युवती हत्याका अभियुक्त पक्राउ

राजधानी समाचारदाता / काठमाडौं

चैत अन्तिम साता युवती हत्या अभियोगमा पक्राउ परेका युवक काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको छ । चितवन सौरहा स्थायी घर भएकी २२ वर्षीया रियाना अधिकारी गत २४ चैतमा टोखा–९ मिलन टोलस्थित न्यु भुमेश्वर गेस्ट हाउसमा मृत फेला परेकी थिइन् । उनको हत्या अभियोगमा सल्यान शारदानगर–१ का २२ वर्षीय गोपाल शर्मालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि आइतबारै म्याद थपेको छ ।

२३ चैत राति सँगै बस्दा झगडा परेपछि घाँटी थिचेर हत्या गरेको शर्माले बयानमा बताएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी निरीक्षक विक्रम लामाको टोलीले शर्मालाई कञ्चनपुर गड्डाचौकी क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

हत्या अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थपेको परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनकुमार थापाले जानकारी दिए ।

‘युवतीले धेरैलाई लुटेकी छु, त“लाई पनि लुट्ने हो, तेरै आमा दिदीबहिनसँग सम्पर्क गर भनेर गाली गरेपछि घाँटी थिचेर हत्या गरें,’ शर्माले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘सहमतिमा होटल गइयो, अलिकति खायौं, पियौं पनि तर आमाचकारी गाली गरेपछि सहन सकिन“ ।’

युवतीलाई २ हजार दिने आपसी सहमतिका आधारमा होटलमा बसेको शर्माको बयानमा उल्लेख छ । ‘उनले रक्सी खाइन्,’ उनले भने, ‘मैले बियर पिएँ ।’

गत २४ चैतमा हातखुट्टा र घाँटी बाँधेको अवस्थामा प्रहरीले युवतीको शव फेला पारेको थियो । शर्माले गेस्ट हाउसमा बस्दा लेख्ने आगन्तुक पुस्तिकामा ठेगानामा दाङ घोराही–१ का २६ वर्षीय विकास ओली भनेर लेखेका थिए ।