७० वर्षमा शौचालय !

रमेश तिमलसिना / रौतहट

गडीमाई नगरपालिका–१ का जनकधारी साह ७० वर्षका भए । साहले जीवनमा धेरै अनुभव बटुले, कमै मात्र स्मरणीय छन् । ७० वर्षको उमेरमा साहकै भाषामा ‘तीन दिनअघि हालसम्मकै घतलाग्दो अनुभव’ रह्यो । घरसँगै जोडिएको पक्की शौचालयमा छिरेर उनले पहिलोपटक शौच गरे ।

शौचालय गर्न ३ दिन अघिसम्म बाग्मती नदीको किनारामा धाउने साह रौतहटका एक्ला होइनन् । जिल्लामा अझै पनि शौचालय प्रयोग र पहँुचको अवस्था नाजुक छ ।

 

वृद्ध अवस्थामा पुगेपछि बल्ल उनले घरको झ्यालसँगै जोडेर शौचालय बनाएका छन् । सरसफाइ अभियानकर्ताहरूको प्रेरणाले नै शौचालय बनाएको उनी बताउँछन् । ‘घर मे सेप्टी बनाके बहुत फाइदा मिलल, ताकि बाहर जाएके झन्झट मुक्त होगैल बा,’ साहले मातृभाषा बज्जिकामा भने ।

यो उमेरमा आएर उनमा शौचालय बनाउनुपर्ने ज्ञान मात्र छैनन्, सरकारको अनुदानको आँखा ताक्नु राम्रो होइन भन्ने पनि सिके । त्यसैले गाउँमा शौचालय निर्माण अभियानमा जोडिएर उनले आफ्नैखर्चमा बनाए ।

यतिबेला गाउँमा शौचालय बनाउने अभियान नै चलेको छ । शौचालय बनाउन नसक्ने तथा विपन्न परिवारलाई गडीमाई नगरपालिकाले आवश्यक सामग्रीहरू उपलब्ध गराउँदै आएको वडाध्यक्ष रामविनययादवले बताए ।

वडाले शौचालय निर्माण गर्न सरसफाइ शीर्षकमा २५ लाख रुपैयाँ बजेट छुट्याएको अध्यक्ष यादवले जानकारी दिए । वडाले शौचालय बनाउन अटेर गरे स्थानीय तहबाट उपलब्धसबै सेवासुविधा रोक्ने नीति अघि सारेपछि स्थानीय स्वतःस्फूर्त शौचालय निर्माणमा जुटेका छन् ।

नजिकै बाग्मती नदी भएकाले पनि केही स्थानीयले शौचालय बनाउन अटेर गरेको वडाध्यक्षको अनुभव छ । उनको वडामा करिब ९ सय घरधुरीमध्ये ३ सयभन्दा बढीका शौचालय निर्माण भइरहेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहट गौरले भने ९४ प्रतिशत घुरधुरीमा शौचालय बनिसकेको जानकारी दिएको छ । हालसम्म रौतहटको मौलापुर र माधवनारायण नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

करिब १ लाख ३ हजार घरधुरी रहेको रौतहटमा ९७ हजार घरधुरीमा शौचालय बनिसकेको र ६ हजार घरधुरीमा शौचालय बनाउन बाँकी रहेको सरसफाइसम्बन्धी काम गर्ने यूएनहाबिटाटका रौतहट प्रमुख दीपेन्द्र ठाकुरले बताए ।