पार्टी एकता ९ वैशाखमै : दाहाल

धनकुटा / रास– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउने ९ वैशाखमै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा हुने दाबी गरेका छन् । धनकुटाको पाख्रीबासमा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत कृषि संकायको प्राकृतिक स्रोत व्यवस्थापन कलेज कक्षा उद्घाटन तथा भवन शिलान्यास गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

पार्टी एकताका लागि गठित दुई समितिले प्रतिवेदन बुझाइसकेको भन्दै अध्यक्ष दाहालले हजारौं जनसमुदायका बीचमा पार्टी एकता घोषणाको तयारी भइरहेको उल्लेख गरे । ‘अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समिति र विधान तथा संगठन निर्माण समितिको प्रतिवेदनका आधारमा छलफल गरेर दुवै पार्टीका संगठन भंग गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले विकास, स्थायित्व, समृद्धि र सुशासनतर्फ देशलाई लैजान कम्युनिस्ट पार्टीहरूवीच एकताको विकल्प नभएको दाबी गरे । छियाछिया भएका कम्युनिस्टलाई एकजुट पार्न लागिपरेको चर्चा गर्दै उनले स्थानीय, प्रदेश र केन्द्र सरकार वामपन्थीको रहेको र प्रदेश २ मा पनि अन्त्यमा वामपन्थी सरकार आइपुग्ने ठोकुवा गरे ।