भर्ना अभियानको निरन्तरता

भर्ना अभियानको निरन्तरता

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुकी एक बालिकालाई विद्यालय भर्ना गरेर दुई वर्षभित्र निरक्षरता हटाउने अभियान सुरु गरेका छन् । आइतबार केही जनप्रतिनिधि, समाजसेवी अन्य विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिले आफ्ना छेउछाउमा रहेका बालबालिकालाई नजिकको विद्यालयमा भर्ना अभियान सुरु गरे । निरक्षर उन्मूलनका लागि राज्यले नै यसरी पहल गर्नु आफैंमा एउटा राम्रो कामको सुरुवात हो । मन्त्री, प्रधानमन्त्री एवं समाजका अन्य विभिन्न ओहोदामा कार्यरत व्यक्तिलाई यो अभियानमा सरिक भएपछि बालबालिकालाई विद्यालय पठाउन अभिभावक प्रेरित हुनेछन् । विद्यालय जान नमान्ने बालबालिका पनि विद्यालयप्रति आकर्षित हुनेछन् ।

भर्ना अभियानलाई सरकारले जसरी ताकेता गरेको छ । विद्यालयमा निरन्तरताका लागि पनि केही आकर्षक योजना सार्वजनिक गर्ने हो भने निरक्षरता उन्मूलन प्रभावकारी हुनेछ । विभिन्न अध्ययन प्रतिवेदनअनुसार साना कक्षामा भर्ना विद्यार्थीमध्ये ३० प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छोड्छन् । विद्यालय छोड्ने विविध कारण हुन सक्छन् । खास कारण के हो ? त्यसको पनि खोजी गर्नुपर्छ । विद्यालय शिक्षा निःशुल्क छ यसैले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शुल्क तिर्नुपर्दैन । तर पनि कतिपय बालबालिका बीचैमा विद्यालय छोड्छन्, किन ? हामीकहाँ केवल बालबालिकाले विद्यालय छाडेको खबर आउँछन् तर किन छाडे यथार्थ कारण खोजिँदैन । बालबालिकाले विद्यालय छाड्नुमा विद्यालय र परिवारका सदस्यको पनि भूमिका उत्तिकै हुन सक्छ । विद्यालय वा शिक्षकको व्यवहारका कारण विद्यालय छाडेका हुन् भने विद्यालय र शिक्षकलाई सुधार्ने पहल गर्नुपर्छ । अभिभावककै कारण विद्यालय छाडेका हुन् भने ती अभिभावकका विषयमा पनि राज्यले निगरानी बढाउन जरूरी छ । कुनै पनि अभिभावकले ‘मेरो आर्थिक स्थिति राम्रो छैन त्यसकारण मैले स्कुल पठाइनँ’ भन्न पाउँदैन । आफ्ना बालबालिकालाई उचित शिक्षा दिनु राज्यको कर्तव्य हो । बालबालिकालाई विद्यालय जानबाट वञ्चित गर्ने अभिभावकलाई कारबाही नै गर्नुपरे पनि राज्यले खुट्टा कमाउनुहुन्न ।

आर्थिक रूपमा सम्पन्न परिवारका बाबुआमा जतिसुकै मूर्ख किन नहोऊन्, उनीहरूले आफ्ना बालबालिकालाई राम्रै विद्यालयमा पढाएका छन् । सम्पन्न परिवारका बालबालिकाका बारेमा राज्यले तत्काल चासो लिनु जरूरी छैन । जो आर्थिक रूपमा विपन्न छन्, तिनका बारेमा भने राज्यले राम्रै चासो देखाउनुपर्छ । केवल वर्षको एकपटक भर्ना अभियान चलाएर मात्रै सरकारको दायित्व पूरा हुँदैन । ती बालबालिका वर्षभरि विद्यालयमै रमाऊन् भन्नका लागि अन्य आकर्षक कार्यक्रम तर्जुमा गर्ने सीप पनि देखाउन सक्नुपर्छ । जस्तो ः बालबालिकालाई नियमित विद्यालय पढाउने अभिभावकलाई विद्यालयले सम्मान गर्ने मात्रै वातावरण बनाउने हो भने पनि धेरै अभिभावक प्रभावित हुन सक्छन् । किनकि, हाम्रो समाजका निम्छरा मान्छेलाई कहिल्यै कसैले सम्मानको दृष्टिले हेर्दैन । यदि, छोराछोरी नियमित विद्यालय गएबापत पुरस्कार पाए भने पनि ती अभिभावक स्वयं आफ्ना सन्ततिलाई विद्यालय जाने प्रेरणा दिन बाध्य हुनेछन् ।