सुस्तायो वाम एकता डेढ सातायता संवादहीन

टेनिस रोका / काठमाडौं

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ । दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन ।

पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका नेता गम्भीर देखिएका छैनन् ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरूको व्यवस्थापन, एकीकृत पार्टीका कमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिह्न र जनयुद्धको विषयमा विवाद हल गर्न नसकेपछि ९ वैशाखमा एकता गर्ने तयारी गरेका थिए । तर, दुवै दलले त्यसयता आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा संयोजकत्वको सांगठनिक तथा विधान मस्यौदा कार्यदलले २० चैतमा पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदन पेस गरेका थिए ।

कार्यदलले प्रतिवेदन बुझाएसँगै २२ चैतमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै बैठक बसेर विवादित विषय टुंग्याएर २२ अप्रिल लेनिन जयन्ती अर्थात् ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने समझदारी गरेका थिए । तर, प्रधानमन्त्रीको भारत भ्रमणयता दुई दलबीच एकताका विषयमा संवादसमेत हुन सकेको छैन ।

गत २७ चैतमा पार्टी एकता संयोजन समितिको बैठक बोलाइए पनि पुनः २८ चैतमा बैठक सारिएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ रहेको कारण देखाउँदै बैठक बस्न सकेन । त्यसलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली राज्य प्रस्थान गरेसँगै एकता प्रक्रिया झनै सेलाएको छ ।

दुई दलबीचएकीकृत पार्टीका विभिन्न कमिटीमा कतिकति अनुपातमा कमिटी बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कुनै पनि हालतमा ९ वैशाखमा नै एकता हुने दाबी गरेका छन् । उनले समानताको आधारमा दुई पार्टीबीच ९ वैशाखमा नै एकता हुने बताए ।

माओवादी अध्यक्ष दाहालको सचिवालयले नेताहरूको व्यस्तताका कारण बैठक बस्न नसकेको भन्दै आजभोलि नै छलफल गरेर विवादित विषय टुंग्याउने र ९ वैशाखमा नै एकता हुने जनाएको छ ।

दुई दलबीच एकीकृत पार्टीका विभिन्न कमिटीमा कतिकति अनुपातमा कमिटी बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । माओवादी अध्यक्ष दाहालले ५०–५० प्रतिशतका आधारमा एकता हुनुपर्ने अडान सार्वजनिक गर्दै आएका छन् ।

दुई दलबीच स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिलगायतका कमिटी कति सदस्यीय बनाउने भन्ने पनि टुंगो लाग्न बाँकी छ । दुई दलबीच चुनाव चिह्नमा पनि सहमति जुटेको छैन भने विधानको प्रस्तावमा जनयुद्ध शब्द राख्ने विषयमा पनि सहमति जुट्न सकेको छैन ।