तरकारी खेतीमा आकर्षण

राजधानी संवाददाता / दार्चुला

महाकाली नगरपालिका–१ श्रीबगडका कृषक अहिले तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । नगदेबालीका रूपमा तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि अन्य खेती कम लगाएर तरकारी लगाउन थालेका हुन् । सडक पहुँच पुगेको श्रीबगड र कलौनका अधिकांश कृषकले अहिले मौसमी र बेमौसमी तरकारी फलाएर वार्षिक रूपमा लाखौं आम्दानी गर्न थालेका छन् ।

विगतमा खेतभरि गहुँ र मकै छर्दै आएका किसान अहिले खेतीपातीभन्दा पनि तरकारी लगाउन सक्रिय छन् । महिला र पुरुष मिलेर खेतमा लगाएको तरकारीबाटै घरखर्च चलाउने र दैनिक बचतसमेत हुन थालेपछि तरकारीमा आकर्षण बढेको छ । यहाँ उत्पादित तरकारी सदरमुकाम खलंगा र भारतको धारचुलासम्म बिक्री हुने गरेको तरकारी उत्पादक कृषक देउमती बमले बताइन् । पहिले धारचुलाबाट तरकारी किनेर ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले भने आफैंले तरकारी बेच्न थालेको उनले बताइन् ।

घरवरिपरिको आफूसँग रहेको एक रोपनी बढी जमिनमा बन्दाकोभी, प्याज, काउली, फर्सी, काँक्रा, लौका, भन्टा, खुर्सानीलगायत तरकारी फलेको छ । उमेरले ५० वर्ष कटेकी बल अहिले पनि बिहानदेखि बेलुकासम्म तरकारी बारीमै हुन्छन् । धेरै खेत हुनले अहिले वार्षिक ५ देखि १० लाखसम्म आयआर्जन गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय, गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रमलगायतको प्राविधिक र आर्थिक सहयोग पाएपछि किसानहरू तरकारी खेतीमा आकर्षित भएका हुन् । ‘यसअघि घरमा खानसमेत तरकारी धौधौ हुन्थ्यो, बिक्री गर्नुपर्छ भन्ने जानकारी थिएन,’ अगुवा कृषक अमरबहादुर वमले भने, ‘पछिल्लो समय सबैले तरकारी खेती गर्न थालेका छन् ।’

२०५६ सालदेखि तरकारी खेती सुरु गरेका बम हाल आएर व्यावसायिक रूपमै तरकारी खेतीमा लागेको बताउँछन् । अहिले उनले सगरमाथा लघु उद्यम समूह गठन गरेर तरकारी उत्पादन गर्न थालेका छन् । सोही ठाउँका मानसिंह कुँवरको पनि तरकारीबाहेक कुनै आयआर्जनको अर्को माध्यम छैन । ‘तरकारी लगाउन थालेपछि घरखर्च चलेको छ । छोराछोरी पढाउन अरूसँग ऋण निकाल्नुपरेको छैन,’ उनले भने । अझै तरकारीमा सिँचाइ गर्न अहिले पनि समस्या कायमै रहेको कृषकहरूले बताएका छन् । आफ्नै लगानीमा पाइप लगेर सिँचाइ व्यस्था गरे पनि सबैले सिँचाइ सुविधा पाउन नसक्दा सोचेअनुसार तरकारी उत्पादन गर्न नसकिएको उनीहरूले बताए ।

पछिल्लो समय महाकाली नगरपालिकाका श्रीबगड कैलान, छापरी र दत्तु क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ । तरकारी खेतीलाई व्यावसायिक रूपमा उत्पादन गर्न नगरपालिकाले सहयोग गर्ने गरेको नगरपालिका उपप्रमुख सुना बोहराले बताइन् । व्यावसायिक रूपमा तरकारी उत्पादनमा लागेका कृषकहरूका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने उनले बताइन् ।