वडाध्यक्ष र इन्जिनियरबीच कुटाकुट

श्रवण थापा / सर्लाही

सडक ग्राभेलको विषयमा भएको विवादमा मलंगवा नगरपालिका–३ का वडाध्यक्ष रामकैलास साह र १२ का वडाध्यक्ष रामदेश राय र इन्जिनियर राजकपुर महतोबीच कुटाकुट भएको छ । उपभोक्ता समितिले सम्झौताअनुसार सडक ग्राभेल गर्न आग्रह गर्दा वडाध्यक्षहरूले आफूमाथि कुटपिट गरेको इन्जिनियर महतोको आरोप छ । वडाध्यक्षहरूले पनि विभिन्न बहाना बनाएर इन्जिनियर महतोले काम गर्न नदिएको आरोप लगाएका छन् ।

सम्झौताअनुसार काम गर्न आग्रह गर्दा आफूमाथि कार्यालयमै ज्यान मार्ने प्रयास भएको उनको भनाइ छ । कमसल काम गरेर भ्रष्टाचार गर्न नपाएको झोंकमा वडाध्यक्षद्वयले आफूलाई कुटपिट गरेको महतोको दाबी छ । ‘सम्झौताअनुसार नगरेको देखेपछि मैले ग्राभेलको मात्रा बढाउन अनुरोध गरें,’ उनले भने, ‘आज त कार्यालयमै गुन्डा शैलीमा कुटपिट गरियो ।’

यता, ३ नम्बर वडाका अध्यक्ष साहले दुवै पक्षबीच सामान्य भनाभन तथा हात हालाहाल भएको स्वीकार गरे । इन्जिनियर महतोले राम्ररी काम गर्न नदिएको उनले आरोप लगाए । ‘आफूहरूले गरेको काम नियमअनुसार नभए सुधार्न भन्नुपर्ने हो,’ उनले भने, ‘तर हामीले गरेको काम काम नै रोकिदिएका छन् ।’

ग्राभेलको कामलाई सल्लाह गरेर सुधार गर्ने सहमति भएकोमा इन्जिनिएर महतोले नगर प्रमुख निर्सल साहलाई भुक्याएर हस्ताक्षर गराई काम रोकी कारबाही गर्ने पत्र बनाएको उनीहरूको भनाइ छ । कमिसन खोरमा इन्जिनियर खुलेर लागेको अध्यक्ष साह र रायको भनाइ छ । विगतमा पनि इन्जिनियरले सेवाग्रहीसँग खुलमखुला रूपमा कमिसन माग्ने गरेको उनीहरूले आरोप लगाए ।

विवादपछि इन्जिनियर महतो जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मसाउद आलम खाँ र नगर प्रमुख साहको संयुक्त रोहबरमा छलफल भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । नगरपालिकाले सडकमा गरेको लगानी सही रूपमा सदुपयोग नभएको गुनासो आउन थालिसकेको छ ।