जीवनस्तर उकास्ने आधार बनाऊ

जीवनस्तर उकास्ने आधार बनाऊ

 

मुलुककै दुर्गम मानिने हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि डोल्पावासीले आंशिक राहत महसुस गर्न पाउने भएका छन् । सडक सञ्जालले छुँदैमा कुनै पनि स्थानमा रहनेहरूको जीवनस्तरमा आमूल परिवर्तन आउँदैन । यसर्थ यसलाई आंशिक राहत मात्रै भन्न सकिन्छ । जीवनयापनलाई सहज भने अवश्य बनाउँछ । नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत रुकुमको सिमानामा पर्ने त्रिवेणी बजारदेखि खदाङसम्मको नौ किलोमिटर सडक सुचारु भएको छ । अहिले खदाङदेखि श्रीबिन्डे हुँदै सडक सुचारु भएपछि जिप ट्याक्टर सञ्चालनमा आएको छ । अब काठमाडौंबाट नेपालगन्ज सुर्खेत हुँदै डोल्पाको खदाङ पुग्न सकिन्छ । अब तीन किलोमिटर सडक निर्माणपछि डोल्पा सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

अप्ठ्यारो भू–बनोटकै कारण हिजोसम्म डोल्पा राष्ट्रिय सडक सञ्जालभन्दा टाढा थियो । मोटर गुडेको हेर्नकै लागि केही घण्टा हिँड्नुपर्ने डोल्पालीले अब आफ्नै वनपाखामा मोटर गुडेको मात्रै देख्न पाउनेछैनन्, सहज र सस्तो मूल्यमा खाद्यान्न किनबेचको अवसरसमेत पाउने भएका छन् । डोल्पा आफैंमा प्राकृतिक रूपले सम्पन्न जिल्ला हो । सहरवासीका लागि महँगो मानिने स्याउ, अंगुर र ओखर डोल्पामै उत्पादन हुन्छ । धेरै दिन बाँकी छैन, अब डोल्पालीले बारीमा फलेको स्याउ बिक्री गरेर दाल चामललगायतका सामग्री खरिद गर्ने हैसियत राख्नेछन् । हिजोका दिनमा यातायातको साधन नहुँदा बारीमा फलेको स्याउ कुहाउन विवश थिए त्यहाँका बासिन्दा । हिँडेर आउने आन्तरिक एवं बाह्य पर्यटकलाई सस्तो दाममा केही किलो स्याउ बिक्री गरे पनि आम्दानी गर्ने हिसाबले बिक्री गर्न पाएका थिएनन् । बारीमा फलेको बहुमूल्य स्याउ कोसेलीपात दिएरै चित्त बुझाउनुपर्ने बाध्यता थियो । अब ती बहुमूल्य फलफूलले उचित मूल्य पाउने सम्भावना बढेको छ भने अन्य स्थानमा आवतजावतका लागि पनि सहज हुने सम्भावना नजिकिएको छ । डोल्पा मात्रै, हैन कर्णाली क्षेत्रमा अन्य थुप्रै स्थान छन्, जहाँ यातायातको सुविधा नभएकै कारण सर्वसाधारण सामान्य स्वास्थ्य सेवाबाटसमेत वञ्चित छन् । जब सामान्य सेवासमेत पाउँदैनन् भने तिनका लागि सुविधा त निकै परको विषय बन्ने नै भयो ।

‘सडक सञ्जाल जोडिनु मात्रै सबथोक हैन’ भन्नेमा राज्य सचेत हुनैपर्छ । त्यस भेगका बासिन्दालाई आर्थिक रूपमा सम्पन्न बनाउन अब थुप्रै आर्थिक प्याकेज ल्याउनुपर्छ । आर्थिक प्याकेज भन्नुको अर्थ स्थानीयस्तरमा उत्पादन हुने स्याउ, अंगुर, ओखरलगायतका फलफूललाई सहरसम्म ल्याउनका लागि स्थानीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि फलफूल स्टोर गर्न मिल्ने कोल्डस्टोरदेखि प्रशोधन केन्द्र पनि हुन सक्छ । जुन उपायले स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउन सकिन्छ त्यही उपायको शीघ्र खोजी गर्नुपर्छ । आधुनिक कृषिदेखि जडीबुटीको व्यावसायिक खेतीसम्मका योजनालाई सरकारले तत्कालै योजना बनाउनुपर्छ ।