भक्तपुर नगरले बनायो , स्थानीय पाठ्यक्रम कक्षा १ र ६ मा वैशाखबाट पढाइ हुने

सञ्जीव दुलाल  / भक्तपुर

भक्तपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरेकोे छ ।भक्तपुर नगरपालिकाले यसै शैक्षिक सत्रदेखि नै सबै विद्यालयमा अध्यापन थाल्न नगरभित्रका ९२ वटा विद्यालयका प्रधानाध्यापकलाई पाठ्यक्रमको नमुनासहित निर्देशन दिएको छ ।

स्थानीय पाठ्यक्रम तयारी समितिले नगरप्रमुखलाई आइतबार पाठ्यक्रम हस्तान्तरण गरेलगत्तै नगरपालिकाले नमुनाका रूपमा कक्षा १ र ६ मा पाठ्यक्रम लागू गर्न भनेको हो । सय पूर्णांकको सो पाठ्यक्रम लागू गर्न नगरप्रमुख सुनील प्रजापतिले निर्देशन दिएका छन् । कार्यदलले स्थानीय सामाजिक, इतिहास, खेलकुद र प्रविधि समेटेर ११ वटा इकाइमा पाठ्यक्रम तयार पारेको छ ।

आइतबार नगरप्रमुख प्रजापतिले पाठ्यक्रमको नमुना बुझ्दै विद्यालयलाई पठनपाठन थाल्न निर्देशन दिएका हुन् । ‘दुई महिनामा पाठ्यक्रम तयार गरी हामीले प्रयोग गरेका हौं,’ नगरप्रमुख प्रजापतिले भने । २६ माघमा कार्यदल गठन गरिएको थियो ।

कार्यदलले बनाएको पाठ्यक्रममा ख्वप (भक्तपुर) को पहिचानलाई समेटिएको छ । जसमा भक्तपुरको इतिहास, स्थानीय सीप, प्रविधि, स्थानीय खेललगायतका विषयमा विद्यार्थीले पढ्नेछन् ।

कार्यदलले पाठ्यक्रमै पढाउनुपर्ने विषयलाई विस्तृत रूपमा समेटेका कारण हाललाई पाठ्यपुस्तक नभए पनि लागू गर्न सकिने कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले बताए ।

स्थानीय तहले पाठ्यक्रम तयार पारी अध्यापन गराउन दिएको यो पहिलो नमुना पाठ्यक्रम हो । नगरप्रमुख सुनील प्रजापतिले भक्तपुरको विषयमा विद्यार्थीलाई जानकारी दिने गरी पाठ्यक्रम बनेको बताए । ‘आयातीत शिक्षाका कारणले स्थानीय विषयको महŒव हराउन थालेपछि यसो गरिएको हो,’ नगरप्रमुख प्रजापतिले भने, ‘स्थानीय तहले पाएको अधिकारलाई प्रयोग गरिएको छ ।’

पाठ्यक्रम विकास केन्द्रले २०७३ सालमा तयार पारेको आधारभूत शिक्षाको प्रारूपमा स्थानीय तहले पाठ्यक्रम तयार पारी आधारभूत कक्षासम्म स्थानीय पाठ्यक्रम पढाउन सकिने व्यवस्था गरेको छ । भक्तपुर नगरपालिकाले अहिलेका लागि कक्षा १ र ६ को पाठ्यक्रम तयार पारेको हो । ‘यस वर्ष यो प्रयोग गरेपछि अर्को वर्षदेखि सबै कक्षामा पढाउने व्यवस्था गर्छौं,’ नगरप्रमुख प्रजापतिले भने ।

कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेले प्रजापतिलाई पाठ्यक्रम हस्तान्तरण गरेका थिए । कक्षा १ का लागि सय पूर्णांकमा तीनवटा विषय समेटिएको छ भने कक्षा ६ मा सय पूर्णांकको एउटा विषयको पाठ्यक्रम तयार भएको हो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी नगरपालिकाले नगरभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको हो । बिजुक्छे नेतृत्वको कार्यदलमा राजेन्द्र श्रेष्ठ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू र रोशनराज तुइतुई सदस्य थिए ।

नगरपालिकाको कामसँग विद्यालय प्रमुख पनि सन्तुष्ट छन् । ‘पाठ्यक्रम स्रोत केन्द्रले पनि पुस्तक तयार पार्न नसकेको बेला नगरपालिकाले गरेको काम उदाहरणीय र स्वागतयोग्य छ,’ रोम्बस नियोलोजिन एकेडेमीका प्रधानाध्यापकले भने ।

‘स्थानीय कला, संस्कृति, भाषा, उत्पादन र आयआर्जनका विषयमा बालबालिकालाई जानकारी दिने उद्देश्यले तयार पारिएको पाठ्यक्रमले विद्यालयलाई पनि अनुकरणीय कामका लागि सहयोग गरेको छ,’ वागेश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले भने, ‘पाठ्यक्रम नहुँदा विभिन्न किताब र सामान्य ज्ञान पढाइरहेका थियौं । अब सजिलो भयो ।’

शिक्षा मन्त्रालयले अहिले भर्ना अभियान चलाइरहेका बेला नगरपालिका एक कदम अघि बढेको छ । मन्त्रालयले स्थानीय पाठ्यक्रम अध्ययनको व्यवस्था गर्न भने पनि देशभरका स्थानीय तहले काम नथालेको बेला भक्तपुर नगरपालिकाको काम स्वागतयोग्य रहेको पदम माविका प्रधानाध्यापक राम हाडाले बताए ।