गर्दा पहिलो लागत मूल्य पाउन समस्या हुन्छ भने लागत मूल्य नै नपाएपछि फेरि यस्तै प्रकृतिका वस्तु उत्पादन गर्ने उत्साह हुँदैन ।

आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएको सरकारले केवल रेल, सडक र पानीजहाजको मात्रै कुरा गरेर हुन्न । वास्तवमै मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउने हो भने प्रत्येक किसानले आफ्नो लगानीको मूल्य पाउने वातावरण बन्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला कुन जिल्लामा के उत्पादन हुन्छ ? राज्यले लागत निकाल्नुपर्छ र कुन उत्पादनबाटै धेरै आम्दानी गर्न सकिन्छ ? सोही वस्तु उत्पादनमा कृषकलाई प्रेरित गर्नुपर्छ । किसान प्रेरित त्यतिबेला हुन्छन् जब आफूले उत्पादन गरेका वस्तुको सही मूल्य पाउने अवस्थाको विकास हुन्छ । त्यसका लागि राज्यले त्यस्ता जडीबुटी भण्डारण कक्षका साथै प्रशोधन केन्द्रसमेत खोल्न जरुरी छ । किनकि, कुनै पनि जडीबुटीजन्य वस्तु प्रशोधनबिनै बजारमा पठाउँदा उचित मूल्य पाउन गा¥हो पर्छ । यदि, नेपालमै प्रशोधन गर्न सकियो भने किसान मात्रै होइन, राज्यले समेत लाभ लिन सक्ने अवस्था हुन्छ ।