काकाकुल युग अन्त्यको अपेक्षा

काकाकुल युग अन्त्यको अपेक्षा

मेलम्ची आयोजना सुरु भएको १९ वर्षपछि राजधानीवासीले मेलम्चीको पानी पिउन पाउने भएका छन् । आयोजनाको सुरुङमार्ग छेड्ने काम सकिएकाले आउँदो दसैंसम्म राजधानीवासीले मेलम्चीको पानी उपभोग गर्ने सम्भावना बढेको छ । यद्यपि, सरकारले साउनभित्रै काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्य राखेको छ । काठमाडौं सहरमा बढ्दो जनघनत्वअनुसार खानेपानी नहुँदा अहिले उपत्यकावासी महँगोमा ट्यांकरको पानी पिउन विवश छन् । असमान पानी वितरणले पनि उपत्यकावासीलाई सास्ती दिएकै छ । मेलम्चीको पानी समान वितरणको सम्भावनासमेत बढेकाले पनि उपत्यकावासीले काकाकुल दिनचर्याबाट मुक्ति पाउने सम्भावना छ । चुहावट नियन्त्रण र असमान वितरण प्रणाली फेरि पनि नहोस् भन्नेमा भने नियामक निकाय अत्यन्त सचेत हुनैपर्छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको अम्बाथानमा स्थायी प्रकृतिको ड्याम निर्माणमा समय लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर सुरुङभित्र पानी हाल्ने योजना बनेको छ । सुरुङमार्गको काम सकिए लगत्तै अब आयोजनाले सुरुङ फिनिसिङको काम सुरुवात गर्ने योजना बनाएको छ । सुन्दरीजलमा निर्माण भएको साढे ८ करोड लिटरको प्रशोधन केन्द्रमार्फत काठमाडौंमा पानी वितरण हुने भएको छ । ७ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना निर्माण सुरु गरिएपछि निर्माण सम्पन्न गर्न १९ वर्ष लाग्यो । ठेकेदार कम्पनीको लापर्बाहपूर्ण व्यवहार, सरकारीको संयन्त्रको ढिलासुस्ती र कर्मचारी प्रशासनमा जनउत्तरदायी भावनाको अभावमा निर्माण अवधि तोकेभन्दा दोब्बर समय बढेको थियो । मेलम्ची आयोजना मात्रै हैन, नेपालमा अहिलेसम्म अन्य कुनै पनि ठूला आयोजना समयमै सम्पन्न भएको रेकर्ड छैन । मेलम्चीबाहेकका राष्ट्रिय गौरवका अन्य आयोजना निर्माणमा समेत ढिलासुस्ती भएकाले यही आयोजनाबाट पाठ सिक्न पनि सकिन्छ । कुनै पनि आयोजना समयमा सम्पन्न हुँदा आयोजनाको लागत मात्रै कम पर्दैन । उपभोक्ताले पनि समयमा उपभोग गर्न पाउने अवस्था सिर्जना हुन्छ ।

मेलम्ची आयोजनाकै सन्दर्भमा काठमाडौं खाने पानी विकास आयोजनाले न्यूनतम कुरामा ध्यान दिनैपर्छ । खानेपानी चुहावट मुख्य समस्या हो भने असमान वितरणले पनि समस्या परेको छ । अहिलेको परम्परागत शैलीमा खानेपानी संस्थानका कर्मचारीले ठाउँठाउँमा पानी खोल्ने र बन्द गर्ने काम गर्नुपर्छ । तर, कतिपय कर्मचारी यति बदमास छन् पानी खोल्दा र बन्द गर्दा उपभोक्तासँग अतिरिक्त शुल्क असुलउपर गर्छन् । केही मिनेट बढी पाउने लोभमा कतिपय उपभोक्तासमेतले त्यस्ता कर्मचारीलाई प्रभावमा पार्ने गरेका छन् । आशा गरौं, मेलम्चीको पानी वितरण सुरु भएपछि कुनै पनि टोलका उपभोक्ताले पानी खोल्ने र बन्द गर्ने कर्मचारीको अनावश्यक खातिरदारी गर्नुपर्ने छैन । मेलम्ची खानेपानी आयोजनाले वैज्ञानिक शैलीमा पाइप बिछ्याएकाले विगतको समस्या पक्कै दोहोरिने छैन ।